गोलभेंडाबाट साढे तीन करोड आम्दानी
बिदुर : रसुवामा गोलभेंडा उत्पादन वृद्धि भएको छ। पाँचवटा गाउँपालिका रहेको रसुवामा गोलभेंडाका लागि पर्याप्त बजार र राम्रो मूल्य पाउने भएका कारण कृषकले उत्पादन बढाउँदै लगेका छन्।
गोलभेंडा खेतीबाट रसुवाका कृषक वार्षिक तीन करोड ५२ लाख ८० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। रसुवामा एक वर्षमा एक हजार आठ मेट्रिक टन गोलभेंडा उत्पादन भएको छ।
गत वर्ष मात्र चार सय मेट्रिक टन गोलभेंडा उत्पादन भएकामा किसानले उत्पादन क्षेत्र विस्तार गरेकाले यस वर्ष उत्पादन बढेको बताइएको छ। यो वर्ष ६० हेक्टर क्षेत्रफलमा गोलभेंडाखेती गरिएको थियो।
जिल्लामा आव २०६७/६८ सालदेखि सुरु भएको व्यावसायिक गोलभेंडाखेती अहिले जिल्लाभर नै विस्तार भएको छ। सुरुका वर्ष डेढ हेक्टर क्षेत्रफलमा २० थान प्लास्टिक टनेलमा गोलभेंडा रोपेर सुरु गोलभेंडाखेतीको सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ।
कार्यालयले गरेको सर्वेक्षणअनुसार जिल्लामा यो वर्ष एक हजार ६ सय ८० वटा प्लास्टिक घरमा गोलभेंडाखेती गरिएको थियो। प्रतिघर ६ सय केजीका दरले वार्षिक एक हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ।
जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैरसरकारी संस्थाको सहयोगले उत्पादनमा वृद्धि भएको देखिन्छ। रसुवाको उच्च हिमाली भागमा गोलभेंडा उत्पादन गर्न तापक्रम वृद्धि गरी गुमोज आकारका घरको समेत निर्माण गरिएको कार्यालयले जनाएको छ।
जिल्लामा उत्पादन भएको गोलभेंडा ५० प्रतिशत स्थानीय बजारमा नै खपत हुने गर्दछ। बाँकी गोलभेंडा नुवाकोट, काठमाडौं र पोखरालगायत सहरमा बिक्री हुन्छ। बेमौसममा काठमाडौं र नुवाकोटबाट जिल्लामा भित्रिने र मौसमी सिजनमा जिल्लाबाट नुवाकोट तथा काठमाडौं लैजाने गरिएको छ।