खाना बनाइरहेका महिला
जब उनीहरू बुलबुल थिए
उनीहरूले खाना बनाए
त्यसपछि हरिण भएर
अनि फूलको हाँगा भएर
खाना बनाए
जब कलिलो दूबो हावासँगै झुमिरहेको थियो
जब चारैतिर फैलिएको थियो मधुरो घाम
उनीहरूले आफ्ना सपना मुछे
त्यसमा हृदयाकाशको तारा टिपेर हाले
मनको कोपिलाको रस मिसाए
तर आखिरीमा उनीहरूले सुने–
थाल फ्याँकिएको आवाज
तपाईंले उनीहरूलाई सुन्दर भन्नुभयो
उनीहरूले खाना बनाए
बोक्सी भन्नुभयो
उनीहरूले खाना बनाए
बच्चालाई गर्भमा राखेर उनीहरूले खाना बनाए
अनि बच्चालाई काखमा लिएर
उनीहरूले सपनामा पनि खाना बनाए
तपाईंको सपनामा पनि उनीहरूले खाना बनाइरहे
पहिले पातली थिए, खाना बनाए
फेरि मोटी भए, खाना बनाए
समुद्रमा नुहाएर फर्केपछि उनीहरूले खाना बनाए
ताराहरू छोएर आएपछि पनि खाना बनाए
उनीहरूले कैयन् पटक
फगत एक गेडो आलु र एक डल्लो प्याजले खाना बनाए
र, कैयौं चोटि त फगत धैर्यले खाना बनाए
कम्मर दुख्दा, ज्वरो आउँदा
बाहिर हुरी चल्दा
मनभित्र बाढी आउँदा उनीहरूले खाना बनाए
वात्सल्यले भरिएर
उमंगमा खाना बनाए
तपाईंले आधा रातमा
उनीहरूलाई खाना बनाउन अह्राउनुभो
बीस जनाका लागि खाना बनाउन लगाउनुभो
ज्ञात–अज्ञात महिलाको उदाहरण दिँदै
खाना बनाउन लगाउनुभो
कैयौंपटक आँखा तरेर
थुप्रै चोटि लात हानेर
अनि, स्त्रीयोचित ठानेर
तपाईं चिच्याउनुभो— नुन कति चर्को हालेको !
र, बिर्सिनुभो ती आँसुलाई
जो भुइँमा खस्नुअघि
रिकापी र कचौरामा खसिरहे
उनीहरू एक हप्ता खुसी भइदिन्छन्
किनकि, अघिल्लो बुधबार तपाईंले नझर्की, नकराई
खानुभएको थियो खाना
अस्ति दुई चोटि खानाको तारिफ भएको थियो
त्यस पाहुनालाई धन्यवाद
जसले पेटभरि खायो र आभार प्रकट ग¥यो
र, उसलाई पनि धन्यवाद
जसले अभिनय नै सही
हातमा एक गाँस लिनेबित्तिकै तारिफ गर्यो
उनीहरू खरदार भए, अधिकृत भए
तीव्र गतिका धावक भए
सितारवादक भए
तर हरेकपटक उनीहरूका अघिल्तिर राखियो
एउटै कसी
अहिले उनीहरू थकानको सिलौटोमा अचार पिस्छन्
रात छिप्पेपछि पथार्छन् रोटी
उनीहरूको गलाबाट, पिठ्यूँबाट
उनीहरूको अन्धकारबाट आइरहेको पसिना बगेर
पिँडौलासम्म पुगेको छ
र, उनीहरू भनिरहेका छन्—
लिनुस्, यो तात्तातो रोटी !
उनीहरूले बिहानको निद्रामा
खाना बनाउनु पर्यो
फेरि दिउँसोको निद्रामा
फेरि रातको निद्रामा
अनि निद्राको पनि निद्रामा
उनीहरूले खाना बनाए
उनीहरूको पैतालामा रगत जमेको छ
कुप्रिन थालेको छ ढाड
घुँडामा बाथले दुःख दिन थालेको छ
तपाईंले सायद हेक्का राख्नुभएको छैन
केही दिनयता उनीहरू
बसेर खाना बनाउन थालेका छन्
यद्यपि,
उनीहरू सजिलोसँग बस्न पनि सक्दैनन् ।
(अम्बुज हिन्दी भाषाका प्रखर कवि हुन्। अम्बुजको यो कविता विनोदविक्रम केसीले अनुवाद गरेका हुन्।)