सरकारी स्वास्थ्यकर्मी निजी क्लिनिकमा

सरकारी स्वास्थ्यकर्मी निजी क्लिनिकमा

 

वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र नर्स अस्पताल प्रशासनलाई जानकारी नदिई अनुपस्थित हुने गरेका छन्। अस्पतालका अधिकांश चिकित्सक, सीएमए, अहेब, अनमी, स्टाफनर्स र अन्य शाखामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा नआई घर वा निजी क्लिनिकमा बसेर सरकारी तलब भत्ता लिँदै आएको खुलेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले केही दिनअघि अस्पतालमा अकस्मात् गरेको छड्केका क्रममा अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारी अनुपस्थित रहेको पाइयो।पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको निर्देशनमा जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत ठाकुरराम भण्डारीको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा छड्के गर्दा अस्पतालमा ५३ जनामध्ये २२ चिकित्सक मात्र उपस्थित भएका थिए।

यस्तै, १० जना स्टाफनर्स, १८ प्राविधिक कर्मचारी र ५ जना प्रशासन शाखाका कर्मचारी अस्पताल प्रशासनलाई जानकारी नगराई अस्पतालमा अनुपस्थित थिए।बिहान नौ बजेदेखि नै अस्पतालमा उपस्थित हुनुपर्नेमा १० बजे छड्के गर्दा अस्पताल प्रशासनबाट बिदा लिई र तालिममा गएकाबाहेक चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ६४ जना गयल (अनुपस्थित) थिए।

छड्के चेकका क्रममा अनुपस्थित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको हाजिरी रजिस्टरमा रातो मसी लगाइएको र उनीहरूलाई विभागीय कारबाही गरी त्यसको लिखित जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउन अस्पताल प्रशासनलाई पत्राचारसमेत गरिएको छ।

अस्पताल समयमा चिकित्सक र नर्सहरू नभेटिने गुनासो सेवाग्राहीबाट आएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा छड्के निरीक्षण गरिएको प्रशासनले जनाएको छ।‘अस्पतालको ड्युटी समयम पनि डाक्टर र नर्सहरू नभेटिने, ल्याबको रिपोर्ट चेक गराउन डाक्टरको निजी क्लिनिकमा धाउनुपर्नेजस्ता गुनासो बिरामी र सेवाग्राहीबाट दिनहुँ आइरहेको थियो, प्रजिअ सिंहले भने, ‘सोही गुनासोका आधारमा अस्पतालमा छड्के गरेका हौं।’

नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत अधिकांश चिकित्सकले वीरगन्जमा निजी क्लिनिक सञ्चालन गर्दै आएका छन्। केही चिकित्सक वीरगन्जका निजी अस्पताल र नर्सिङ होममा पनि कार्यरत छन्। यस्तै, अस्पतालका अधिकांश स्टाफ नर्स, अनमी, सीएमए र अहेबहरू पनि निजी क्लिनिक, अस्पताल र नर्सिङ होममा कार्यरत छन्।

निजी क्लिनिक सञ्चालन गरेका चिकित्सक बिहान-बेलुकीको समयमा मात्र नभई अस्पतालमा रहनुपर्ने बेला पनि निजी क्लिनिकमा व्यस्त रहने गरेका छन्।बिहान ९ देखि अपराह्न ५ बजेसम्म अस्पतालमै अनिवार्य बस्नुपर्ने भए पनि अधिकांश चिकित्सक बिहान ११ बजेपछि आउने र एक÷डेढ घण्टा मात्रै अस्तपतालमा बसेर निजी क्लिनिकतिरै जाने गरेका अस्पताल प्रशासनकै कर्मचारी बताउँछन्।

कतिपय चिकित्सक र नर्स भने महिनामा सात-आठ दिन मात्रै आएर महिनाभरिको हाजिर एकै पटक गरेर जाने गरेको पनि अस्पताल प्रशासनबाटै खुल्न आएको छ।

अस्पतालमा हाल सरकारका तर्फबाट प्रथम श्रेणी ११ औं तहका १५ जना, दोस्रो श्रेणी नवौं तहका २१ जना, तेस्रो श्रेणी आठौं तहका १३ जना तथा अस्पताल विकास समितितर्फका १३ गरी ६२ जना चिकित्सकको दरबन्दी छ।

स्टाफ नर्समा सरकारका तर्फबाट ४२ र अस्पताल विकास समितिका तर्फबाट चार गरी कुल ४६ जनाको दरबन्दी छ। यस्तै, अनमी आठ र २४ जना अहेबको दरबन्दी छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.