फेरियो भरतपुर अस्पताल
भरतपुर : कुनै बेला सरकारी अस्पताल भनेपछि सर्वसाधारणले नाक खुम्च्याउने अस्पतालमा अहिले बिरामीको चाप थेगिनसक्नु छ। भरतपुर अस्पतालले गुणस्तरीय सेवासहितको उपचार सञ्चालन गरेपछि बिरामीको चाप बढ्न थालेको हो। गतवर्ष कात्तिकसम्म आफ्नै फार्मेसीसमेत चलाउन नसकेको अस्पतालमा अहिले दुईवटा फार्मेसी छन्।
बिरामीको सेवासुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। ‘अस्पतालले गुणस्तरीय सेवासँगै विशेषज्ञ सेवा सञ्चालनमा ल्याएपछि बिरामीमा विश्वास बढेको छ’, उनले भने। सरकारले सूचीकृत गरेको मिर्गौला डायलासिस, न्युरो सर्जरी, स्पाइनल इन्जुरी र मुटुरोग (सीटीभीएस सर्जरी) गरी चार प्रकारका विशेष सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएकाले यसप्रति बिरामीको विश्वास बढेको उनको भनाइ छ।
मिर्गाैला डायलासिसका लागि दुई हजार पाँच सय, न्युरो सर्जरी, स्पाइनल इन्जुरी, मुटुरोग सीटीभीएस सर्जरीका लागि एकएक लाख रुपैयाँसम्मको उपचार सेवा सरकारले सोधभर्ना गर्दै आएको उनले बताए। २०६८ सालबाट सुरू भएको स्पाइनल इन्जुरी सेवामा काभ्रेको साँगापछि भरतपुर अस्पताल नै अगाडि रहेको अस्पतालको दाबी छ। पछिल्लो समय अस्पतलले स्वास्थ्य बिमाको व्यवस्था गरेपछि बिरामीमा सकारात्मक प्रभाव परेको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले जानकारी दिए।
भदौबाट अस्पतालले स्वास्थ्य बिमा सुरु गरेको हो। हालसम्ममा एक लाखभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेको र तीमध्ये ११ हजार बिमितले उपचार सेवा लिइसकेको उनले बताए। अस्पतालमा औषधि सस्तो हुनु पनि बिरामीको चापमा बढ्नुको अर्को कारण भएको उनको भनाइ छ। अस्पतालका फार्मेसीमा सबै औषधि कम्पनीले तोकेभन्दा कम मूल्यमा पाइन्छ। ‘प्रत्येक औषधि ४० देखि ५० प्रतिशतसम्म सस्तो छ’, उनले भने।
गतवर्ष कात्तिकसम्म आफ्नै फार्मेसीसमेत चलाउन नसकेको अस्पतालमा अहिले दुईवटा फार्मेसी छन्।
सस्तो एवं गुणस्तरीय सेवा दिन सक्नु नै अस्पतालको सफलता रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए। वीर अस्पतालपछिको ठूलो अस्पतालका रूपमा विकास भइरहेको भरतपुर अस्पतालको सेवासुविधा बढाउन सरकारले गरिब विपन्न परिवारको उपचारको लागि छुट्याइएको बजेट वृद्धि गर्नुपर्ने उनको भनाइ छ। अघिल्लो वर्ष सरकारले ५५ लाख र यो वर्ष घटाएर जम्मा ४५ लाख रुपैयाँ मात्रै सोधभर्ना गरेको छ।
स्थानीय सरकार आइसकेपछि भने भरतपुर महानगरपालिकाले महिला तथा ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा निःशुल्क गरेको छ। ओपीडी सेवाबराबरको करिब ६० लाख रुपैयाँ महानगरले अस्पताललाई सोधभर्ना गरेको छ। तर ओपीडी टिकट लिन नसक्ने बिरामीका लागि सामाजिक सेवा इकाइबाटै निःशुल्क उपचार हुने भएकाले महानगरको यो कदम राम्रो लागे पनि सस्तो लोकप्रिय हुन मात्रै गरेजस्तो भइरहेको छ।
सरकारले ५५ लाख रुपैयाँ सोधभर्ना गरे पनि गतवर्ष अस्पतालले सामाजिक सेवा इकाइमार्फत एक करोड छ लाखबराबरको सेवा दिएको थियो।
दन्त उपचारमा अत्याधुनिक प्रविधि
सेवा विस्तारकै क्रममा रहेको भरतपुर अस्पतालले दन्त चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको मेसिन भिœयाएको छ। दाँतको उपचारका लागि सुविधासम्पन्न ‘डेन्टल चियर’ राखिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधासम्पन्न बनाइएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए। करिब ४० लाख रुपैयाँ लागतमा डेन्टल चियर राखिएको हो। फागुन १५ गतेबाट अस्पतालमा छवटा अत्याधुनिक डेन्टल चियर प्रयोगमा ल्याइएको उनले बताए।
यसबाट कम समयमै धेरै बिरामीको उपचार गर्न सकिने दन्त चिकित्सा विभागकी प्रमुख डा. सोनी सुवेदीले जानकारी दिइन्।