रोजाइमा राइटिङ

रोजाइमा राइटिङ

भरत भट्टराईले बोर्डिङ स्कुलको पुस्तक लेख्न थालेको झन्डै आठ वर्ष पुग्यो। २०६७ सालदेखि पुस्तक लेखनमै छन्, उनी। ‘कक्षा १ देखि १० कक्षा सम्मका किताब लेख्छु,’ उनले भने। इङ्लिस ग्रामरको १/७ सम्मको र इङ्लिस लिट्रेचरको १–१० सम्मको ‘कोर्सबुक’ लेख्छन्। यसका लागि दैनिक दुई/तीन घन्टा जति खर्च हुन्छ उनको। भट्टराई भन्छन्– लेखनमा दिनको दुईतीन घन्टा मेहनत गर्दा पनि मासिक ४०/५० हजार कमाइ हुन्छ।

आफूले लेखेको पुस्तक प्रकाशनका लागि उनले दुई तीनवटा उपाय देखेका छन्। ‘पहिलो उपाय भनेको प्रकाशकसँग सम्झौता गर्ने र रोयल्टी लिएर पुस्तक लेख्ने,’ उनले भने, ‘त्यस्तै, अर्को उपाय भनेको ‘कपिराइट’ लिएर आफूले लेखेको पुस्तक प्रकाशकलाई दिने।’ उनी दुवै तरिका अपनाउँछन्।

कोर्सबुक लेख्दा सुरु–सुरुमा अलि मेहनत गर्नुपर्ने बताउँछन्, भट्टराई। भन्छन्– लेखन शिल्प, ज्ञान, विषयवस्तुमा दक्खल, स्कुल पढाएको हुनुपर्नेजस्ता योग्यता पुगेपछि यो क्षेत्र रोज्न सक्छौं।

राइटिङ क्षेत्रमा आउनेहरू धेरै छन्। भट्टराई त कोर्सबुक लेख्ने भए। साहित्यिक लेखनदेखि एनजीओका रिपोर्ट बनाउनेहरू पनि राइटिङ क्षेत्रमा राम्रै अवसर देख्छन्। सन्तोषजनक पैसा कमाइ हुने बताउँछन्। खुसीसाथ जिन्दगी बिताउन सकिने सुनाउँछन्।

राइटिङका प्रकृतिहरू फरक–फरक छन्। लेख्नु नै पर्ने भए पनि विषयवस्तु भिन्न हुन्छन्। क्षेत्रअनुसार लेख्ने भन्ने तरिका आ–आफ्नै छन्। विषयअनुसारको योग्यता हुने हो भने ‘राइटिङ’ क्षेत्रबाट सुरक्षित जिन्दगी जिउन सकिने बताउँछन्, लेखकहरू।

‘संस्थासँग आबद्ध भएर काम गर्ने हो भने एनजीओको रिपोर्ट नै बनाएर पनि भविष्य बनाउन सकिन्छ,’ केही समयदेखि एनजीओको रिपोर्ट बनाइरहेका डम्बर भट्ट बताउँछन्। ज्ञानेश्वर बस्दै आएका भट्ट केही समयदेखि ‘एक्सपर्ट’ को रूपमा यो क्षेत्रमा लागिरहेका छन्। साथै, शिक्षण पेसामा पनि आबद्ध छन्।

एनजीओको रिपोर्ट बनाउँदा दुई/तीन तहमा काम पूरा हुने बताउँछन् उनी। एउटा रिपोर्ट तयार पार्न अनुसन्धानदाता (ग्राउन्डमा गएर रिसर्च गर्नेहरू), ‘सुपरभाइजर’, ‘एक्सपर्ट’, ‘टिम लिडर’ जस्ता विभिन्न पोस्टमा खटिएर संयुक्त रूपमा काम गर्छन्। कुनै रिपोर्ट बनाउन लामो समय लाग्छ। कहिलेकाहीँ एक हप्तामै पनि सकिएको उदाहरण पनि छन् उनीसँग। ‘पैसा चाहिँ काम हेरेर निर्धारण हुन्छ,’ भट्टले भने।

