भक्तपुर क्यान्सर अस्पतालमा १६ शय्या थप
भक्तपुर: भक्तपुर क्यान्सर अस्पतालमा १६ शय्या थप भएको छ । अस्पतालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले १६ शय्याको नवनिर्मित एनेक्स वार्ड उद्घाटन गरेकी हुन् ।
शय्या थप गरिएपछि अस्पताल एकसय ५१ शय्याको भएको छ । मंगलबार उद्घाटन गरिएको एनेक्स वार्डमा डे केयर, गाइने र हेड एण्ड नेकको छुट्टाछुट्टै वार्ड रहेका छन् ।
उक्त अवसरमा प्रदेश प्रमुख कोइरालाले क्यान्सर रोगको उपचार महंगो भएकाले रोग लागेपछि उपचारमा आउनेभन्दा रोगै लाग्न नदिनेतर्फ सबैले जोड दिनुपर्ने बताइन् ।
‘रोग लागेपछि उपचार गरेसँगै रोग नै लाग्न नदिनेतर्फ सबैले जोड दिनुपर्छ’, उनले भनिन्, ‘यसका लागि जनचेतनामूलक कार्यक्रम र रोग प्रतिरोधात्मक क्षेत्रमा बढी ध्यान दिनुपर्छ ।’
उनले नेपाली स्वास्थ्य क्षेत्रका लागि उपचार गर्न विदेश जाने प्रवृत्ति चुनौती भएको धारणा राखिन् । ‘उपचारको लागि विदेश जाने अवस्थाको अन्त्य गर्नेतर्फ जोड दिइनुपर्छ’, प्रदेश प्रमुख कोइरालाले थपिन्, ‘यसको लागि भएका स्वास्थ्य संस्थाहरुको सेवा सुविधा गुणस्तरीय बनाउनु आवश्यक छ ।’
त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले अस्पतालको सेवा विस्तार गर्न आवश्यक जग्गाजमिनको लागि भक्तपुरका नगरपालिकासँग समन्वय गर्न आग्रह गरे । क्यान्सर अस्पताल र अंग प्रत्यारोपण केन्द्र भक्तपुरकै पहिचान भइसकेकोले यसको गरिमालाई कायम राख्नुपर्ने उनको भनाइ थियो ।
नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले नेपालका अस्पतालहरु नेपालीको मात्रै हुन सकेको यहाँका नेता तथा मन्त्रीहरुको हुन नसकेको स्पष्ट पारे । उनले सामान्य उपचारको लागि विदेसिने नेता तथा मन्त्रीदेखि राष्ट्रपतिसम्म दबाब दिएर स्वदेशमै उपचार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुर क्यान्सर अस्पताल सार्वजनिक निजी साझेदारीको सफल उदाहरण भएको धारणा राखे ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले क्यान्सर उपचार महंगो भएकाले गरिब तथा विपन्न बिरामीहरुलाई दिँदै आएको अनुदान रकम एकलाखबाट पाँच लाख पु¥याउन माग गरे ।
अस्पतालका मेडिकल निर्देशक प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर अस्पतालले उपचारसँगै क्यान्सरका दक्ष चिकित्सक र नर्सहरु उत्पादनमा योगदान पु¥याउँदै आएको बताए । अस्पताललाई सेन्टर अफ एक्सिलेन्सी बनाउन आफूहरु लागिपरेको उनको भनाइ थियो ।
कार्यक्रममा अस्पतालमा पाँच वर्षभन्दा बढी कार्य गर्ने कर्मचारीसँगै अस्पतालको लागि आर्थिक तथा भौतिक सहयोग गर्ने महानुभाव तथा संघसंस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । अस्पतालमा ५३ विशेषज्ञ चिकित्सक, ९० जना नर्स, ४८ जना प्रशासनिक, ३१ प्राविधिकसहित कूल दुई सय ६६ जना कार्यरत छन् ।