अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : व्यवहार बदलौं
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको १०८ औं संस्करण आज विश्वभर मनाइँदैछ। लैंगिक आधारमा मान्छेबीच हुने विभेदविरुद्ध थालिएको यो अभियानले आजसम्म आइपुग्दा संसारलाई महिलामैत्री बनाउन धेरै काम गरेको छ। तर धर्म, सम्प्रदाय, मूल्य र मान्यताका नाममा सदियौंदेखि लादिएका कतिपय विचार र आदतका कारण यति धेरै संघर्ष र अभियान चलाइँदा पनि महिलाप्रतिको विभेद जारी छ।
महिला आन्दोलनको पहिलो संगठित नेतृत्व गरेकी जर्मन नागरिक क्लारा जेटकिन महिलाको मुक्ति पुँजीवादको ध्वंसमा देख्थिन्। उनको युगको कुरा थियो त्यो। उनले त्यसो भनेको सय वर्ष नाघिसक्दा पनि पुँजीवादले आफूलाई कतिपय क्षेत्रमा सुधार गरेको छ। समान ज्यालाको माग राखेर आन्दोलन गरेको शताब्दी नाघ्दा पनि कतिपय स्थानमा महिला भएकै कारण ज्यालामा विभेद त छँदैछ, महिलामाथि हुने हिंसा अनेक क्षेत्रमा अनेक रूपमा कायम छन्। विचार, ज्ञान, ध्यान होस् या भौतिक वस्तु होस्, सबैथोक बेचेर शक्तिशाली हुने यो युगमा पुँजीवादले अनेक नाममा महिलालाई शोषण गरिरहेकै छ। पुँजीवादी उत्पादन प्रणालीले महिलालाई चुलाचौका, खेतबारी र घाँसस्याउलाबाट आज बजारमा ल्याएर उपयोग गरिरहेकै छ ।
विश्व महिला आन्दोलनको श्रीगणेश भएको तीन दशकपछि नेपालमा पनि महिलाविरुद्ध भएका तथा समाजका अन्य विभेदविरुद्ध योगमाया न्यौपाने र उनका ६ दर्जन समर्थकले नदीमा हेलिएर ज्यान फाले। राणा शासनकालमा नेपाली महिलाले गरेको त्यो स्तरको सचेत विद्रोह सम्भवतः विश्वकै नमुना थियो। तर महिला विद्रोह र आन्दोलनका यति लामो इतिहासको गौरव बोकेर पनि हाम्रो समाज अझै महिला हिंसाका डरलाग्दा खबर पढ्न विवश छ। बोक्सीको आरोप, बिहेमा पर्याप्त दाइजो नल्याएको निहुँ, प्रेम र विवाह प्रस्ताव स्वीकार नगरेका नाममा महिलामाथि अकल्पनीय हिंसा हुने गरेका छन्। त्यसो त स्वास्थ्यकर्मी र औषधि अभावमा दुर्गमका कतिपय सुत्केरीको अकालमा ज्यान जाने गरेको छ। साना नानीमाथि गरिने यौनहिंसा, बलात्कार र गर्भमा छोरी पहिचान भएकै कारण तिनको हत्या हुने प्रचलन कहालीलाग्दो छ।
यसका गम्भीर सामाजिक कारण छन् र तिनको पहिचान नगरी मातृजातिमाथि कायम विभेदको अन्त्य हुन सक्दैन। महिलामाथिको विभेदका कारण हजारौं वर्षदेखिको सामन्ती सत्ता हो। यस्तो सत्ताले सामाजिक, धार्मिक र राज्यसत्ताको नेतृत्व महिलालाई सुम्पन चाहेन। केही पूर्वीय पुराणमा नारीहरूले केन्द्रीय चरित्रका रूपमा भूमिका खेले पनि आजका दिनमा समेत महिलाको भूमिका सन्तानोत्पादन र घरभान्छामा बढी छ। उनले गर्ने बालबच्चा पोषण, शिक्षादीक्षामा सहयोग र घरधन्दाका सबै कामलाई अनुत्पादकका रूपमा व्याख्या गरिने गरिन्छ। जबकि महिलाको अभावमा सोही कामका लागि एउटा घरले ठूलो रकम खर्चनुपर्ने हुन्छ।
विज्ञानले महिला र पुरुषबीच कुनै पनि खालको भौतिक–मानसिक फरक नभएको पुष्टि गरिसक्दा र महिलाले पटकपटक विभिन्न क्षेत्रमा उदाहरणीय बनेर आफूलाई पुष्टि गरिसक्दा पनि महिलामाथिको निरन्तर विभेद संसारकै लागि सरमको विषय हो। शक्ति र सम्पत्तिले आधुनिक समाजमा सिर्जना गरेको विभेद त विश्वव्यापी छँदैछ, तर संसारलाई आँखा देखाउने मातृशक्तिप्रतिको विभेद निर्मूृल पार्न सक्नुपर्छ। लैंगिक समताको विषय महिलाको मात्रै होइन, सबै जागरुक मान्छेको साझा विषय हो। महिलामाथिको विभेद पुरुषका लागि पनि लज्जाको विषय हुँदै हो। विभेद अन्त्यका लागि महिलाको मात्रै होइन, पुरुषको भूमिका उत्तिकै अपेक्षित छ।