लेखनको अर्को एउटा आयाम छ, साहित्य। ‘उर्गेनको घोडा’ र ‘माङ्गेना : नेपाल मन्थन’का लेखक युग पाठक लेखन कर्ममा लागेको झन्डै एक दशक बित्यो। ‘समाजसँग अन्तरक्रिया गर्न र समाजलाई अभिव्यक्त गर्न लेखनमा आएको हुँ,’ पाठक भन्छन्।

‘जुन लेखनमा म छु त्यहाँबाट पैसा चाहिँ खासै हुँदैन,’ पाठकले भने, ‘नेपालमा मात्र हैन। संसारभर हुने नै यस्तै हो।’ एकाध व्यक्ति मात्रै लेखनबाट मालामाल हुने भए पनि सम्पूर्ण लेखकको भने त्यो स्थिति नहुने बताउँछन् उनी। भन्छन्, ‘समाजको बृहत् हिस्सासँग अन्तरक्रिया गर्न सक्दा ‘सेलिब्रिटी’ बनिए पनि कमाइ चाहिँ एकदमै कम हुन्छ।’      

सुरक्षित जिन्दगी

‘एक्सपर्टको रूपमा काम गर्नेहरूले दैनिक पाँच देखि १५ हजारसम्म कमाउन सक्छन्,’ भट्ट भन्छन्। तर, प्रोजेक्टअनुसार पैसा फरक पर्ने गरेको उनको अनुभवले बताउँछ। के काम गर्न लागेको, काम गर्न कति समय लाग्ने जस्ता कुराले पारि श्रमिकमा निर्धारण हुने सुनाउँछन्, उनी। भन्छन्, ‘मेहनत चाहिन्छ। यो क्षेत्रमा जाँगर चलाएर काम गर्ने हो भने भविष्यबारे चिन्ता लिनु पर्दैन।’

विभिन्न क्षेत्रमाथि रिपोर्ट बनाउनुपर्ने हुँदा त्यहीअनुसारको क्षमता पनि विकास गर्नुपर्ने भट्टको सुझाब छ। दक्ष भयो भने मात्र राम्रोसँग काम गर्न सकिन्छ। अनुसन्धान गर्न सक्ने र त्यसलाई लिएर रिपोर्ट तयार पार्न सक्ने क्षमताको विकास गरिएमा यो क्षेत्रमा राम्रो सम्भावना देख्छन् उनी।

सम्भावना रिपोर्ट बनाउनेमा मात्र हैन ‘घोष्ट राइटिङ’मा पनि देख्छिन्, निशा रुम्बा। घोष्ट राइटरहरूले अरूको पुस्तक लेखिदिन सहयोग गर्छन्। (मानौं, कसैलाई आत्मकथा निकाल्न मन छ भने घोष्ट राइटरहरूले उसको बारेमा अध्ययन/अनुसन्धान गरेर लेखिदिन्छन्।) विगत दुई वर्षदेखि रुम्बा यो क्षेत्रमा क्रियाशील छिन्। भन्छिन्, ‘लेखनका सबै क्षेत्रमा करियर देख्छु। घोष्ट राइटिङमा पनि छ।’

नियमित काम गरिरहने हो भने घोष्ट राइटिङबाट राम्रै आम्दानी गर्न सकिने निशाको अनुभव छ। कसको किताबमा काम गरेको, के गरेको, कति समय लाग्यो भन्ने जस्ता कुराले पारि श्रमिक निर्धारण हुने बताउँछिन्, उनी। भन्छिन्, ‘अफिसमा पुस्तकको काम आइरहेको हुन्छ। लगातार काम गरिहँदा त रामै्र पैसा आउँछ। तर, कहिलेकाहीँ ‘मुड’ हुँदैन र काम गर्दैनौं।’

