उपचारमा ल्याइएकी महिलाको मृत्युपछि अञ्चल अस्पताल तनावग्रस्त
महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । शुक्रबार राति १२ बजे अस्पताल ल्याइएकी भीमदत्त नगरपालिका –११ भुजेलाकी ४० वर्षीया कलावती सार्कीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।
अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले दोषीलाई कारबाही र मृतकलाई क्षतिपूर्तिको माग राख्दै विरोध गरिरहेका छन् ।
राति १२ बजे इमरजेन्सी कक्षमा उपचारका ल्याइएपनि डाक्टर बिहान ५ बजे मात्रै आइपुगेको मृतकका परिवारको आरोप छ । डाक्टर पुगेर चेकजाँच गरिसकेपछि मृत घोषणा गरेका हुन् ।
समयमा बिरामीलाई हेर्न डाक्टर नपुगेका कारण बिरामीको मृत्यु भएको भन्दै परिवारजनले लापरबाही गर्ने माथि कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । हाल मृतक महिलाको शव महाकाली अञ्चल अस्पतालमै राखिएको छ ।
परिवारजनले घटनाको छानविन नभएसम्म शव पोष्टमार्टम समेत नगर्ने र शव पनि नबुझ्ने अडान राखेका छन् । अहिले महाकाली अञ्चल अस्पताल बाहिर मृतकका परिवार र आफन्तहरु ठूलो संख्यामा अस्पताल बाहिर भेला भएका छन् । अप्रिय घट्ना हुन नदिन प्रहरी परिचालन गरिएको छ ।
फागुन १३ गते पाठेघरको अप्रेशनका लागि कलावतीलाई अस्पताल भर्ना गरिएको थियो । उनको पाठेघरको अप्रेशन पश्चात १६ गते डिस्चार्ज गरिएको थियो । शुक्रबार अप्रेशन गरिएकी कलावतीको स्वास्थ्यमा समस्या देखिएपछि राति थप उपचारका लागि भन्दै महाकाली अञ्चल अस्पताल पुयाइएको आफन्त हरि सार्कीले बताए ।
डाक्टरले भने आफूलाई बिहानको समयमा मात्रै बिरामीका विषयमा खबर गरिएको प्रतिक्रिया दिए । महाकाली अञ्चल अस्पतालका निमित्त प्रमुख डा.रोजन ताम्राकारले बिरामी महिलामा मुटुको समस्या समेत रहेकाले हृदयघात भई मृत्यु भएको हुन सक्ने बताए ।
‘मृत्यु के कारणले भयो भन्ने पोष्टमार्टमपछि मात्रै एकिन भन्न सकिन्छ’ उनले भने, ‘प्रारम्भिक अवस्था हेर्दा बिरामीको मृत्यु हृदयघातले भएको हुन सक्छ’ । अचानक हृदयघातले बिरामीको मृत्यु हुन सक्ने र त्यसको कुनै लक्षण नदेखिने गरेको अस्पतालले जनाएको छ ।