नयाँ संस्थामार्फत खेलकुदमा फर्किए गणेश थापा
काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले पुनः खेलकुद क्षेत्रमा आफ्नो सक्रियता बढाउने संकेत दिएका छन्। उनले नेपाल स्पोर्ट्स अर्गनाइजेसन नामक संस्थामार्फत खेलकुदमा सक्रियता देखाएका हुन्। थापाले खेलकुदसँग सम्बन्धित आफ्नो नयाँ संस्थाको जानकारी दिन सोमबार आयोजित कार्यक्रममा नेपाली खेलकुदप्रतिको आफ्नो लगाव नसकिएको बताए।
करिब ३५ वर्ष नेपाली फुटबलमा बिताएका थापा पछिल्लो ढेड वर्षदेखि फुटबल गतिविधिबाट टाढा छन्। फिफाले भष्ट्राचारको आरोपमा १० वर्ष फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सक्रिय हुन प्रतिबन्धसहित २१ लाख रुपैयाँ जरिवानाको कारबाही गरेपछि थापा राजनीतिमा सक्रिय भएका थिए। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले खेलको विकास र खेलाडीको सम्मानका लागि आफूले संस्था स्थापना गरेको बताए।
उक्त संस्थामा हाल थापा तदर्थ समितिको संयोजक छन्। जिल्ला प्रशासन कार्यलयमा संस्था दर्ता गरिसकिएको र छिट्टै खेलकुदमा योगदान दिएका व्यक्तिलाई समेटेर कार्यसमिति तय गरिने जानकारी थापाले दिए। ‘संस्थाले व्यक्तिगत स्पर्धामा नेपाललाई पदक दिलाउने खेल र खेलाडीलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने, तीन महिनाभित्र ब्याडमिन्टनको भव्य व्यावसायिक प्रतियोगिता आयोजना गर्ने, ओझेलमा परेका खेलाडीलाई सम्मान गर्ने, प्रतिभाको खोजी गर्नेजस्ता कार्यत्रमm संस्थाको रहेको छ,’ थापाले भने, ‘मेरै समकक्षी भलिबलका दीपक सापकोटाजस्ता धेरै पुराना खेलाडीको पहिचान हुन सकेको छैन। यस्ता खेलाडीलाई खोजेर संस्थाले सम्मान पनि गर्नेछ।’