डाक्टर कुटिएपछि अस्पताल ठप्प

डाक्टर कुटिएपछि अस्पताल ठप्प

 

सिलगढी : डोटी जिल्ला अहिले डाक्टरविहीन भएको छ। जिल्ला अस्पतालमा डाक्टर नहुँदा ६ दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प छ।

जिल्ला अस्पताल, सुजंग अस्पताल, शैलेश्वरी पोलिक्लिनिक, शिखर पोलिक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्रहरू पनि डाक्टरविहीन छ। डाक्टर नहुँदा घटना–दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोस्टमार्टम गर्नसमेत समस्या भइरहेको छ। जिल्ला अस्पतालमा सामान्य स्वास्थ्य सल्लाहबाहेक अन्य कुनै पनि चिकित्सकीय सेवा प्रवाह हुन सकेको छैन।

जिल्ला अस्पतालका डा. जितेन्द्र सिंहलाई गत आइतबार बिरामीका आफन्तले कुटपिट गरेपछि डाक्टरहरूले असुरक्षित बनेको भन्दै जिल्ला छोडेका हुन्। कानुनअनुरुप कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा डाक्टरले बिरामीका आफन्तविरुद्ध सार्वजनिक मुद्दा दायर गरेका छन्। कुटपिटमा संलग्न विजय बिष्ट, टेकबहादुर बिष्ट, हिक्मत बिष्ट र अरुण महतको नाममा मंगलबार सार्वजनिक मुद्दा दायर भएको हो। कुटपिट गर्ने चारै जना अहिले हिरासतमा छन्।

आफूहरू असुरक्षित भएको र काम गर्नसमेत असहज भइरहेकाले जिल्ला छोड्नुपरेको डा. सिंहले बताए। ‘काम गरिरहेका बेला आक्रमण भएको र आक्रमण पश्चातसमेत धम्की आइरहेको विषयमा हाम्रो छाता संगठनलाई जानकारी दिएका थियौं’, सिंहले भने, ‘नेपाल मेडिकल एसोसिएसन तथा सरकारी चिकित्सक संघले प्रेस विज्ञप्ति निकाल्दै तत्काललाई काम छोडेर आउन भनेका छन्।’ अब के गर्ने भन्ने विषयमा आफूहरू छलफलमै रहेको उनले जानकारी दिए। ‘सुरक्षितसँग काम गर्ने वातारण भयो भने मात्र डाक्टर जिल्ला फर्कन सक्छन्’, उनले भने, ‘गलत गर्नेलाई कारवाही हुनुपर्छ।’

उक्त घटनाको विरोधमा जिल्लाभरका डाक्टरले काम छाडेका हुन्। ‘जिल्लामा डाक्टर नहुँदा सामान्य स्वास्थ्य परामर्शबाहेक ठूलो काम हुन सकेको छैन’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिश बिष्टले भने, ‘पोस्टमार्टम, भिडियो एक्सरेलगायत चिकित्सकीय सेवा दिन सकिएको छैन।’

प्रदेश ७ का मुख्यमन्त्रीले समेत समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको बिष्टले बताए। सर्वसाधारणलाई पर्न गएको असुविधाका विषयमा चिन्तित रहेको र समस्याको समाधानका लागि पहल भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोपानसिंह बोहराले बताए।

डाक्टर नहुँदा प्रहरी–प्रशासनलाई जिल्लामा घटेका घटनाको अनुसन्धान गर्न पनि समस्या भइरहेको छ। ‘शुक्रबार र शनिबार दुईवटा झुन्डिएर मृत्युका घटना घटेका छन्’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी शिवबहादुर सिंहले भने, ‘मृत्यु भएका व्यक्तिको पोस्टमार्टमका लागि छिमेकी जिल्ला डडेल्धुरा लगिएको छ।’

 गत आइतबार डा. जितेन्द्र सिंहलाई बिरामीका आफन्तले कुटपिट गरेपछि असुरक्षित बनेको भन्दै डाक्टरहरूले जिल्ला छोडेका हुन्।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डाक्टर अनुज भट्टचनले भने यो समस्या आफूहरुको वशमा नरहेको बताए। ‘जिल्ला अस्पतालमा घटेको घटनाका कारण चिकित्सकले जिल्ला छोडेका छन्, त्यस विषयमा माथिसम्म रिपोर्टिङ भइसकेकाले विभाग तथा मन्त्रालयको निर्णय कुरिरहेका छौं।’ जिल्ला अस्पतालमा डाक्टर माथिबाटै खटाइने भएकाले समस्या समाधान माथिबाटै हुने उनले बताए।

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले डाक्टरलाई जिल्ला फर्काउन पहल गरिरहेको बताइन्। ‘निर्वाचित जनप्रतिनिधि भएका कारण हामीले पहल गरिरहेका छौं’, मलासीले भनिन्, ‘घटना कानुनी प्रक्रियामा गइसकेको छ, दोषीलाई कानुनअनुरुप कारवाही गरिनुपर्छ। डाक्टरले पनि सेवा सुचारु गर्नुपर्छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.