हवाई सुरक्षा : छानबिन कर्मकाण्डी नहोस्

हवाई सुरक्षा : छानबिन कर्मकाण्डी नहोस्

सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएपछि फेरि एक पटक हवाई सुरक्षा गम्भीर बहसको विषय बनेको छ। जब–जब विमान दुर्घटना हुन्छ, असुरक्षित नेपाली अकाश विमर्शको विषय बन्छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिन्छन्। समितिले निश्चित समयमा प्रतिवेदन दिन्छ। प्रायसः प्रतिवेदनमा मानवीय त्रुटि औंल्याइन्छ। एउटा कर्मकाण्डी प्रक्रिया पूरा भएपछि हवाई सुरक्षाजस्तो संवेदनशील विषय त्यसउप्रान्त सरकारको प्राथमिकतामा खासै पर्दैन।

सोमबारको दुःखद दुर्घटनापछि हवाई सुरक्षा केन्द्रीय प्रश्न भएको छ। सबैको चासो यसमा छ। सरकारले तत्काल पूर्व पर्यटन समिति यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय छानबिन समिति बनाएको छ र छिटो तथ्य सहितको प्रतिवेदन बुझाउन निर्देश गरेको छ। यस्तो संवेदनशील विषयमा सरकारले तत्काल कदम चाल्नु सकारात्मक हो। यद्यपि, विगतका नजिर हेर्ने हो भने यस्ता छानबिन समिति र तिनका प्रतिवेदन नितान्त औपचारिक प्रक्रियाकै बन्दी भएका छन्। त्यस्तो जोखिम यसपटक पनि छ। त्यसर्थ अहिल्यै भन्नुपर्ने हुन्छ, सरकारले छानबिन समितिलाई कर्मकाण्डी मात्रै नबनाओस्। यसले निकालेका निष्कर्ष र हवाई सुरक्षामा अपनाउन सुझाएका सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा लैजान सकोस्।

हवाई दुर्घटनासँग सम्बन्धित धेरै प्रतिवेदनले मानवीय त्रुटि खासगरी पाइलटको गल्तीलाई औंल्याउने गरेको पाइन्छ। सोमबारको दुर्घटनामा पनि ‘पाइलटकै त्रुटि’ भएको दाबी त्रिभुवन विमानस्थल कार्यालयको छ। कार्यालयले पाइलटले एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटना भएको दाबी गरेको छ। एयर ट्राफिकले दक्षिणतर्फबाट अवतरण गर्न निर्देशन दिँदादिँदै पाइलटले अटेरी गरेकाले दुर्घटना भएको दाबी विमानस्थल कार्यालयको छ। मानवीय त्रुटि मात्रै यो दुर्घटनाको कारक हो वा अन्य प्राविधिक समस्या पनि जहाजमा थियो ? वा एयर ट्राफिक र पाइलटबीचको समन्वयमा केही त्रुटि थियो कि ? अथवा अरू केही कारण पनि यस दुर्घटनाका पछाडि छन्। सबै पक्षबाट गम्भीर अध्ययन गर्दै समितिले छानबिन गर्नु आवश्यक छ। यो घटनाले फेरि एकपटक घना बस्तीबीच विमानस्थल हुनुको जोखिमलाई उजागर गरेको छ। यसतर्फ पनि समिति र सरकारको ध्यान जानु जरुरी छ।

नेपालमा भएको घरेलु र अन्तर्राष्ट्रिय हवाई दुर्घटनाका दौरान थुपै्र मानिसको ज्यान गइसकेको छ। ६ अक्टोबर १९७३ मा पहिलो पटक नेपाल वायुसेवा निगमको डी एच सी सिक्स ट्वीनअटर जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन यात्रु र चालक दलका तीन सदस्य घाइते भएका थिए। त्यसयता पटक पटक भएका दुर्घटनामा ५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। ३१ जुलाई १९९२ मा थाई एयरलाइन्सको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गयो। त्यो नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना थियो। २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्स दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो। अहिले यूएस बंगलाको अर्को अन्तर्राष्ट्रिय विमान दुर्घटनामा कम्तीमा ४९ जनाले ज्यान गुमाए।

घरेलु वा अन्तर्राष्ट्रिय विमान दुर्घटनाले नेपाली आकाशको असुरक्षालाई मात्रै उजागर गर्दैन, यसले मुलुकको पर्यटन उद्योगमा गम्भीर असर पर्न सक्छ। उसै त नेपाली आकाश असुरक्षित भनी विश्वमै नकारात्मक सन्देश प्रवाह भइरहँदा यस्ता दुर्घटनाले यस सेवाप्रतिको विश्वसनीयतामाथि पनि थप प्रश्न उठ्छ। जसको असर अन्ततः नेपाली अर्थतन्त्रमै पर्छ। त्यसकारण पनि नेपाली आकाशका असुरक्षाका मुद्दा सम्बोधित हुन आवश्यक छ। छानबिन समितिले दुर्घटनाको कारण पहिल्याउँदै हवाई सेवाको जोखिम न्यून गर्ने उपाय सुझाउनु आवश्यक छ। सरकारले हवाई सेवालाई जोखिमरहित, सुरक्षित र भरपर्दो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नु जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.