यसरी मनाइयो विर्तामोडमा होली (फोटो फिचरसहित)
विर्तामोड : फागु अर्थात् होली पर्व झापाको विर्तामोडमा पनि हर्षोल्लास पूर्वक मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज तराईका जिल्लामा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइयो।
झापामा बिहानैदेखि विभिन्न संघ संस्थाले होली विशेष कार्यक्रम गरी मनाए। विर्तामोडको मुख्य केन्द्र मुक्ति चोकमा समेत युवायुवतीको ठूलो संख्याको उपस्थितिमा होली पर्व सामुहिकरुपमा मनाइएको छ।
चारैतर्फ सडक छुटिएको मुख्य केन्द्र मुक्तिचोक रहेको र चोक छेउको सानो स्थानमा सांगीतिक कार्यक्रमसहित सामुहिक होलीको आयोजना गरेपछि प्रहरीलाई सडकमा ट्राफीक मिलाउन र पैदल यात्रुलाई बाटो कटाउन दिनभर हैरानी भएको छ।
सरकारले झापालाई पनि पहाडी क्षेत्रसँग जोड्दै बिहीबारनै सार्वजनिक बिदा दिएका कारण कर्मचारीको भने होलीमा उपस्थिति थिएन।होलीमा कलेज पढ्ने उमेरका युवायुवतीकोे बाहुल्यता बढी पाइएको छ। सरकारले होली पर्वकै अवसरमा आज झापा बाहेकका तराईका जिल्लामा मत्र बिदा दिएको छ।
होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व रहेको छ। दैत्यराज हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी तर प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरीएको शास्त्रहरुमा उल्लोख गरिएको छ।