फागुमा स्वास्थ्य सचेतता
अनेक मिथकमा आधारित होली या फागु हाम्रो मौलिक पर्व हो। पहाड र मधेसमा उत्साहपूर्वक मनाइने होली दक्षिण एसियाका अन्य देशमा पनि मनाइन्छ। तलाउमा नुहाउन लागेका गोपिनीको लुगा श्रीकृष्णले लुकाइदिएको सन्दर्भमा हप्ता दिनसम्म मनाइने यो पर्व अन्यत्र हिरण्यकश्यप राक्षसकी बहिनी होलिकाको दहनको स्मृतिस्वरूप एकै दिन मात्र मनाइन्छ।
यस पर्वमा तराई–मधेस र छिमेकी भारतमा मुहूर्त हेरेरै होलिकाको मूर्ति बनाएर जलाइन्छ। रातो रङलाई विजयको प्रतीक मानिने पूर्वीय सभ्यताले होलिका दहनलाई सत्यको विजय भएको ठानी विजयभाव प्रकट गर्न रङको प्रयोग प्रचलनमा ल्याएको हुन सक्छ। त्यसैले राजधानी खाल्डोमा अबिर दलेर ‘अबिरया होली’ मनाइन्छ। फागुकै दिन भक्तपुरमा पौराणिक पात्र भीमसेनको लिंगको प्रतीक बनाई सहरमा घुमाउनुले यो पर्व सिर्जना, उत्पादकत्व र यौनसँग जोडिएको समेत बुझिन्छ।
तर हाम्रा पर्वहरू विस्तारै अनेक चपेटामा पर्दैछन्। हरेक विषय र वस्तुलाई सामानका रूपमा व्यवहार गर्ने पुँजीवादले विश्वका अनेक जाति, सम्प्रदाय र धर्मका मौलिक पर्व र संस्कृतिलाई बजार विस्तार गर्ने अवसरका रूपमा लिँदा होलीमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिन्छ। खेतबारी, जंगल या प्रकृतिमा उम्रेका या भेटिने प्राकृतिक रङ प्रयोग गरेर खेलिने फागु अचेल आयातीत चम्किला ‘कलर–डाई’ को प्रभावमा परेको छ।
पछिल्लो समय होलीकै लागि लक्षित गरेर बजारभरि टिसर्ट बेच्न थालिएका छन्। रङको सट्टा पानी छ्याप्ने प्रचलन आएपछि अनेक शैली र मूल्यका पानी छ्याप्ने पिच्कारी बजारमा छन्। होली पर्वभन्दा बढी बजार भएको छ। यता, उपभोक्ताको हितबारे कम चासो राख्ने सरकारी र गैरसरकारी संयन्त्र भएको हाम्राजस्ता देशमा खुला या बन्द सीमाबाट विनाकुनै परीक्षण जुनसुकै चीज सीधै नागरिकका घरभित्र आउँछन्। कुनै जाँचपड्ताल नगरीकन आउने त्यस्ता रङ र चीजवीजले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्छ भन्नेबारे आम सर्वसाधारणलाई उति चासो पनि छैन।
हाम्रा पूजाकोठा र मन्दिरहरूमा प्रयोग गर्ने केसरी, अबिर, नीरलगायतका रङहरूको गुणस्तर कस्तो छ भन्नेबारे थाहा नभएको अवस्थामा होलीलाई लक्षित गरेर बजारमा बेचिने रङहरू कति हानिकारक छ भन्नेबारे पनि हामीलाई ज्ञान छैन। प्राचीनकालमा फूल, पात र वनस्पति आदिबाट रङ बनाइन्थ्यो। पश्चिमाभन्दा हामी आफ्नो खानाको सुन्दरता र स्वास्थ्यमा सचेत भएकै कारण बेसारलगायतका अनेक खालका रङयुक्त औषधीय वनस्पतिको चलन थियो, जुन आजपर्यन्त छ। तर पुर्खाको त्यो ज्ञानलाई हामीले बेवास्ता गर्दै बजारमा जे आउँछ, त्यसलाई विनाकुनै प्रश्न सीधै प्रयोग गर्न थालेका छौं।
बजारमा खतरनाक रसायन मिसिएका अनेक चम्किला रङ उपलब्ध छन्। मर्करी र लिडजस्ता हानिकारक रसायन मिसिएका त्यस्ता रङले एक दिनको होली राम्रो देखिएला, एक झलकको सेल्फी सुन्दर देखिएला तर स्वास्थ्यका कोणबाट ती डरलाग्दा छन्। त्यस्ता रसायन हाम्रा छाला र शरीरभित्र छिर्दा त्यसले सामान्य समस्या मात्रै होइन, दिमागी समस्या र प्राणघातक क्यान्सरसम्म हुन सक्ने तथ्य बारम्बार अध्ययनले देखाएका छन्।
पर्वहरू हाम्रो जीवनका पर्याय हुन्, तर जीवनको पहिलो सर्त स्वास्थ्य र दीर्घायु हो। यसो हुँदा पर्वका नाममा आएका गलत अभ्यास स्विकार्नु उचित हुन्न। यो पर्वको सन्देश जीवन बहुरंगीय छ भन्ने हो। उसो त हाम्रो देश आफैंमा अनेक जाती र भाषाको इन्द्रेणी हो। यसो हुँदा कृत्रिम रङ दलेर आफ्नो स्वास्थ्यलाई जोखिममा पार्नुभन्दा यो पर्वको मूल सन्देश बुझेर फागु मनाउनु श्रेयस्कर हुन्छ।
रङ नै प्रयोग गर्नैपरे घरमै अनेक प्राकृतिक रङ बनाएर प्रयोग गर्दा हुन्छ। इन्टरनेटको सहायताले घरमै भएका अनेक चीजबीजमार्फत त्यस्ता रङ बनाउन सकिन्छ। उसो त, हानिकारक रङहरू प्रयोग गर्नुअघि तेल र मोस्चराइजर क्रिम प्रयोग गर्दा जोखिम कम हुन्छ। सद्भाव, मित्रता, प्रेम र सौहार्दको यो पर्वमा स्वास्थ्यको ख्याल गर्नु त छँदैछ, यस पर्वमा भित्रेका विकृति हटाई पर्वको मर्यादा जोगाउनु पनि उत्तिकै आवश्यक छ।