प्रदेशस्तरीय क्रिकेटको उपाधि सुर्खेतलाई
सुर्खेतः वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा तीन विकेटले सुर्खेत विजयी भएको हो। पहिलो पटक भएको कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुकुमलाई पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो।
फाइनल खेलमा टस जितेर रुकुमले पहिले ब्याटिंग गर्दै एक सय १२ रन जोड्यो। जसमा दिनेश पुनले सर्वाधिक ५७ र महेश विष्टले १८ रनको योगदान गरेका थिए। बलिंगतर्फ सुर्खेतका ललित प्याकुरेलले चार विकेट लिन सफल भए। एक सय १३ रनको लक्ष्य सुर्खेतले १८ औं ओभरमा सात विकेट गुमाएर भेटाएको थियो।
सुर्खेतका लागि निश्चल रावलले २९ र सन्देश रावतले २४ रनको योगदान दिए। उक्त खेलको म्यान अफ दि म्याच सुर्खेतका ललित प्याकुरेल भएका छन्। यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिज सुर्खेतका रविन्द्रजंग शाही भए।
त्यसैगरी उत्कृष्ट बलर रुकुमका विवश गिरी र उत्कृष्ट ब्याटस्म्यान सुर्खेतका निश्चल रावल भएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए।
सुर्खेत जिल्ला क्रिकेट संघले आयोजना गरेको पहिलोपटक आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो। एक सातासम्म संचालन भएको प्रतियोगिताले कर्णालीमा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पहिलो पटक भएको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताले यो क्षेत्रमा क्रिकेटको विकासमा टेवा पुग्ने खेलाडीहरुको भनाइ छ।