बागेश्वरी मन्दिरको तिजोरी खोलियो

बागेश्वरी मन्दिरको तिजोरी खोलियो

 

नेपालगन्ज : नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भेटिका रूपमा चढाइएका गरगहना र नगद राखिएको दुईवटा तिजोरी ‘खजाना बाकस’ बुधबार खोलिएको छ। दुई तिजोरीमध्ये एउटामा मालपोत कार्यालयका रसिदको ठेली मात्र भेटिएको छ भने अर्कोमा सुन, चाँदी र पित्तल भेटिएको छ। बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सदस्यसचिव गोपालप्रसाद अधिकारीका अनुसार एउटा तिजोरीमा २० केजी चाँदी, २ तोला सुन र डेढ तोला पित्तल फेला परेको छ।

तिजोरीमा पृथ्वीनारायण शाहकालीन चाँदीका सिक्का पनि भेटिएका छन्। पृथ्वीनारायणकालीन चाँदीका सिक्का जडेर बनाइएको एउटा माला पनि फेला परेको अधिकारीले जानकारी दिए। उनका अनुसार तिजोरीभित्र फेला परेका गरगहना र त्यहाँ भेटिएका अन्य प्रमाण हेर्दा २०६३ सालसम्म बाकस खोल्ने र बन्द गर्ने क्रम चलिरहेको देखिएको छ। ‘तिजोरीमा बोराभित्र भेटिएको कागजको पेटी, प्लास्टिकको झोला र केही गहनाको मोडल हेर्दा १० वर्षअघिसम्म उक्त तिजोरी खोल्ने र बन्द गर्ने क्रम चलेको प्रस्ट हुन्छ’, सदस्यसचिव अधिकारीले भने। तिजोरीमा हालसालैको प्लास्टिक झोला, कार्टुन पनि भेटिएको छ।

तिजोरी खोल्ने समय बाँके सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्दिन जसगढले समग्र वस्तुस्थिति हेर्दा कम्तीमा १० वर्ष अघिसम्म बाकस खोलिएको अन्दाज गरे। ‘पृथ्वीनारायण शाहको पालाको चाँदीको सिक्का र भर्खरै बनेका गरगहना हेर्दा कम्तीमा १० वर्षअघि बाकस खोलिएको भन्न सकिन्छ। त्यसयता खोलिएको छ÷छैन अनुसन्धानपछि थाहा होला’, जसगढले भने।

मालपोत कार्यालयमा रहेका दुई वटा बाकसमा बागेश्वरी मन्दिरमा चढाइएका गरगहना, हीराजवाहरत र नगद प्रशस्तै रहेको नेपालगन्जवासीको बुझाइ थियो। तर, बाकस खोलेर हेर्दा अपेक्षाअनुसार केही भेटिएन। बागेश्वरी मन्दिरका ती बाकस मालपोत कार्यालयमा कहिले र कसलाई बुझाइएको थियो भन्ने कुनै रेकर्ड छैन। न त कसले बुझाएको भन्ने नै जानकारी छ।

 मालपोत कार्यालयमा रहेका दुई वटा तिजोरी (खजना बाकस)मा बागेश्वरी मन्दिरमा चढाइएका गरगहना, हीरा जवाहरात र नगद प्रशस्तै रहेको अनुमान गरिए पनि बाकस खोलेर हेर्दा अपेक्षाअनुसार भेटिएन।

ठूलो बाकसमा जग्गाको मालपोतमा राजस्व तिरेका रसिद मात्र फेला परेका छन्। जुन विसं २०३० साल अगावैका हुन्। बागेश्वरी मन्दिरको बाकसमा मालपोत कार्यालयका रसिद भेटिएपछि त्यसमा रहेको भनिएका गरगहना कसले लग्यो भन्ने प्रश्न उठेको छ। अर्को बाकसमा भेटिएका कतिपय चाँदीका छतरी (छाता), सिंहासन, सुनका तिलहरीलगायत गहना हालसालै बनाइएको पाइएकाले यसबारे विस्तृत अनुसन्धान गरिनुपर्ने नेपालगन्जका कानुन व्यवसायी एवं सरोकारवालाको माग छ।

बाँकेका एक प्रहरी अधिकारीका अनुसार बाकसभित्र भेटिएको प्लास्टिक, भर्खरै बनाइएको तिलहरी, कागजको कार्टुनलगायत चिज हेर्दा शंका गर्ने ठाउँ प्रशस्तै छन्। बेइमानी गर्नेले पर्याप्त ध्यान नपुर्‍याएको देखिएको पनि उनले बताए। यस विषयमा प्रहरीले मात्र चाहेर अनुसन्धान अघि बढाउन कठिनाइ रहेको भन्दै ती प्रहरी अधिकारीले भने, ‘अनुसन्धान गर्ने वा यसैमा चित्त बुझाउने भन्ने बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिमा निर्भर छ। यस विषयमा अनुसन्धान नगर्ने हो भने भोलि सार्वजनिक सम्पत्ति जोसुकैले अपचलन गर्दा हुने गलत नजीर बस्छ।’

बागेश्वरी मन्दिरको सम्पत्ति रहेको भनिएको तिजोरीका विषयमा सरकारी अधिकारीसँग पनि स्पष्ट जानकारी छैन। मन्दिरको सुनचाँदी र नगदलगायत सम्पत्ति राखिएको भनिएको बाकस ३० वर्षअघिदेखि मालपोत कार्यालयको स्वामित्वमा रहँदै आएको स्थानीय बुज्रुकको भनाइ छ। पुरातŒव विभाग, गुठी संस्थान, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारीको रोहबरमा खोलिएको बाकसमा भेटिएका सुन, चाँदी र पित्तल नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जको लकरमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.