विमान दुर्घटनाः डा. बालकृष्ण अब कहिल्यै फर्किँदैनन्
काठमाडौँः त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग अगाडि न्युरो सर्जन डा. बालकृष्ण थापाको हुलियासहितको विवरण बुझाउँदै गर्दा भाइ रामकृष्ण पटक–पटक भक्कानिए । घरमा रुद्री पूजा गरेर बंगलादेशको राजधानी ढाका गएका डा. थापा स्वदेश फर्किएपछि भूकम्पमा भत्केको काभ्रेस्थित घर बनाउने योजनामा थिए, अब उनको त्यो योजना सदाका लागि अधुरै रह्यो ।
युएस बंगला एयरलाइन्सको विमानबाट सोमबार स्वदेश फर्कंदै गरेका थापाको त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा निधन भयो । आँसु पुछ्दै दाजुको हुलिया विवरण भर्दै गरेका ४६ वर्षीय थापालाई डिएसपी आर थापाले सहयोग गरिरहेका थिए । दाजुभाइबीच चार वर्ष मात्र फरक भएका कारण उनीहरु साथीझैं व्यवहार गर्थे ।
थापाले दाजुको स्वभाव सरल भएको उल्लेख गर्दै भने, ‘घरपरिवार, साथीभाइ, विरामी सबैसँग राम्रो सम्बन्ध थियो । सबैको प्रिय हुनुहुन्थ्यो। ’ थापाको असामयिक मृत्यु भएको खबरले विरामीसँगै चिकित्सकहरु पनि स्तब्ध भएका छन् । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा जगदीश प्रसाद अग्रवालले भने,‘ स्तब्ध भएको छुँ । प्रतिभावान न्युरो सर्जन गुमाउनु पर्यो ।’
चिकित्सा क्षेत्रको उज्वल नक्षत्र अस्ताएपछि उनका सहकर्मी, शिक्षक र विद्यार्थी समेत शोकाकुल छन् । थापाका ७४ वर्षीय बुवा शोकमा डुबेका छन् । पत्नी गुमाएको पाँच वर्षपछि उनले जेठो छोरालाई पनि गुमाउनु पर्यो ।
सधैँ अब्बल बालकृष्ण
मध्यम परिवारमा काभ्रेको कुशादेवी–३ मा २०२४ साल माघमा जन्मिएका थापा सानैदेखि मेधावी थिए । कुशादेवी माध्यमिक विद्यालयका हरेक कक्षामा उनी सधैँ प्रथम भइरहे । एसएलसीमा ७४ प्रतिशत ल्याएर प्रथम श्रेणीमै उत्तीर्ण गरेका थिए । सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट उनले एमबीबीएस गरे । उनी एमबीबीएसमा पनि नेपाल प्रथम भए । भाइ रामकृष्णले भने, ‘पढाईमा तीक्ष्ण हुनुहुन्थ्यो । एमबीबीएसमा आठ गोल्ड मेडल पाउनुभएको थियो ।’
'थापाका ७४ वर्षीय बुवा शोकमा डुबेका छन् । पत्नी गुमाएको पाँच वर्षपछि उनले जेठो छोरालाई पनि गुमाउनु पर्यो'
थापाले बंगलादेशबाट न्युरोमा एमएस गरेका थिए । उनी चिकित्सक संघका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव पनि हुन् । उनको पछिल्लो कार्यक्षेत्र राजधानी बाहिर थियो । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वरिष्ठ न्युरो सर्जनका रुपमा उनी कार्यरत थिए ।
साहित्यप्रेमी थापाले कवितासंग्रह समेत प्रकाशन गरेका छन् । उनका एक भाइ र बहिनी छन् । छोरा संघर्ष र छोरी इरादा अष्ट्रेलियामा छन् । दुवैजना बुधबार काठमाडौं आउने तयारीमा छन् । पति गुमाएसँगै पत्नी सुमित्रा शोकमा डुबेकी छिन् ।