जिल्लामै डाक्टर नहुँदा, पोष्टमार्टममा समस्या
सिलगढी : डोटी जिल्ला डाक्टर बिहिन भएको छ । जिल्ला अस्पताल, नीजि अस्पताल तथा पोलिक्लिनिकमा समेत डाक्टर नहुँदा दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम गर्न समेत समस्या भएको छ ।
डाक्टर नहुँदा अस्पतालको ओपिडी सेवा समेत प्रभावित भएको छ । जिल्ला अस्पताल डोटीमा सामान्य स्वास्थ्य सल्लाहबाहेक अन्य कुनै पनि सेवा उपलब्ध छैन । बिगत ६ दिनदेखि आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प रहेको छ ।
एचआइभी एड्स सम्बन्धी परामर्श सेवाकक्ष पनि खुला नरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । जिल्ला अस्पताल, सुजङ्ग अस्पताल, शैलेश्वरी जोलिक्लिनिक, शिखर पोलिक्लिनिक लगायत जिल्लामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा समेत डाक्टर बिहीन छन् ।
जिल्ला अस्पताल डोटीमा गत आइतबार भएको घटनाका कारण अस्पतालका सेवाहरु बन्द रहेका अस्पताल स्रोतले बताएको छ । जिल्ला अस्पताल डोटीका डाक्टर जितेन्द्र सिंहलाई बिरामीका आफन्तले कुटपिट गरेपछि डाक्टरहरु आफू असुरक्षित रहेको भन्दै जिल्ला छोडेका हुन् ।
कानुन अनुसार कारबाहीको मागगर्दै जिल्ला प्रहरी कार्यालयमा डाक्टरले सार्वजनिक मुद्धा समेत दायर गरेका छन् । कुटपिटमा संलग्न विजय बिष्ट, टेकबहादुर बिष्ट, हिक्मत बिष्ट र अरुण महतको नाममा मंगलबार सार्वजनिक मुद्धा दायर गरिएको छ । अहिले कुटपिटमा संलग्न चारै जना प्रहरी हिरासतमा छन् ।
जिल्ला अस्पतालमा आइतबार घटेको घटनाले आफुहरु असुरक्षित भएको र कामगर्न समेत असहज भएकाले जिल्ला छोड्नु परेको डाक्टर जितेन्द्र सिंहले बताए ।
‘अस्पतालमा नघट्नु पर्ने घटना घटेको छ’, डिएसपी शिवबहादुर सिंहले भने, ‘घटना कानुनी दायरामा आईसकेकाले कानुन अनुरुप नै समाधान हुनेछ ।’ सरकारले गरेको व्यवस्था अनुरुप सुरक्षा दिन समेत प्रहरी तयार रहेको उनले बताए ।