को हुन् सी जिनपिङविरुद्ध आवाज उठाउने चिनियाँ महिला ?
एजेन्सी: चिनियाँ राष्ट्रपति सी जिनपिङ्गलाई देशको सत्तामा लामो समय राख्नका लागि गर्न लागिएको संविधान संशोधनविरुद्ध एकजना महिलाले आवाज उठाएकी छन् ।
चीनमा एक चर्चित राजनीतिक टिप्पणीकार तथा प्रसिद्ध महिला ब्यापारीले सी जिनपिङ्गलाई लामो समय सत्तामा राख्ने गरी गर्न लागिएको संविधान संशोधनविरुद्ध आवाज उठाउने हिम्मत गरेकी हुन् ।
कडा कम्युनिस्ट शासन रहेको चीनमा यसरी विरोधका स्वर बिरलै उठ्न गरेका छन् । समाचार एजेन्सी आईएनएसका अनुसार टिप्पणीकारले चिनियाँ सांसदहरुलाई खुलापत्र लेखेर सी जिनपिङ्गलाई अनिश्चितकालसम्म सत्तामा राख्ने गरी हुन लागेको संविधान संशोधनको प्रस्तावको विपक्षमा उभिन आह्वान गरेकी हुन् ।
चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालको समयसीमा समाप्त गर्नका लागि आइतवार एक प्रस्तावको घोषणा गरेको थियो ।
वीच्याटमा भाइरल भयो पत्र
यस प्रस्तावको विरोधमा लोकप्रिय म्यासेजिङ्ग एप वीच्याटमा भाइरल भइरहेको छ । सरकारबाट सञ्चालित ‘चाइना यूथ डेली’ की पूर्व सम्पादक ली दातोङ्गले वीच्याटमा एक भनाइ राख्दै चीनको संसदका सदस्यलाई कार्यकालको सीमा समाप्त गर्नु ‘अराजकताको बीउ रोप्नु’ जस्तै हुने उल्लेख गरेकी छन् । लीले स्थानीय समाचार एजेन्सीसँग भनिन्, 'यदि देशका शीर्ष नेताको कार्यकालको कुनै सीमा हुँदैन भने हामी एक राजशाही शासनतर्फ फर्किँदैछौँ।'
सरकारमा सुधारको वकालत गरिरहेकी महिला कारोबारी वाङ्ग यिङ्गले भनेकी छन्, ‘मेरो पिढीले माओलाई देखेका थिए । अब त्यो युग सकिएको छ । हामी फेरि माओकै शासनमा कसरी फर्केर जान सक्छौँ ?’ उनले वीच्याटमा लेखेकी छन्, 'कम्युनिस्ट पार्टीको प्रस्ताव ‘पुरै धोका’ र ‘संविधान विपरीत’हो ।'
उनले अगाडि लेखेकी छन्, ‘म जान्दछु तपाईँ (सरकार) ले यदि यस्तो गर्ने दुस्साहस गर्छौ भने आममानिसलाई कुनै फाइदा हुने छैन । यसविरुद्ध म आवाज उठाउँछु किनकि म एक चिनियाँ नागरिक हुँ र देश छाडेर भाग्ने मेरो कुनै योजना छैन, यो मेरो मातृभूमि हो।'
नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिको सूचना विभागसँग जोडिएका एक अधिकारीले भने सामाजिक सञ्जालमा भाइरल भइरहेको यो पत्रबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।
कांग्रेसले मार्चमा हुने आफ्नो वार्षिक सत्रका क्रममा संविधान संशोधनलाई पारित गर्दैछ । यसक्रममा सीलाई थप पाँच वर्षको कार्यकाल दिइनेछ । त्यही बेला नयाँ मन्त्रीहरुको पनि नियुक्ति गरिनेछ ।
चीनको संविधान अनुसार कुनै राष्ट्रपति पाँच-पाँच सालको कार्यकालका लागि केवल दुई पटक मात्रै यस पदमा रहन सक्ने व्यवस्था छ । तर माओपछि देशका सर्वाधिक शक्तिशाली नेता मानिने सी भ्रष्टाचारसँग लड्ने, गरीबी हटाउने, चीनलाई एक अग्रणी आधुनिक देश बनाउने आफ्नो एजेन्डाको नाममा थप कार्यकाल चाहिरहेका छन् ।
सरकार र पार्टी प्रवक्ताले कार्यकालको अवधि समाप्त गर्ने प्रस्तावपछिको उद्देश्यबारेमा अहिलेसम्म कुनै सार्वजनिक व्याख्या गरेका छैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले प्रस्ताव नयाँ स्थिति अनुरूप र नयाँ युगमा चिनियाँ चरित्रसहित समाजवादको विकास जारी राख्न यस्तो निर्णय लिन लागिएको जवाफ दिएका छन् ।