१६ वडा स्वास्थ्यचाकीविहीन

१६ वडा स्वास्थ्यचाकीविहीन

बैतडी : जिल्लाको डिलासैनी गाउँपालिका–६ की कमला टेलर आफ्नो वडामा स्वास्थ्यचौकी नहुँदा दार्चुलाको गोकुलेश्वरबाट सेवा लिँदै आएकी छन्। ‘हाम्रो वडामा स्वास्थ्यचौकी नहुँदा हामीले सामान्य औषधि लिन पनि सीमावर्ती दार्चुलाको गोकुलेश्वरमा जानुपर्छ’, उनले भनिन्, ‘सरकारले दिने निःशुल्क औषधिमा पनि हाम्रो सहजै पहुँच छैन। वडा नं ५ मा रहेको स्वास्थ्यचौकीमा पुग्न एक घण्टा हिँड्नुपर्छ।’

उनले भनिन्, ‘सरकारले स्थानीय तहबाटै स्वास्थ्य सेवा दिने भने पनि हामीले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनौं।’

डिलासैनी–६ कै दीपक जोसी पनि आफ्नो वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नपाएको गुनासो गर्छन्। ‘टाढा गएर सेवा लिनु र आफ्नै वडामा सेवा लिनुको मज्जा बेग्लै हुन्छ।’

उनले भने, ‘सिंहदरबार गाउँमा आयो भने पनि व्यावहारिक रूपमा गाउँमा आउन सकेको छैन। गरिब नागरिकको अझै स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन। हाम्रा गाउँका महिलाले सुत्केरी सेवा लिन, गर्भचेक जाँच गराउन अर्को वडामा जानु परिरहेको छ।’

दशरथचन्द नगरपालिका–७ मा पनि स्वास्थ्यचौकी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष चक्रप्रसाद शर्माले बताए।

‘वडाको संरचना गर्दा हाम्रो वडामा एउटा पनि स्वास्थ्यचौकी परेको छैन। हामीले मेलौली नगरपालिका–२ मा रहेको स्वास्थ्यचौकीबाट सेवा लिनुपरिरहेको छ।’

उनले भने, ‘संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा राखेको छ। नागरिकको त्यो हक प्रत्याभूत गर्न गाह्रो भइरहेको छ।’

जिल्लाका ८४ वडा मध्ये १६ वडा स्वास्थ्यचौकीविहीन रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवनप्रसाद जोसीले बताए। उनले भने, ‘हाम्रो जिल्लामा साविक ६८ वटा स्वास्थ्य संस्था हुन्। नयाँ संरचनाअनुसार ८४ वडा भएका छन्। अहिले १६ वडामा स्वास्थ्यका संरचना छैनन्। स्वास्थ्यका संरचना नभएका ठाउँमा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ।’

सरकारले वडास्तरमा स्वास्थ्यचौकी निर्माण गर्ने नीति लिएको भए पनि स्वास्थ्यचौकीको नाममा जमिन भएका ठाउँमा मात्रै स्वास्थ्यचौकीका भवन निर्माण गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.गुणराज अवस्थीले बताए।

उनले भने, ‘वडामा स्वास्थ्यचौकीको भवन निर्माणका लागि ५ रोपनी जग्गा आवश्यक पर्छ। १६ वडामध्ये ४ वटाले जमिन उपलब्ध गराएका छन्।’

जमिन उपलब्ध भएका वडामा आगामी आर्थिक वर्षदेखि भवन निर्माणको काम सुरु हुने डा. अवस्थीले बताए।

‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचना पनि उत्तिकै आवश्यक छ। स्थानीय तहको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि भवन निर्माण गर्नुपर्छ। यसका लागि ५ रोपनी जमिन खोज्नुपर्छ।’

सरकारले पालिकास्तरमा पनि प्राथमिक अस्पताल निर्माण गर्ने नीति लिएको छ। त्यसका लागि १५ रोपनी जमिन आवश्यक पर्छ। १० स्थानीय तहमध्ये ४ वटाले मात्रै १५ रोपनी जमिन उपलब्ध गराएको छ। पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले १५ रोपनी जमिन उपलब्ध गराएको डा.अवस्थीले बताए।

 

पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी। जहाँ पाटन नगरपालिका ९ का स्थानीय पनि सेवा लिन आउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.