सिरियाको नरसंहार
सिरियामा भइरहेको युद्धका कारण प्रभावित मानिसका हृदयविदारक तस्बिर र भिडियोहरू समाचारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका छन्। खासगरी बालबालिकाका तस्बिर मनै छियाछिया पार्ने र मानवीय चेतनालाई घोच्ने खालका छन्। सिरियाको गृहयुद्धमा अमेरिका, रुस र खाडीका राष्ट्रहरूले फरक–फरक पक्षलाई समर्थन गरिदिँदा युद्ध लम्बिँदै थप हिंस्रक र अमानवीय बन्दै गइरहेको छ। सिरियाका आन्तरिक राजनीतिक खेलाडीहरू र अन्तर्राष्ट्रिय राजनीतिक शक्तिको खेलमा निर्दोष बालबालिका र मानिस कहिलेसम्म प्रताडित भइरहने ? मानव अधिकार, प्रजातन्त्र, विश्वराजनीतिक संरचनामा आफ्नो हिस्सा खोज्ने शक्तिशाली राष्ट्रहरूको अहंको अगाडि के यी निर्दोष मानिस र बालबालिकाको जीवन केही होइन ? मानवता निरीह हुँदै जाँदा गम्भीर प्रश्न उठेको छ।
सिरियामा यस्तो आन्तरिक हिंसाको शृंखला सन् २०११ मा प्रजातन्त्रसमर्थक आन्दोलनबाट सुरु भएको थियो। ट्युनिसिया र इजिप्टमा प्रजातन्त्रसमर्थक आन्दोलनहरूले सत्तापलट गरेपछि ती आन्दोलनबाट प्रभावित सिरियालीले आन्दोलन सुरु गरे, अधिनायकवादी शासक बसार अल असदको सत्ता पल्टाउने उद्देश्यले। अरब विश्वमा अरब स्प्रिङ भनिएको प्रजातन्त्रका आन्दोलनको शृंखलामा भएको आन्दोलन थियो, त्यो विद्रोह। ती सरकारविरोधी प्रदर्शनकारीलाई अमेरिकालगायत पश्चिमा पुँजीवादी राष्ट्रहरूको आर्थिक र हतियारको सहयोग छ। सुन्नी बहुमत र शासक भएका साउदी अरब र कतारलगायतका मुलुकको पनि समर्थन थियो।
सिरियामा अल्पमतमा रहेका सिया समुदायका शासक अल असादको सरकारलाई सिया बहुल इरान, इराकलगायतका सरकारहरूको समर्थन छ। त्यसैगरी सिरियामा तेललगायत विभिन्न चासो भएको र विश्वराजनीतिमा पुनः आफ्नो भूमिका खोज्दै गरेको रुसको पनि असादको सरकारलाई सैनिकलगायत नैतिक समर्थन छ। यसरी सिरियाली द्वन्द्वका दुवै पक्षलाई बाह्यसमर्थन र सहयोग हुँदा युद्ध हिंस्रक र अमानवीय बन्दै गइरहेको हो। सिरियाली सरकारले पनि विपक्षीमाथि रासायनिक आक्रमणसमेत गरेको आरोप लागेको छ।
यसैबीचमा ‘इस्लामिक स्टेट’ नामक अतिवादी संस्थाको जन्म र फैलँदो प्रभावले सिरियाको शक्ति राजनीतिमा जटिलता थप्यो। परिस्थिति यति जटिल बनेको छ कि, ४ लाख ५० हजारभन्दा बढी सिरियाली मारिएका छन्, १० लाखभन्दा बढी घाइते भएका छन्। सिरियाको जनसंख्याको आधाभन्दा बढी झन्डै १ करोड २० लाखभन्दा मानिस विस्थापित भएका छन्। टर्की, जोर्डन र इराकमा शरणार्थीका रूपमा जाने सिरियालीको संख्या आधुनिक इतिहासमा ठूलो संख्या मानिएको छ।
यति धेरै मानिस मारिँदा र प्रभावित भइसक्दा पनि सिरियाको सरकार र विपक्षीको चेत नखुल्नु दुःखद हो। राजनीतिक शक्ति यथावत राख्न खोज्ने र हासिल गर्न खोज्नेहरूले बुझ्नुपर्छ, राजनीति सर्वसाधारण जनताको हितका लागि गरिन्छ, उनीहरूलाई दुःख दिन होइन। यति धेरै मानिस मारेर, घाइते बनाएर, विस्थापित र शरणार्थी बनाएर हासिल गरिने र टिकाइने राजनीतिक शक्तिको के अर्थ ? परस्पर विरोधी पक्षलाई समर्थन गरेका अमेरिका, रुस र खाडी राष्ट्र यस्तो भइसक्दा पनि किन आत्मग्लानि अनुभव गरिरहेका छैनन् ?
मुलुकको आन्तरिक राजनीति सधैं ‘मानवीय आदर्श’ हरूबाट सञ्चालित हुन सक्दैन। अन्तर्राष्ट्रिय राजनीतिमा बढी शक्ति प्रयोग हुने मान्यता छ। तर आन्तरिक र अन्तर्राष्ट्रिय राजनीति यति अमानवीय पनि हुनुहुँदैन। आन्तरिक र अन्तर्राष्ट्रिय राजनीति दुवैमा मानवीय पक्षको सम्बोधन हुनैपर्छ। अमेरिकाका अश्वेत अधिकारकर्मी प्रख्यात नेता मार्टिन लुथर किङ जुनियरले ‘संसारको जुनसुकै कुनामा हुने अन्याय अरू सबै ठाउँमा न्यायका लाग चुनौती हो’ भनेका छन्। मानवीय आधारमा सिरियामा भइरहेको नरसंहार हाम्रा लागि पनि चुनौती हो। यस्तो शक्तिसंघर्षमा निर्दोष नागरिकले अति दुःख पाउँदा विश्वका सबै स्थानबाट निन्दा र भत्सर्ना हुनुपर्छ। यस्ता विषयमा चुप लागिरहन सकिँदैन।