काँची पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको निधन
नयाँदिल्ली: काँची कामकोटी पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको ८३ वर्षको उमेरमा बुधबार निधन भएको छ । जयेन्द्र सरस्वतीको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनको अस्पतालमै उपचारका क्रममा निधन भएको हो । बुधवार बिहान काँचीपुरमको एक निजी अस्पतालमा उनले अन्तिम श्वास लिएका हुन् । उनको अन्तिम संस्कार बिहीबार ९ बजे गरिने भएको छ ।
१८ जुलाई १९३५ मा जन्मिएका जयेन्द्र सरस्वती काँची मठका ६९ औँ शंकराचार्य थिए । उनी सन् १९५४ मा शंकराचार्य बनेका थिए । काँची मठले कयौँ स्कूल र आँखा अस्पताल चलाइरहेको छ । यस मठको स्थापना आदि शंकराचार्यले गरेका थिए । जयेन्द्र सरस्वतीलाई २२ मार्च, १९५४ मा सरस्वती स्वामिगलको उत्तराधिकारी घोषित गरिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जयेन्द्र सरस्वतीको निधनमा दु:ख जनाएका छन् । मोदीले ट्वीट गरेर शंकराचार्य सदैव आफूहरुको मनमा जीवन्त रहने बताएका छन्। उनले समाजका लागि धेरै योगदान दिएको पनि बताएका छन्। प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली दिँदै शंकराचार्यसँगको पुरानो तस्बिर पनि सार्वजनिक गरेका छन् ।
मोदीका अलावा कयौँ अन्य नेताले पनि शंकराचार्यको निधनमा दु:ख जनएका छन् । कांग्रेस अध्यक्ष राहुल गान्धीले उनको निधनमा ट्वीट गर्दै दु:ख जनाएका छन् ।
सन् २००४ मा काँचीपुरम मन्दिरका म्यानेजरको हत्याको मामिलामा जयेन्द्र सरस्वतीको नाम मुछिएको थियो । तर सन् २०१३ मा उनलाई सफाइ दिइएको थियो । यस मामिलमा सन् २००४ मा उनी गिरफ्तार पनि भएका थिए । उनलाई करिब २ महिनासम्म न्यायिक हिरासतमा राखिएको थियो ।
काँची मठ काँचीपुरममा स्थापित एक हिन्दु मठ छ । यो पाँच पञ्चभूतस्थलमा एक हो । यहाँका मठाधीश्वरलाई शंकराचार्य भनिन्छ । काँची कामकोटी पीठका ६९ औँ शंकराचार्य जयेन्द्र सरस्वती यस पदमा आशिन हुनु पुर्व उनको नाम सुब्रमण्यम थियो ।