आर्थिक अभावले डिप्रेसनमा पत्रकार : नौ दिनमा दुईको आत्महत्या
धनगढी : 'जिन्दगी सोचेजस्तो कहाँ हुन्छ र, यता सोझ्यायो उता बांगो, उता सोझ्यायो यता बांगो 'अली कम्बर बांगो पारिएको तस्बिरसँगै अछामको मंगलसेनमा रहेको रेडियो सोसाइटीमा कार्यरत पत्रकार खकेन्द्र परियारले फागुन ३ गते फेसबुकमा स्टाटस लेखे।
त्यसको झण्डै चार दिन पछि अथवा फागुन ७ गते उनले फेरि अर्को पोष्ट गरे,‘जीन्दगीमा धेरै ठक्कर खाइयो, कुन मोडमा कसरी कहाँ ढलिन्छ थाहा छैन, साथीसँगको सेल्फी सहित।' उनको जीन्दगीप्रतिको वितृष्णा फागुनको पहिलो हप्तादेखि नै सुरु भइसकेको थियो।
उनको जीन्दगीको अन्तिम फेसबुक पोष्ट थियो ‘जीन्दगीमा नत आफू खुसी भए, न आमा, बुवा, भाइ र बहिनीको लागि केही गर्न सके। उनीहरुका केही आशा र इच्छा हुँदा हुन, मैले केही गर्न सकिनँ। जीन्दगीमा धेरै अप्ठेरा मोडहरु आए तर मसँग ती मोडहरु सहज बनाउने कुनै उपाय थिएन। त्यसैले मैले यो जीन्दगी अगाडि बढाउनुभन्दा यत्तिकैमा रोक्न बेस ठाने। चीर परिचित सम्पूर्ण आत्मीय साथीहरुलाई धेरै माया, अनी सम्झना। म यो दोष कसैलाई दिन चाहन्न। मेरो भाग्यमा यस्तै लेखेको रैछ।मेरो अन्तीम इच्छा पूरा हुँदैछ, खकेन्द्र।'
फागुन १६ गते राती ११ बजे ११ मिनेटमा खकेन्द्रले आफ्नो जीवनको अन्तिम यो स्टाटस पोष्ट गरे। त्यही राति आफूले काम गर्ने रेडियो सोसाइटी भएको स्थानदेखि झण्डै डेढ घण्टाको दुरीमा रहेको मंगलसेन नगरपालिका ५ मा पर्ने सामुदायीक बनमा रुखमा पासो लगाइ आत्महत्या गरे।
खकेन्द्रको घरमा ११ महिनाको छोरा र श्रीमती छन्। उनका बा,आमा र दुई भाइ पनि छन्। सुन्दर परिवार छोडेर राति ११ बजेसम्म रेडियोमा काम गरेर उनले मध्य राति आफ्नै कमिज र तौलियाको पासो बनाइ आत्महत्या गरे। प्रहरीले पत्रकार खकेन्द्रको पर्समा सुसाइट नोट पनि फेला पारेको छ। उनले सुसाइट नोटमा आत्महत्याको दोष कसैलाई नदिइ आफ्नै भाग्यलाई दिएको कुरा सँगै काम गर्ने अछाम रेडियो सोसाइटीका सञ्चालक ध्रुव परियारले बताए। 'मैले खान बस्न दिएर १३ हजार तलब पनि दिएको थिए, त्यसको डकुमेन्ट पनि छ मसँग, उनले भने। ‘तर पछिल्लो समय पत्रकारको तलब कम हुन्छ, आर्थिक अवस्था कमजोर भएकाले आत्महत्या गरिएको कुरा फैलिएको छ, मलाई त्यस्तो लाग्दैन।'
अछामका पत्रकारहरु खकेन्द्र सारै मिलनसार र मेहनती रहेको बताउँछन्। उनी कार्यक्रम चलाउने, समाचार पढने र रेडियोमा लेखाको काम पनि हेर्ने गर्थे। परिवारमा जेठो छोरोले आत्महत्या गरेपछि परिवार सोकमा परेको छ। मंगलबार उनको १३ औं पूण्यतीथि मनाइएको छ।
‘घरमा पनि खासै तनाव केही थिएन, बरु मैले मंगलसेनमा आएर सँगै बसौ भनेकी थिए , सायद उनको त्यो तलबले नभ्याउने भएर होला, मलाई मंगलसेन बस्न सकिदैन, घरमै बस्नु भन्नुभयो,' १३ औं दिनको पूण्यतीथि मनाउँदै गरेकी खकेन्द्रकी श्रीमती पूजा परियारले अन्नपूर्णसँग भक्कानिदै भनिन्।
‘तपाई पनि त पत्रकार हुँ भन्दै हुनुहुन्छ, थाहा होला नी, किन गरे आत्हत्या, म त गाउँमा थिए, पूजाको जिज्ञासा थियो। खकेन्द्रको घर मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ हो। दलित परिवारका ती पत्रकारले श्रीमतीलाई पत्रकारितामा खासै पैसो नहुँदो रैछ भनिराख्थे। ‘पत्रकारितामा नाम भएपनि घर धान्न गाह्रो रहेछ भनिराख्थे, पूजाले भनिन्।
