कौडीका भाउमा विद्यालयका सटर

कौडीका भाउमा विद्यालयका सटर

ललितपुर : पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयले भाडामा लगाएको ८ नम्बरको सटर लिएका छन् तुलसी डंगोलले। भाडाबापत मासिक २२ सय ५० रुपैयाँ विद्यालयलाई तिर्छन् उनी। ज्ञानलाल महर्जनले पनि ३ वटा सटर भाडामा लिएर प्रत्येकको २६ सय तिर्छन्।

सुष्मा कार्कीले भने ४५ सयमा एउटा सटर लिएकी छन्। पाटन माध्यमिक विद्यालयले २४ वटा सटर भाडामा लगाएको भए पनि सरकारबाट स्वीकृति नलिएको तथा सार्वजनिक रूपमा बोलपत्र आह्वान गरेको देखिँदैन।

प्रधानाध्यापक ईश्वरमान बज्राचार्यका अनुसार करिब ४० वर्ष पहिला विद्यालय सञ्चालनका लागि आर्थिक अभाव हुँदा ती सटर भाडामा लगाउन सुरु गरिएको हो।

तत्कालीन व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयले भाडामा लगाउन अनुमति दिएको भए पनि सञ्चालक आफंैले सटर निर्माण गर्ने सहमति भएको बज्राचार्यले बताए।

तत्कालीन व्यवस्थापन समितिको अध्यक्षमा चाकुपाटका चिरीबाबु महर्जन थिए भने प्रधानाध्यापक उनी आफैं थिए। उनले भने, ‘भाडामा लिनेहरू सबै स्थानीय भएकाले निर्णय गर्न सजिलो थिएन। भाडा बढाउने भन्यो भने उनीहरू विरोध गर्न आइपुग्थे।’

त्यतिबेला जेजस्तो निर्णय भए पनि चलनचल्तीभन्दा न्यून भाडा लिँदै आएको बज्राचार्यले स्विकारे। न्यून भाडा भएको विषयमा ५ वर्षपहिले बैठक बसेको र प्रत्येक वर्ष ५ प्रतिशत भाडा बढाउने निर्णय भएको उनले बताए।

ललितपुर महानगरको राजस्व प्रशासन महाशाखा प्रमुख दिल्लीराज शाक्यले भने, ‘महानगरले पाटनढोका एरियामा एक स्क्वायर फिटको ७० रुपैयाँ भाडा तोकेको छ। यो बजारभाउ त्योभन्दा धेरै हो।’

पाटन विद्यालयले ०७० साउन १ गतेदेखि ०७६ असार ३० गते सम्मको भाडाका लागि सहमति गरिसकेको छ, यद्यपि सहमति सकिएलगत्तै स्थानीय तहसँग मिलेर ती सटरलाई राम्ररी व्यवस्थापन गर्र्ने योजना भएको प्रधानाध्यापक बज्राचार्यले बताए। यो विद्यालय ९ रोपनी ५ आनामा बनेको छ।

पाटन माध्यमिक विद्यालयमा जस्तै लगनखेलस्थित नमुना मच्छिन्द्र स्कुलले पनि ९ वटा सटर भाडामा लगाउँदै आएको छ। लगनखेल एरिया व्यापारका लागि प्राइम लोकेसन मानिन्छ। यहाँ प्रतिस्क्वायर फिट सय रुपैयाँ भाडा महानगरले निर्धारण गरेको छ। यो ठाउँको बजारभाउ प्रतिस्क्वायर फिट ३ सय ५० देखि ४ सय रुपैयाँसम्म रहेको व्यापारी बताउँछन्। तर, विद्यालयले आफ्ना सटर ६ देखि १० हजारसम्म भाडामा दिएको छ। सोही क्षेत्रमा व्यापारीले एउटा सटरबापत २५ देखि ३५ हजार भाडा तिर्र्दै आएका छन्।

अति न्यून भाडा लिएर सरकारी सम्पत्ति दुरुपयोग गरिएको भए पनि प्रधानाध्यापक राधाकृष्ण केसीले यसलाई परिमार्जन गर्न चाहेको बताए। विद्यालयले पनि सार्वजनिक रूपमा टेन्डर खुलाएको थिएन। यद्यपि, अब कानुनसम्मत टेन्डर खुलाएर स्थानीय निकायसँग मिलेर काम गर्न चाहेको केसीले बताए।

उनले भने, ‘विद्यालयले २७ वर्ष पहिलादेखि भाडामा लगाउँदै आएको हो।’ तत्कालीन प्रधानाध्यापक नानुबाबा दवाडी र व्यवस्थापन समितिको अध्यक्ष विजय अर्यालको निर्णयमा २०६९ असार १ गतेदेखि ०७४ असार १ गतेसम्म ती व्यापारीलाई सञ्चालनका लागि अनुमति दिएको केसीले बताए।

केसीको अनुसार न्यून भाडा भएको विषयलाई लिएर अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीको पालामा (०६३) मा पुनर्विचार गर्न कमिटी गठन गरिएको थियो।

जुन कमिटीले भाडा निर्धारण गरी प्रतिवेदन बुझाएको थियो। त्यतिबेला ‘प्रत्येक स्क्वायर फिटको ४४ रुपैयाँबाट बढाएर ७० रुपैयाँ बनाइएको थियो।’

वार्षिक ६ प्रतिशत भाडा बढ्ने कुरा सहमति भएको थियो, केसीले भने।

यद्यपि, विद्यालयले भाडामा लगाएका सटरको म्याद असारमै सकिसकेको छ तर नवीकरण नगरी ती सटर सञ्चालनमा आइरहेका छन्।

जिल्ला शिक्षा कार्यालय ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्री कुनै पनि विद्यालयले मनोमानी ढंगले निर्णय गर्न नमिल्ने बताउँछन्।

उनले भने, ‘आर्थिक नियमावलीअनुसार चल्नुपर्छ, विद्यालयले छुट्टै नियम बनाउन पाइँदैन।’ यतिबेला जिल्ला शिक्षा कार्यालयलाई अधिकार नभएकाले समन्वय गर्न सक्ने तर यसको गतिविधि निर्वाचित जनप्रतिनिधिले खोज्नुपर्ने बताए।

पाटन, नमुना मच्छिन्द्र स्कुल प्रतिनिधि घटना मात्रै हुन्। तर, ललितपुरमा सरकारी सम्पत्तिको दुरुपयोग गर्ने विद्यालयको संख्या निकै ठूलो हुन सक्ने अभिभावकहरूको भनाइ छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.