दक्षिण कोरियाकी पूर्वराष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग
एजेन्सी : दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हायलाई भ्रष्टाचार काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको छ । यहाँका सरकारी वकिलले पूर्वराष्ट्रपति हायले गरेको भ्रष्टाचार र शक्ति दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।
६६ वर्षीया पार्कमाथि भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ । त्यस मुद्दामा एक वर्षदेखि सुनुवाइ जारी छ । गत वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उक्त मुद्दाको सुनुवाइ दक्षिण कोरियाको सर्वोच्च अदालतमा जारी छ । उनी एक वर्षदेखि प्रहरी हिरासतमा छन् । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।