बोक्सी आरोपविरुद्ध जाहेरी

बोक्सी आरोपविरुद्ध जाहेरी

गोरखा : बोक्सीको आरोप लगाउने सहिद लखन गाउँपालिका ६ बाँसकोटकी पार्वती श्रेष्ठविरुद्ध पीडित मखना श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी छन्। बुधबार अबेर जिल्ला प्रहरी कार्यालयमा उनले कानुनी कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्। जाहेरी दिन मखना मंगलबारै सदरमुकाम आएकी थिइन्। तर, विभिन्न ‘आग्रह’का कारण बुधबार दिनभर जाहेरी दिन नसकेकी उनले साँझ दर्ता गराएकी हुन्। ‘हामीले दिनभरजसो फलो गरिरहेका थियौं, तर उहाँले अबेरमात्रै जाहेरी ल्याउनुभयो’, महिला तथा बालबालिका शाखाकी कमला नरालले भनिन्, ‘यो भोलि सबैभन्दा पहिले दर्ता हुनेछ।’

पार्वती श्रेष्ठले १५ वर्षीया छोरी जानुका श्रेष्ठ बिरामी भएपछि बोक्सी बकाउने भन्दै निर्घात कुटपिट गर्दा उनले मखना श्रेष्ठको नाम लिएकी थिइन्। आफूलाई बोक्सी आरोप लगाएको भन्दै त्यसविरुद्ध मखनाले प्रहरीमा जाहेरी दिएकी हुन्। उजुरी नदिन दिनभर आग्रह आएको मखनाले बताइन्। बुधबार नै पीडित श्रेष्ठको गाउँ पुगेर प्रारम्भिक अध्ययन गरेको छ। बोक्सी बकाउने भन्दै कुटाइ खाएकी जानकी श्रेष्ठको स्वास्थ्य परीक्षणको प्रतिवेदन लिएको छ। सई मोहन खड्का नेतृत्वको टोलीले पीडित जानुकाको स्वास्थ्य चाँच गर्न लगाई सोधपुछसमेत गरेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए।

छोरी कुट्ने पार्वती यसअघि घैरुङ स्वास्थ्यचौकीमा स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत थिइन्। अहिले पनि उनी महिला अगुवामा गनिन्छिन्। साबिक घैरुङ गाविसस्तरको महिला समूहको सञ्जाल हिमालय महिला समूह एवं हिमालय महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन्। ‘यहाँ जान्नेसुन्ने महिला खोज्नुपर्दा उहाँकै नाम आउथ्यो’, एक स्थानीयले नाम नखुलाइदिन अनुरोध गर्दै भने, ‘यति ठूलो मान्छेले यस्तो अन्धविश्वास पाल्नु, यति क्रूर भएर घटिया काम गर्नु निन्दनीय छ।’

महिला स्वास्थ्य कार्यकर्ता हुँदा उनले कैयौं पटक स्वास्थ्य शिक्षासम्बन्धी तालिम लिएकी, बोक्सी प्रथाजस्तो अन्धविश्वासविरुद्ध कैयौं पटक प्रशिक्षण लिएकी स्थानीयको भनाइ छ। ‘महिला अधिकार, महिला शिक्षा, लैंगिक विभेद, अन्धविश्वासजस्ता शीर्षकमा धेरै तालिम लिनुभएको छ उहाँले’, एक स्थानीयले भने, ‘अस्ति भर्खर प्लेकार्ड बोकेर महिला अधिकार दिवस मनाएकै हो।’ अरूलाई सचेत गराउनुपर्ने महिला नेतृ आफैंले बोक्सीको आरोप लगाएर एक घण्टासम्म छोरीमाथि निर्घात कुट्नु निन्दनीय भएको उनले बताए।

अन्धविश्वासमा ग्रस्त नयाँ पुस्ता

‘बोक्सी बकाउन’ भन्दै हिमालय मावि बाँसकोटकी १५ वर्षीया छात्रा आफ्नै आमाबाट कुटिइन्। त्यतिबेला उनको खुट्टा समात्ने उनीसँगै बेञ्चमा बस्ने साथी रञ्जना श्रेष्ठलाई ‘बोक्सी हुन्छ’ भन्नेमा पूरापूर विश्वास छ। ‘बोक्सी नहुने भए जानकी कसरी कामी त ? ’, बुधबार सो विद्यालयमा साक्षीको बयान लिँदा रञ्जनाले प्रतिप्रश्न गरिन्, ‘अनि उसले जस्ताको तस्तै फरर्र कसरी बोल्न सक्थी छ ? बोक्सी हुन्छ। मलाई पूरै विश्वास छ।’

नयाँ पुस्ताले पनि बोक्सीप्रति विश्वास गरेको अनपेक्षित जवाफ सुनेपछि प्रधानाध्यापक सीताराम ढकालले सोधे, ‘उसो भए त्यो दिनमा जानकीले कुटाइ खाएकी कि, बोक्सीले कुटाइ खाई त ? ’ जवाफमा रञ्जनाले भनिन्, ‘बोक्सीले।’ बयान लिइरहेका प्रहरी नायब निरीक्षक मोहन खड्काले सोधे, ‘त्यो मुखबाट रगत निस्केकोचाहिँ जानकीको कि बोक्सीको ? ’ सँगै बस्ने जानकीकी अर्की सहपाठी गीता सिर्मलले भनिन्, ‘बोक्सीको।’ त्यहाँ उपस्थित भीडबाट फेरि प्रश्न आयो, ‘कपाल लुछ्दै कुट्दै गर्दा गाला सुन्निएको पनि बोक्सीकै हो ? ’ गीताले सहजै उत्तर दिइन् ‘हो।’

सोही विद्यालयका परिचर खिलबहादुर श्रेष्ठले थपे ‘हो, बोक्सी हुन्छ। म त कैयौं पटक परेको छु यस्तो घटनामा। मेरै घरमा कतिपटक बोक्सी लाग्ने घटना भएको छ। मलाई विश्वास छ।’ करिब २५ वर्षका जस्ता देखिने श्रेष्ठले आत्मविश्वासका साथ बोक्सीप्रतिको विश्वास गरेको सुन्दा प्रहरी तथा शिक्षक छक्क परे।

याे पनि पढ्नुहाेस्

बोक्सी बकाउन भन्दै आफ्नै आमाद्वारा किशोरीमाथि निर्घात कुटपिट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.