औद्योगिक ग्राम बन्ने भएपछि उद्यमी उत्साहित
दैलेख : औद्योगिक ग्राम स्थापना हुने भएपछि लघु उद्यमीमा उत्साह थपिएको छ । पहिलो पटक औद्योगिक ग्राम स्थापनाको थालनी गरिएसँगै लघु उद्यमीमा उत्साह थपिएको हो । कर्णाली प्रदेशको पहिलो औद्योगिक ग्राम दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजारमा स्थापना हुने र सो ग्राममा करिब एक सय लघु उद्यमी स्वरोजगार हुने देखिएको छ ।
विगतमा आ–आफ्नै घरआँगनमा लघु उद्यम संचालन गर्दै आएका उद्यमी अब औद्योगिक ग्राममा रहेर व्यवसायिक रुपमा सक्रिय हुने बताइएको छ । जिल्ला लघु उद्यमी संघका अध्यक्ष कविराज खत्रीले लघु उद्यमीको व्यवसायिक विकासमा टेवा पुर्याउने उदेश्यले संचालन गर्न लागिएको औद्योगिक ग्रामबाट समग्र उद्यमीमा उत्साह थपिएको बताए ।
खत्रीले ७ वर्षदेखीको प्रयास डुङ्गेश्वर गाउँपालिकाले पुरा गरेकोमा खुसी भएको बताए । पहिलो चरणमा उक्त ग्राममा ढाका उद्यम प्रशिक्षण केन्द्र स्थापनाका लागि संरचना निर्माण गर्ने र आगामी वर्ष केन्द्रमा प्रस्तावना पेश गरी अन्य पाँच उद्यम संचालनका लागि संरचना निर्माण गर्न बजेटको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय सुर्खेतको साझेदारी, जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको पहल तथा वडा कार्यालयको अगुवाइ तथा नेतृत्वमा औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिने भएको छ ।