बिचौलिया भर पर्दा ठगिए २० युवा

बिचौलिया भर पर्दा ठगिए २० युवा

सिरहा : बिचौलियामार्फत रोजगारीका लागि विदेश जाने क्रममा धनगढीमाई नगरपालिका-४ र १० का २० युवा ठगीमा परेका छन्। उनीहरूले बिचौलियाविरुद्ध स्थानीय प्रशासनसमेत गुहारेका छन्। वैदेशिक रोजगारीमा जाने प्रत्येक युवाबाट बिचौलिया गफुर मियाँले ३० हजारदेखि एक लाखसम्म असुलेको पीडितको भनाइ छ। गफुरले कुवेतको कम्पनीमा राम्रो काम र आकर्षक तलबमा पठाइदिने भन्दै १० लाख ८१ हजार असुलेको उनीहरू जिल्ला प्रशासनमा दर्ता गरेको उजुरीमा उल्लेख छ।

मासिक ३० देखि ३६ हजार तलबको आश्वासन दिएर कुवेत पठाइदिने भन्दै पटक-पटक गरी रकम असुलेको विजयकुमार रामले बताए। ‘पासपोर्ट बुझाएको ६ महिनाभन्दा बढी भयो’, उनले भने, ‘हामीलाई बिचौलियाले काठमाडौं लग्यो तर विदेश पठाएन।’ आफूहरूले पासपोर्ट र रकम फिर्ता माग्दा गफुरले आलटाल गरेको उनले सुनाए।

‘साहुसँग सयकडा ५ रुपैयाँ ब्याजमा ऋण गरी विदेश जाने सपना बुनें तर बिचौलियाले गर्दा अधुरो बन्यो’, बलराम दासले भने, ‘गफुरले पैसा लिने बेला दिनमा चारपटक फोन गथ्र्यो तर अहिले उसले स्विच अफ गर्ने गरेको छ।’

प्रहरीसँगको छलफलमा गफुरले केही व्यक्तिको रकम लिएको स्वीकार गरे। ‘मैले केही व्यक्तिको रकम लिएको र अरूले सिधै मेनपावरमा मेरो रोहबरमा रकम बुझाएको हुन्’, उनले भने। उनले रमेश्वर रामको ३० हजार, अशोक रामको ४० हजार, विजय रामको ४० हजार, सुरेन्द्रकुमार महतोको ३० हजार, विशेश्वर ठाकुरको ३० हजार र रामकुमार साहको ६० हजार गरी दुई लाख ३० हजार लिएको उनले स्वीकार गरे।

उनले आफूले पासपोर्ट र रकम सिरहा नगरपालिका-४ घर भई काठमाडौं बस्दै आएका मोहम्मद मडान हुसेनलाई दिएको बताए। त्यो पैसा र राहदानी फिर्ताका लागि मडानलाई सम्पर्क गर्दा पनि नभेटाएको उनले सुनाए। लुकिछिपी बस्दै आएका मडानविरुद्ध गफुरले जिल्ला प्रहरी कार्यालय सिरहामा ठगीको उजुरी दर्ता गराएका छन्।

सम्झौताअनुसार तलब भएन

लहान नगरपालिकास्थित मिथिला इन्टरनेसनमार्फत मलेसिया पुगेका भगवानपुर-३ का युवाले सम्झौताअनुसार तलब नपाएको गुनासो गरेका छन्। भगवानपुर-३ का जयलाल यादवले भाइ सन्दीपलाई एक लाख ४० हजार तिरेर महिनामा १४ सय ७५ रिंगिट तलब पाउने सम्झौता गरी मलेसिया पठाएका थिए। तर, सन्दीपले चार सय रिंगिट पनि तलब नपाएको जयलालले बताए। भने, ‘भाइ मलेसिया गएको चार महिना भयो। तर, अहिलेसम्म ३० हजार रुपैयाँ पनि कमाउन सकेको छैन।’

उनले मिथिलाका निर्देशकले ठगेको आरोप लगाए। ‘एक महिनाअघि अफिसमा गएर गुनासो गर्दा उनले अर्को महिनादेखि तलबमा सुधार हुने आश्वासन दिनुभयो’, उनले भने, ‘तर, महिनाभन्दा बढी भए पनि अझै सम्झौताअनुसार तलब पाएको छैन।’

अर्का युवा अशोक राम सम्झौताअनुसार तलब नपाउँदा मलेसियामा समस्यामा रहेको उनका बुवा पञ्चा रामले गुनासो गरे। भने, ‘सयकडा पाँच रुपैयाँ ब्याजमा एक लाख ४० हजार ऋण लिएर छोरालाई मलेसिया पठाएँ। तर, कम्पनीले मिहिनेतअनुसार तलब दिने गरेको छैन।’

मिथिलाका निर्देशक महेन्द्र साहले भगवानपुरका चार युवालाई काठमाडौंस्थित बेबी स्टार म्यानपावरमार्फत मलेसियाको हर्टन कम्पनीमा पठाएको बताए। एक लाख ४० हजारका दरले रकम लिएको र पहिलो महिना सम्झौताअनुसार तलब नपाएको उनले स्वीकार गरे। भने, ‘अब उनीहरूले सम्झौताअनुसार तलब पाउँछन्।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.