मासिक २५/३० हजार रुपैयाँ लेखेरै कमाउन सकिने बताउँछिन् रुम्बा। कहिलेकाहीँ त्यो भन्दा बढी हुन्छ। त्यसो त अनुभव/योग्यताअनुसार पैसा पनि बढ्दै जाने उनले बताइन्।

रुम्बाले अहिलेसम्म दुई वटा पुस्तक पूर्ण रूपमा सक्काएकी छिन्। इन्टरभ्यु लिने, ट्रान्सक्राइब गर्ने, के कुरा पुस्तकमा राख्ने, के कुरा हटाउनेजस्ता सबै काम उनी आफैं गर्छिन्। साथीहरूसँग मिलेर उनले धेरै पुस्तकमा काम गरिसकेकी छिन्। काममा ‘प्रेसर’ पनि नहुने बताउँछिन्, रुम्बा। भन्छिन्, ‘मेहनत नै नपर्ने भन्ने त हुँदैन। तर, मजा लिएरै काम गर्न सकिन्छ।’

क्षमताको आवश्यकता

‘कसै–कसैको पुस्तक लेख्दा अनुसन्धान गर्नुपर्छ। रेकर्डिङ गर्नुपर्छ। रेकर्डिङलाई शब्दमा उतार्नुपर्छ,’ क्षमताको चाहिने कुरालाई जोड दिँदै रुम्बाले भनिन्। अरूको बारे पुस्तक लेख्न सर्वप्रथम आफैंसँग पुस्तक लेखनसम्बन्धी ज्ञान हुनुपर्ने उनी बताउँछिन्।

दक्षिणकाली घर भएकी रुम्बाको सानैदेखि साहित्यमा रुचि थियो। कहिलेकाहीँ कथा, कविता लेख्थिन्। अहिले आरआर कलेजमा एमए पढ्दै छिन् उनी। ‘लेखन क्षेत्र मन पर्ने भएकाले काम पनि यसैमा गरेँ,’ उनले भनिन्।

क्षमता नै नहुने हो भने रोजेको क्षेत्रमा करियर बनाउन कठिन हुने बताउँछन् लेखकहरू। ‘स्कुलका पुस्तक लेख्ने हो भने सबैभन्दा पहिला तपाईंले स्कुललाई पूर्ण रूपमा बुझ्नुपर्छ,’ भट्टराई भन्छन्। मान्छे सिर्जनशील पनि हुनुपर्ने बताउँछन् उनी। नयाँ पुस्ताले बोर्डिङ स्कुलका पुस्तक झनै राम्रोसँग लेख्न सक्ने बताउँछन् उनी। भन्छन्, ‘अहिलेको पुस्ता प्रविधिसँग नजिक छ। प्रविधि र अन्य ज्ञानलाई जोडेर उपयुक्त पुस्तकको बनाउन सकिन्छ।’

कोर्सबुक लेख्नका लागि अहिलेसम्म कस्ता ‘कन्टेन्ट’ दिइँदै आएको छ थाहा हुनुपर्‍यो। ज्ञानको आवश्यक पर्ने कुरा त छँदै छ। ज्ञान र आत्मविश्वास मिलाएर लेखनकार्यमा आउने हो भने अन्य क्षेत्रमा जस्तै यसबाट पनि राम्रो फाइदा लिन सकिने ठान्छन् उनी।

लेखन क्षमताको विकास गर्न सकिएमा अन्य क्षेत्रमा जस्तै यसमा पनि आफ्नो करियर निर्माण गर्न सकिने बताउँछन्, लेखकहरू। लेखाइका क्षेत्रहरू भिन्नभिन्न छन्। तर, लेख्नु नै प्रथम काम हो। रिपोर्ट लेख्नुस् वा उपन्यास, कोर्सबुक लेख्नुस् वा समाचार, अवसर छँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.