चिकित्सक बिरामी सम्बन्ध

चिकित्सक बिरामी सम्बन्ध

बिरामीको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै चिकित्सकमाथि हातपात र स्वास्थ्य संस्थामा तोडफोड गर्ने क्रम मुलुकमा केही वर्षयता बढ्दै गइरहेको छ। सोही कारण स्वास्थ्यकर्मी र अस्पताल सुरक्षाका लागि भन्दैै २०६६ मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ल्याइयो। तर त्यसपछि पनि यस्ता घटना दोहोरिइरहेका छन्। चिकित्सकमाथि हातपात हुनु र स्वास्थ्य संस्थामा आक्रमण हुनु दुःखद् हो। यस्ता अनुचित क्रियाकलापका कारण पनि खोजिनुपर्छ।

उसो त मुलुकमा बढ्दै गइरहेको दण्डहीनताकै कारण पनि यस्ता क्रियाकलाप बढेका हुन सक्छन्। तर बिरामी र बिरामीका आफन्तले चिकित्सक र अस्पतालबाट उपचारका क्रममा भएका भनी लगाएका सबै आरोप गलत हुन् भन्न भने सकिँदैन। स्वास्थ्यकर्मीहरूले उपचाररत बिरामीसँग झर्किएर बोल्ने, सम्मानपूर्वक व्यवहार नगर्ने गरेको सबैले देख्दै र भोग्दै आएका हुन्। तर सबै स्वास्थ्यकर्मी बिरामीसँग राम्रो व्यवहार गर्दैनन् भन्न खोजिएको होइन। स्रोत र साधनको अभाव हुँदाहुँदै पनि बिरामीसँग राम्रो र मायालु व्यवहार गर्ने स्वास्थ्यकर्मीहरू छन् हाम्रा स्वास्थ्य संस्थाहरूमा।

स्वास्थ्योपचारका क्रममा चिकित्सकले बिरामीलाई गर्ने व्यवहारले ठूलो अर्थ राख्छ। शारीरिक समस्याको उपचारमा मनोवैज्ञानिक पक्ष उत्तिकै महŒवपूर्ण हुन्छ। उपचारका क्रममा स्वास्थ्यकर्मीले सद्भाव र सहानुभूतिको व्यवहार गर्दा त्यसले उपचारमा धेरै सकारात्मक प्रभाव पार्छ। बिरामीप्रति चिकित्सकको गलत व्यवहारले चिकित्सक, सेवाप्रदायक संस्थाप्रति नै अविश्वास पैदा हुन सक्छ। त्यसले समग्र उपचारलाई कम प्रभावकारी बनाउने सम्भावना पनि हुन्छ। चिकित्सा र मनोविज्ञानका अध्ययनहरूले चिकित्सक र बिरामीबीचको सकारात्मक सम्बन्धको महत्व देखाएका छन्। स्वास्थ्यकर्मीले बिरामी र आफन्तप्रति उचित व्यवहार नगर्नुको कारण पाठ्यक्रममा यस्तो विषय नहुनु वा उचित तालिमको अभाव हुन सक्छ। यस्तो हो भने त्यस्ता उचित व्यवहारसम्बन्धी पाठ्यसामग्री पाठ्यक्रममा राखेर वा उचित तालिम दिएर स्वास्थ्यकर्मीको व्यवहार सुधार्न सकिन्छ। चिकित्साजस्तो संवेदनशील क्षेत्रमा यस्तो अध्ययन र तालिम कुनै न कुनै रूपमा अवश्य हुनुपर्ने हो।

अहिलेको सन्दर्भमा स्वास्थ्यकर्मी र बिरामीका सम्बन्धमा दूरी बढाउने मुख्य कारक स्वास्थ्य क्षेत्रको अनियन्त्रित निजीकरण हो जस्तो देखिन्छ। स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अनियन्त्रित प्रवेशपछि यो क्षेत्र सेवामुखीभन्दा पनि नाफामुखी व्यवसाय बन्न पुगेको छ। आधुनिक सेवासुविधा भएका निजी अस्पतालमा आर्थिक रूपमा सम्पन्नले मात्र सुविधा लिन सक्छन्। यसले गर्दा गरिब तथा मध्यम वर्गका जनताले स्वास्थ्य सेवा लिने सरकारी अस्पतालमा नीतिनिर्माण तहमा बस्नेको ध्यान पुग्न सकेको छैन। मूलतः ती अस्पतालमा आउनेले नै राम्रो सेवा नपाउने र स्वास्थ्यकर्मीबाट उचित व्यवहार नपाएका हुन्। निजी क्षेत्रका स्वास्थ्य क्षेत्रमा पनि बिरामीले भरपर्दो सेवा पाउन मुस्किल हुँदै गइरहेको छ। स्वास्थ्यकर्मी र बिरामी सम्बन्धमा नाफामुखी प्रवृत्ति हावी भएकै कारण बिरामीलाई बजारको सामान झैं व्यवहार भएको पनि हुन सक्छ।

डाक्टरको संख्या कम भएर र स्तरीय उपकरणका अभावका कारण पनि बिरामीको उपचारमा केही समस्या हुने गरेको नाम चलेका केही डाक्टरले बताउने गरेकै छन्। यस्ता तर्क मननीय नै छ। जे भए पनि चिकित्सक र अन्य स्वास्थ्यकर्मीले बिरामीलाई मानवीय र उचित व्यवहार गर्नैपर्छ। यो उनीहरूको पेसागत धर्म हो। नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक हक मानेको छ र यो मान्यतालाई व्यवहारमा अनुवाद गर्न पनि बिरामीप्रति स्वास्थ्यकर्मीको राम्रो व्यवहार अपेक्षित छ। बिरामी र बिरामीका आफन्तले सबै कुरा नबुझी स्वास्थ्योपचारका क्रममा देखिने सबै समस्या र जटिलताको दोष चिकित्सकलाई देखाउनु मुनासिब नभए पनि आफूले हासिल गरेको ज्ञानलाई स्वास्थ्यकर्मीले असल अभ्यासमा उतार्नैपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.