अछामका पत्रकार खकेन्द्रको आत्महत्या सेलाउन नपाउँदै फागुन २६ गते राति बझाङका पत्रकार गोबिन्द बोहराले पनि काठमाडौंको सुन्दरीजलको जंगलमा झुण्डिएरै आत्महत्या गरे। बझाङको सेती एफएममा कार्यरत गोबिन्दको आत्महत्याको कारण पनि आर्थिक अभाव भएको बताइएको छ।
बझाङमा पत्रकारिता गरेर खासै उपलब्धी नहुने देखेपछि उनी दुई महिना अघि काठमाडौं छिरेका थिए। गोविन्दले काठमाडौंमै काम गर्ने आफ्ना साथी बझाङकै प्रताप ओलीलाई आर्थिक अवस्था कमजोर भएकाले केही काम खोजी दिन भने। प्रतापले पनि गोबिन्दलाई महिनाको १० हजार तलब पाउने गरी जागिर लगाइ दिए। तर डेढ हप्तामै गोबिन्दले जागिर छोड।
'सायद त्यही तनाव भयो की, उनले मलाई एसएमस पठाए, ‘मलाई माया दिनुभयो, तपाईको मायाका लागि आभारी छु, अब तपाईसँगको साथ सधैंका लागि छुट्टिने छ, म अबको आधा घण्टापछि यो संसारमा हुनेछैन' उनको म्यासेज आएपछि आफू अक्क न बक्क भएको रुम पार्टनर समेत रहेका पत्रकार ओलीले बताए।
ओलीले म्यासेज आएपनि गोबिन्दको लोकेसन पत्ता लगाउन नसकेको बताए। ‘मैले प्रहरीलाई खबर गरे, एकजना पत्रकार आत्महत्या गर्दैछन्, बचाउनुस् भने, उनको फोन ट्याप गरेर आत्महत्याबाट जोगाउन प्रहरीलाई हारगुहार गरे तर प्रहरीले अदालतको आदेशविना त्यस्तो गर्न नसकिने जवाफ दियो, आधा घण्टासम्म उनको फोन लागिरहेको थियो, त्यसपछि फोन पनि बन्दभयो, पत्रकार ओलीले भने।
‘गोविन्द सुरुदेखि मिडियमा रुची भएका युवा हुन्, उनले बझाङमा पनि विभिन्न मिडियामा काम गरे, त्यहाँको मिडियाले पुग्ने गरी तलब दिएनन् वा दिन सकेनन, पछिल्लो समय पत्रकारितामा लहैलहैमा लाग्ने युवाहरु डिप्रेसनको शिकार भइरहेका छन्, प्रतापले भने।
गोविन्दको घरमा पनि दुई वर्षको छोरा र श्रीमती छन्। बुवा र विवाह गरिसकेका दाजु बेरोजगार छन्। ‘घर परिवारको खर्च धान्ने जिम्मेवारी गोविन्दको काँधमा थियो तर उनले आफ्नो रुची भएको मिडिया क्षेत्रबाट पूर्ति गर्न सकिरहेका थिएनन्, जीन्दगीमा आमाबुवाको पनि सोचेअनुसारको गर्न नसकिने भो भनेर गुनासो गरिरहन्थे, ओलीले भने।
बझाङबाट गएका आफन्तहरुले गोविन्दको २८ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरे। उनीहरु गोविन्दको सतगत गराएर मंगलबार फर्किसकेका छन्। ‘गोविन्दले आर्थिक अभावकै कारण आत्महत्या गरेको बुझेको छु' काठमाडौंमै रहेका बझाङका अर्का पत्रकार मानबहादुर बोहराले भने। ‘मलाई पनि यो पेशामा खासै बाच्न सकिने रहेनछ, दाजु भनेर गुनासो गरिरहन्थ्यो' मानबहादुरले भने।
नेपाल पत्रकार महासंघले दुईजना पत्रकारले आत्महत्या गरेपछि विज्ञप्ती निकालेर दुखमनाउ मात्रै गरेको छ। ‘हजारौं पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले सुदूरपश्चिमका मात्रै होइन, देशभरीका पत्रकारहरुको आत्महत्याको कारणको अनुसन्धान गर्नुपर्छ' नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले भने।