देउवा सरकारको सहयोगः ओनसरीलाई गाडी र बारलाई ५० लाख !
काठमाडौँः तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकाले राज्यकोषबाट धक फुकाएर पैसा बाँडेका विवरण सार्वजनिक भइरहेका छन् ।
फागुन २ गते बुधबार बसेको देउवा मन्त्रिपरिषद्को अन्तिम बैठकले नेपाल बार एसोसियसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको तथ्य बाहिरिएको छ ।
देउवा मन्पिरिषद्का निर्णयहरु केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेपछि यस्तो तथ्य बाहिरिएको हो । त्यसैगरी देउवा सरकाले पूर्वसभामुख तथा माओवादी नेतृ ओनसरी घर्तीलाई पनि हाल उनले प्रयोग गरिरहेकै सवारीसाधन दिने निर्णय गरेको खुलेको छ । घर्तीलाई त्यो गाडीका लागि सरकारी चालक र त्यसमा लाग्ने इन्धन खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय देउवा मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले सार्वजनिक भएको हो ।
यसअघि देउवा सरकारले एक हजार भन्दा धेरैजनालाई राज्यकोषबाट करोडौँ बाँडेको थियो । रक्षामन्त्री भीमसेनदास प्रधान आफैँले प्रस्ताव गरेर ५० लाख रुपैयाँ लिएका थिए ।