ललितपुरका पहिलो मेयरले बनाएका थिए ६४ इनार

ललितपुरका पहिलो मेयरले बनाएका थिए ६४ इनार

 

ललितपुर : ललितपुरको पहिलो मेयर बेखारत्न शाक्यले आफ्नो ५ बर्से कार्यकालमा ललितपुरमा पानीको अभाव हटाउन ६४ वटा इनार खनाए। ललितपुर नगरपालिकाको पहिलो मेयर निर्वाचित हुँदा ६२ वर्षका शाक्य अहिले ८७ वर्ष पुगिसकेका छन्। ‘मलाई यो घाउको भन्दा पानीको नै धेरै चिन्ता छ। त्यो बेला पनि पहिलो आवश्यकता नै पानीको थियो’, अहिले अल्सरले थलिएका उनले भने, ‘पानीको हाहाकार मेटाउन ६४ वटा इनार बनाएँ। त्यसबेलाका इनार, ढुंगेधारा, कुवा पनि अव्यवस्थित थिए, व्यवस्थित गरी पानी आउने बनाएपछि पाटनवासीबाट स्याबासी पाएँ।’

देशमा बहुदलीय व्यवस्था पुनर्वहालीपछि ०४९ सालमा मेयर चुनिएका शाक्यलाई आफूले त्यसबेला पूरा गर्न नपाएका काम र अझै पनि पानीको अभावप्रति अहिले पनि चिन्ता छ। उनले भने, ‘मेलम्चीको मात्र भर परेर हुन्न, विकल्प खोज्नुपर्छ।’ पानी सर्वसुलभ उपलब्ध गराउन त्यसबेला लागिपरेका उनले ठाउँठाउँ घुमेर तत्कालीन ढुंगेधाराहरूको अवस्था बुझे। टंगाल, मंगलबजार, गोदावरीलगायत ठाउँमा पानीको मुहान खोजे। अन्ततः उनले ललितपुरमै १८ वटा ढुंगेधारा भेटे। ती लोप हुनै लागेका ढुंगेधारा, इनार, कुवा पुनर्निर्माण गरेर ६४ वटा इनारमा पानी आउने बनाए। उनका अनुसार त्यसपछि पाटनका बासिन्दाले केही मात्रामा पानी उपभोग गर्न पाए।

शाक्यको भनाइमा मेलम्चीको पानी आएपछि पनि काठमाडौं उपत्यकामा पानी अपुग हुन्छ। विकल्पका रूपमा गोदावरी, खानीखोला र फर्पिङलगायत विभिन्न ठाउँबाट पानी ल्याउने सम्भावना खोतल्नुपर्छ। उनले त्यतिबेला जापानमा देखेको प्रविधिबाट अभिपे्ररित भएर त्रिशूलीको पानी काठमाडौंवासीको घरघरमा पुर्यालउने सपना देखेका थिए। त्रिशूलीको पानी वितरण गर्ने उनको सपना अर्को चुनावमा पराजित भएसँगै चकनाचुर भयो। ‘त्यसबेलाका अधुरा सपना अहिलेका नगरप्रमुख चिरीबाबु महर्जनबाट पूरा भएको हेर्ने रहर छु’, उनले भने, ‘उनुलाई बेलाबेला सुझाव दिने गरेको छु।’

शाक्यले गरेको दोस्रो उल्लेखनीय काम थियो घर बनाउँदा बाटो मिच्न नदिने नियम। ‘त्यसबेला पनि मैले स्थानीयलाई कागज गराएर बाटो छाड्न लगाएँ ’, उनले सुनाए। नगरको बजेट त्यतिबेला पनि वर्षको ३ करोड रुपैयाँ पुर्या एको अनुभव उनीसँग छ। नगरविकासका लागि आवश्यक आयस्रोत के हुन सक्छ भनेर पाँचवटा नगरपालिकासँग मिलेर सम्मेलन गर्न पोखरा गएका थिए उनी। उनी नगरपालिका संघको अध्यक्षसमेत भए। तत्कालिन चुंगी करको भरमा पाटनले १७ दशमलव ४ प्रतिशत आयस्रोत पाउने गरेको थियो। त्यतिबेला नगरप्रमुखको हैसियतले काम गर्न निकै गाह्रो भएको अनुभव उनको छ। ‘त्यो बेला कर्मचारीलाई तलब खुवाउने रकमको अभाव हुन्थ्यो’, उनले भने।

उनले त्यतिबेला भित्री र बाहिरी रिङरोडको अवधारणासमेत बनाएका थिए। ‘तर आज पनि ती सपना पूरा गर्न नपाएको हुटहुटी मनमा छ’, उनले भने।१६ वर्षकै किशोर वयमा बीपी कोइरालाको हातबाट कांग्रेसको सदस्यता लिएको सुनाउँदै उनले सुझावसमेत दिए र भने, ‘सबैले दुःख गरेर हुर्काएको प्रजातन्त्र नाश नहोस्।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.