‘माइट’ र लामखुट्टेको टोकाइबाट बर्सेनी दर्जनको मृत्यु्
काठमाडौं : जाडो सकिएर गर्मी लागेसँगै लामखुट्टे, भुसुना, कीर्नालगायतले टोकेर हुने (कीटजन्य) रोगको जोखिम बढेको छ । कीटजन्य रोगहरू स्क्रब टाइफस र डेंगेबाट बर्सेनी एक दर्जनभन्दा धेरैको मृत्यु हुने गरेको छ ।मौसम फेरिन थालेसँगै सहरी क्षेत्रमा डेंगे, स्क्रब टाइफसलगायत रोगले सताउने गरेको छ ।
गत वर्ष यी दुई रोगबाट प्रभावित २७ सयमध्ये १५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.विवेककुमार लालले बताए । विगतमा तराईका जिल्लामा पिरोल्ने औलो, कालाजार, जापानिज इन्सेफ्लाइटिसलगायत रोग निवारणमा सरकारको ध्यान गइरहेका बेला कीटजन्य नयाँ रोगले सताउन थालेको छ ।
लामखुट्टेबाट सर्ने डेगें र मुसाको शरीरमा हुने कीर्नाजस्तो परजीवी ‘माइट’को टोकाइबाट मानिसमा लाग्ने स्क्रब टाइफसले पछिल्लो समय सहरी क्षेत्रमा पिरोल्ने गरेको चिकित्सकहरू बताउँछन् । स्क्रब टाइफस भूकम्पपछि देखा परेको हो । चितवन, धादिङ, नुवाकोटलगायत देशका ३८ जिल्लामा स्क्रब टाइफसको जोखिम रहेको पाइएको छ । यी जिल्लामा गत वर्ष ६ सय ७० जना स्क्रब टाइफसका बिरामी फेला परेका थिए ।
तीमध्ये १२ जनाको मृत्यु भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्याङ्जाका ३, चितवन र नवलपरासीका २÷२, मकवानपुर, तनहँु, गुल्मी, रूपन्देही र दाङमा १÷१ जना बिरामीको मृत्यु भएको थियो । अन्नको भण्डार मानिने तराईमा स्क्रब टाइफसको जोखिम सबैभन्दा धेरै देखिएको छ ।
डेंगे पनि सहरी क्षेत्रमा बढी मात्रामा देखा परेको छ । ‘आधुनिक जीवनशैली अपनाइएका सहरोन्मुख क्षेत्रमा पनि डेंगे विस्तार भएको छ’, डा. लालले भने, ‘जनघनत्व धेरै भएका स्थानमा बढी जोखिम छ ।’ सन् २०१६ मा यस रोगबाट २ जनाको मृत्यु भएको थियो । गत वर्ष डेंगेबाट २१ सयभन्दा धेरै व्यक्ति बिरामी भएका थिए । तीमध्ये ३ जनाको मृत्यु भएको थियो ।
देशका ४० भन्दा बढी जिल्लामा डेंगे देखिएको छ । छरपस्ट फालिने प्लास्टिक, गमला, सवारीसाधनका टायरमा यो रोग फैलाउने लामखुट्टेले अन्डा पार्ने र हुर्कने भएकाले रोगको जोखिम धेरै देखिएको हो । इबोला पनि देखा पर्न सक्ने सम्भावना रहेको डा.लालले बताए । उनले भने, ‘शान्ति सेनामा र वैदेशिक रोजगारीमा जानेहरू फर्केर आउँदा रोगसमेत बोकेर आउन सक्ने भएकाले जोखिम छ।’
चिकित्सकहरूका अनुसार जिका भाइरस संक्रमणको पनि जोखिम छ । रोग नियन्त्रण महाशाखाको टोलीले देशमा जिका भाइरस संक्रमणको सम्भावना अध्ययन गर्दा देखा पर्न सक्ने औंल्याएको छ । जिका भाइरस फैलाउने लामखुट्टे नेपालमा पनि रहेकाले संक्रमण हुन सक्ने सम्भावना रहेकाले सजग हुनुपर्ने डा.लालले बताए । उनले भने, ‘विशेषरूपमा डेंगे र स्क्रब टाइफसमा ध्यान दिइरहेका छौं । यीबाहेक इबोला र जिकालाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता देखेका छौं ।’
वैदेशिक रोजगारीमा गएकाहरू फर्कंदा रोग ल्याउन सक्ने जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘कीटजन्य रोगको थ्रेट बढेको छ ।’