वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न चुनाैती
अहिले बैंकिङ क्षेत्रमा विकास बैंकको सञ्चालन तुलनात्मक रूपमा सहज छ। वाणिज्य बैंकमा देखिएजस्तो तरलता समस्या विकास बैंकमा कम छ। वाणिज्य बैंकसँगको तुलनामा विकास बैंकमा निक्षेपकर्ता कम हुने र लगानी पनि थोरै नै हुन्छ। सरकारले भोलिका दिनमा वाणिज्य बैंकसरह हामीलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न दिने र थप मर्यादित र व्यवस्थित बनाउने गरी नीति ल्याउन सक्छ। अहिलेकै जति सहजता छ त्यो भोलिका दिनमा नहुने र वित्तीय कारोबारमा प्रतिस्पर्धा गर्न अझै चुनौतीपूर्ण हुन सक्छ।
विकास बैंकले आफ्नो सेवाको दायरा ग्रामीण क्षेत्रमा मात्रै केन्द्रीकृत गर्नुपर्ने अवस्था छ। लगानीको दायरा उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्ने जरुरी छ। यसलाई यो राज्यको अवश्यकता पनि हो भनेर हामीले बुझेका छौं। हामीलाई मुख्य चुनौती भनेकै वाणिज्य बैंकसँग प्रतिस्पर्धा गरेर जानुपर्ने अवस्था छ। इनोभेटिभ आइडिया लिएर बजारमा जानुपर्ने आवश्यकताको खाँचो उत्तिकै छ।
अर्को चुनौती भनेको विकास बैंक र वाणिज्यको एउटै दायरा र क्षेत्र हुनु भनेको भोलिका दिनमा समस्या हुन सक्छ भन्ने पनि हो। वाणिज्य बैंकसँग राष्ट्रियस्तरका विकास बैंकले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नै सबैभन्दा चुनौती हो। विकास बैंकको कर्जाको अवस्था बढ्दै गएको छ। यसले उत्पादनमूलक क्षेत्रसहित सम्भावनाको क्षेत्र मानिएका कृषि तथा पर्यटन क्षेत्रमा लगानी केन्द्रित हुनुपर्छ।
सरकारले वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गरिसकेकाले वित्तीय संस्था व्यवस्थित रूपमा सञ्चालिन हुने र यसको संख्या पनि घट्दै गएको छ। विकास बैंकको संख्या ९१ बाट घटेर ३५ मा झरिसकेको छ। केही विकास बैंक वाणिज्य बैंकसँग गाभिने र यसको संख्या घट्ने क्रम जारी छ। यसको मतलव विकास बैंक अर्को बैंकसँग मिसिएर यसले दिने सेवा थप प्रभावकारी र बलियो बनाउने क्रममै छ।
वित्तीय संस्थाको संख्यालाई घटाउने सरकारी नीति भएकाले यसलाई अंगिकार गर्नु पनि पर्छ। हामीले पनि जनताकै निक्षेपलाई परिचालन गर्ने हो। उपयुक्त क्षेत्रमा लगानी गर्न नसकिएको अवस्थामा प्रतिस्पर्धात्मक बजारमा टिक्न गाह्रो हुन्छ। सबैले आ–आफ्नो क्षेत्रबाट कमी÷कमजोरी हटाएर जानुपर्ने वित्तीय क्षेत्रको सुधार गर्दै जाने र अनुसाशित हुनुपर्छ। नयाँ प्रविधिमा जाने, विकसित प्रविधिलाई आत्मसाथ गर्दै आधुनिक तबरले सेवा र सुविधा दिने काम पनि भइरहेको छ। पछिल्लो समय वित्तीय साक्षरता बढाइएको छ।
हामीले संस्थागतभन्दा व्यक्तिगत निक्षेपलाई प्राथमिकता दिएका छौं। एउटै विकास बैंकले ७०÷७५ वटासम्म शाखा विस्तार गर्दै गएका छन्। अहिले विकास बैंकले विभिन्न क्षेत्रलाई दृष्टिगत गरी सेवाको पहुँच पु¥याएकाले समग्रमा राम्रो अवस्था देखिन्छ। तरलता अभावका कारण कर्जा प्रवाह बन्द गर्नुपर्ने अवस्था विकास बैंकलाई छैन।
विकास बैंकको अवको भविष्य भनेको वाणिज्य बैंकसँगको मर्जर, क्षेत्रीय तथा प्रादेशिक पहुँच विस्तार गर्दै स्तरोन्नति हुने हो। देशको वित्तीय संस्थालाई कसरी सञ्चालन गर्ने, कस्तो बनाउने, कति दायरामा सञ्चालन गर्न दिने भन्ने विषय राज्यले लिने नीतिमा भर पर्छ। हामीले पनि आफ्नो क्षमताअनुसार हैसियत बढाउँदै जाने हो। बैंकको आकार घटाउने र पुँजी बढाउने राज्यको नीतिले वित्तीय संस्थाको संख्या घट्न पनि सक्छ।
अहिले वाणिज्य बैंकलाई दिएजस्तो सबै प्रकारको कारोबार गर्न पाउने सुविधा विकास बैंकलाई छैन। हामीले विकास बैंक एसोसिएसनको तर्फबाट धेरैवटा नीतिगत पक्षलाई सुधार गर्नुपर्ने र व्यावहारिक बनाउनुपर्ने माग गरेका छौं। अवको प्राथमिकता भनेको स्थानीय तहसम्म पहुँच पु¥याउने हो। जनताले वित्तीय सहजता पाउने हुनुपर्छ।