पञ्चतत्वमा बिलिन भइन् श्रीदेवी, अब केबल यादमा 'चाँदनी'
नयाँदिल्ली: बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी बुधवार सदाका लागि पञ्चतत्वमा विलीन भएकी छन् मुम्बईमा भिले पार्ले सेवा समाज श्मशान गृहमा उनको अन्तिम संस्कार गरिएको छ ।
पति बोनी कपुरले श्रीदेवीको शवमा मुखाग्नि दिए । यसभन्दा अघि श्रीदेवीको पार्थिव शरिरलाई लोखण्डवालास्थित सेलिब्रेशन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो ।
श्रीदेवीको अन्तिम दर्शनका लागि केबल सिनेमा जगत र राजनीतिक हस्ती मात्रै पुगेनन्, मुम्बईको सडकमा आफ्नी चम्किली अभिनेत्रीको विदाई गर्न लाखौँ मानिसको भीड नै उर्लियो । भीड यति धेरै भयो कि कयौँ पटक पुलिसले लाठी चार्ज गर्न बाध्य भयो ।
अन्तिम यात्रा भन्दा अघि श्रीदेवीको पार्थिव शरिरलाई बेहुली झैँ सजाइएको थियो । रातो रंगको साडीमा श्रीदेवीको शव देखेर कसैले उनी यो दुनियाँबाट बिदा लिइसकिन् भन्न सकेनन् । श्रीदेवीको शवलाई भारतको राष्ट्रिय झण्डाले बेरिएको थियो । साथै महाराष्ट्र पुलिसको तर्फबाट पद्मश्रीले सम्मानित श्रीदेवीको राजकीय सम्मानसाथ विदाई गरियो ।
अन्तिम यात्रा लागि श्रीदेवीको शव राखिएको ट्रकलाई सेतो रंगको फूलले सजाइएको थियो । ट्रकमा पार्थिव शरिरसँगै पति बोनी कपुर, छोरी खुशी रजाह्नवी, देवर सञ्जय कपुर र अर्जुन कपूर समेत परिवारका नजिकका आफन्त पनि थिए ।
मंगलवार ३ दिन लामो प्रक्रिया पुरा गरेपछि दुबईबाट श्रीदेवीको पार्थिव शरिर मुम्बई ल्याइएको थियो । शव मुम्बई आएपछि बोनी कपुरको घर ग्रीनएकर्समा मानिसको बाक्लो उपस्थिति भएको थियो । परिवार सदस्यका अलावा बलिउड र राजनीति जगतका कयौँ हस्ती मध्यराति श्रीदेवीको घरमा पुगेका थिए ।
गत शनिवार दुबईको एक होटलमा ५४ वर्षीया श्रीदेवीको निधन भएको थियो । पोस्मार्टममा उनको मृत्यु होटलको बाथ टबमा डुबेर (एक्सीडेन्टल डेथ) भएको रिपोर्ट आएको थियो । श्रीदेवी आफ्ना भान्जा मोहित मारवाहको बिहेमा सहभागी हुन स-परिवार दुबई गएकी थिइन् । उनको मृत्युको खबरपछि देशभर शोक छाएको थियो । जसले यो खबर सुने उनीहरुले सुरुमा विश्वास नै गर्न सकेनन् ।
श्रीदेवीले पति बोनी कपुरका अलावा दुई छोरी खुशी र जाह्नवीलाई छाडेर गएकी छन् । ठुली छोरी जाह्नवी अब श्रीदेवीको विरासतलाई अगाडि बढाउँदै आफ्नो फिल्मी करिअर सुरु गर्दैछिन् । यही जुलाईमा उनको फिल्म 'धडक' ठुलो पर्दामा रिलिज हुँदैछ ।