घुँडो अप्रेशन प्रकरण : दुर्इ चिकित्सक निलम्बित
काठमाडौं : देब्रे घुँडाको उपचार गर्न गएकी विन्दु पौडेलको दाहिने घुँडाको अप्रेसन गर्ने नर्भिक अस्पतालका चिकित्सकद्वय प्रवीण नेपाल र शैलेज रञ्जितकारलाई नेपाल मेडिकल काउन्सिलले एक महिनाका लागि निलम्बन गरेको छ।
चितवन, भरतपुरकी पौडेलको देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार गर्नुपर्नेमा चिकित्सकद्वय नेपाल र रञ्जितकारले फागुन ११ गते दायाँ घुँडाको अप्रेसन गरेका थिए। उनीहरूले चिकित्सक आचारसंहिताविपरीत काम गरेको काउन्सिलले जनाएको छ। काउन्सिल उच्च स्रोतले भन्यो, ‘तत्कालका लागि चिकित्सकद्वयलाई एक महिना निलम्बन गर्ने निर्णय गरिएको छ।’
काउन्सिलको इथिकल कमिटीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा निलम्बन गर्ने निर्णय गरिएको र पूर्ण प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्र्ने÷नगर्ने निर्णय लिइने स्रोतले बतायो। थप कारबाही गर्नुपर्ने अवस्था देखिए दर्ता खारेजीसमेत हुन सक्ने काउन्सिलका एक पदाधिकारीले बताए। निलम्बन अवधिभर उनीहरूले चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्।
काउन्सिलको इथिकल कमिटीले चिकित्सकद्वय नेपाल र रञ्जितकारसँग मौखिक एवं लिखित बयान लिनुका साथै विज्ञहरूको रायसमेतका आधारमा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो। अप्रेसन गर्नुअघि डा. नेपाल र रञ्जितकारले बिरामीका साथै आफ्नो सहयोगी टिमसँग समेत परामर्श नगरेको पाइएको छ। यस विषयमा पीडित पक्षले उजुरी नगरे पनि सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा काउन्सिलले छानबिन अघि बढाएको थियो।
अप्रेसनको भोलिपल्ट फागुन १२ गते अस्पताल र चिकित्सकद्वयले पीडित पक्षसँग सहमति गरेका थिए। काउन्सिलको इथिकल कमिटीसमक्ष पनि चिकित्सकद्वय नेपाल र रञ्जितकारले दायाँ घुँडामा पनि समस्या देखिएकाले अप्रेसन गरेको जिकिर गरेका थिए।
एउटा घुँडामा गर्नुपर्ने अप्रेसन अर्को घुँडामा गरेपछि पीडितका आफन्तले तत्कालै विरोध गरेका थिए। अप्रेसनमा संलग्न डा. नेपाल र रञ्जितकारले भूलवश मानवीय त्रुटि हुन गएको स्विकार्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।