स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपक्षेत्रीय अस्पतालबीच विवाद
घोराही : लामो प्रयासपछि दाङको घोराहीमा असोज २९ गते स्थापना गरिएको प्रदेशस्तरीय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीबीच विवाद देखिएको छ। प्रतिष्ठानका पदाधिकारी ऐनअनुसार कार्यसम्पादनमा सक्रिय हुँदा अस्पताल प्रशासनले आफ्नो अस्तित्व र सहभागिताको सुनिश्चितता खोजेपछि दुई निकायबीच विवाद देखिएको हो।
प्रतिष्ठान र अस्पतालबीच आ–आफ्नो सञ्चालन प्रक्रियामा सैद्धान्तिक, कानुनी र व्यवस्थापकीय विवाद देखिएको छ। सैद्धान्तिक विवाद हुँदा सेवा सञ्चालनमा समेत अलमल भएको दुवै निकायले बताएका छन्। प्रतिष्ठानको ऐन पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा अस्पताल र प्रतिष्ठानबीच कार्यसम्पादन अलमलमा देखिएको प्रतिष्ठानका पदाधिकारीले बताएका छन् भने प्रतिष्ठान मातहत जाने र पूर्वाधार हस्तान्तरण गर्ने केन्द्रबाट निर्देशन नभएकाले अस्पतालकै अस्तित्वमा सञ्चालन भएको अस्पताल प्रशासनले बताएको छ।
दुई निकायको अलमलले असोज २९ गते प्रतिष्ठान स्थापन भए पनि अहिलेसम्म सहज रूपमा कार्यसम्पादन गर्न नसकेको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले बताइन्। प्रतिष्ठानको ऐनले सबै बोलेको भन्दै प्रतिष्ठानलाई सोहीअनुसार सञ्चालन गर्न दिनुपर्ने र अस्पताल प्रतिष्ठानको मातहतमा आइसकेको उनले दाबी गरिन्।
अस्पताल प्रशासनले कर्मचारी व्यवस्थापनको कुरा उठाएको भन्दै उनले कर्मचारीले जहाँ रोज्छन् त्यही व्यवस्थापन गर्न सकिने जानकारी दिएकी छन्। लामो संघर्षपछि राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइए पनि अझै प्रतिष्ठान स्वामित्वमा आउन नसकेको उनको भनाइ छ। ‘प्रतिष्ठानको स्वामित्वमा उपक्षेत्रीय अस्पताल आउन नमान्दा समस्या भएको छ’, उपकुलपति डा. भण्डारीले भनिन्, ‘मन्त्रालयले पनि यसबारे छिटो निकास दिनुपर्छ। ढिला हुँदा हामी काम र पूर्वाधारविहीन भएका छौं।’
स्वास्थ्य मन्त्रालयले निर्णय गरी परिपत्र नगरेको भन्दै अस्पताल प्रशासनले प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गर्न नमानेकाले अस्पताल प्रशासन र प्रतिष्ठानबीच कानुनी तथा व्यवस्थापकीय अन्योेल देखिएको हो। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. संगीता भण्डारी र उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.जनार्दन पन्थीले यसबारे आफूअनुकूल व्याख्या गर्दै आएका छन्।
उपकुलपति डा. भण्डारीले प्रतिष्ठान सञ्चालन ऐन पारित भइसकेपछि प्रतिष्ठानको स्वामित्वमा आइसकेको भन्दै यो विषयमा विवाद नरहेको जिकिर गरेकी छन्। ‘प्रतिष्ठान सञ्चालन ऐन बनिसकेको छ’, उनले भनिन्, ‘ऐनले स्पष्ट व्यवस्थापन गरे पनि अस्पतालको स्वामित्व हस्तान्तरण नहुनु राम्रो होइन।’ प्रतिष्ठानका लागि कार्यालय राख्ने स्थानसमेत नभएको भन्दै आफू बाहिरै बसिरहेको जानकारी दिइन्।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. पन्थीले भने अझै आधिकारिक रुपमा परिपत्र नआएकाले प्रक्रियागत रूपमा प्रतिष्ठानमा जान नसकेको बताए। ‘आधिकारिक रूपमा परिपत्र नआउँदा स्वामित्व हस्तान्तरण नगरिएको हो। हस्तान्तरणका लागि सैद्धान्तिक सहमति हुनुपर्छ’, उनले भने, ‘मन्त्रालयले निर्णयसहितको परिपत्र गरेको छैन।’
प्रतिष्ठानले नियमावली बनाउँदा अस्पताल प्रशासनसँग कुनै छलफल नगरेको उनको गुनासो छ। डा. पन्थीले अस्पतालका कर्मचारी व्यवस्थापनदेखि पूर्वाधार हस्तान्तरण प्रक्रिया स्पष्ट नहुँदा समस्या कायम रहने दाबी पनि गरेका छन्। दुई निकायको सैद्धान्तिक जुहारीले प्रशासनिक कार्यमा समेत समस्या आएको छ। प्रतिष्ठानका पदाधिकारी कार्यालयविहीन बनेका छन् भने अस्पताल प्रशासन कसको हातमा हुने भन्ने विवाद बढ्दो छ।
सैद्धान्तिक र व्यस्थापकीय विवादले प्रतिष्ठान र अस्पतालका दुईवटा प्रशासनिक निकाय स्थापना भएका छन्। प्रतिष्ठानमा अस्पताल निर्देशक नियुक्त गरिएको छ। अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट यथावत् छन्। अस्पताल विकास समिति क्रियाशील छ भने प्रतिष्ठानको विभिन्न पदाधिकारीले पूर्णता पाइसकेको छ। यो अवस्थाले प्रतिष्ठान र अस्पतालबीच कार्यसम्पादनमा अन्योल छाएको छ।