दश घर, एक पोखरी अभियान सुरु
सन्धिखर्क : पोखरी मासिएका कारण दिनप्रतिदिन पानीका मुहान सुकेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा दश घर एक पोखरी अभियान सुरु गरिएको छ ।गाउँमा रहेका पोखरीहरु संरक्षणको अभावमा माँसिदै गइरहेका बेला युवाहरुको सक्रियतामा उक्त अभियान सुभारम्भ गरिएको हो ।
पोखरीहरु मासिदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिंचित हुन नपाएका कारण पानीका मुहानहरु सुक्दै गएपछि प्रकृतीको संरक्षणका लागि अभियान सुरु गरिएको युवा व्यवसायी कृष्णप्रसाद भुसालले बताए ।
विद्यालय, सडक, प्रतिक्षालय जस्ता संरचनाहरु निर्माण गर्दा पोखरीहरु मासिदै गएकाले मानव जीवनमा नै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान सुरु गरिएको अभियान कर्मी हरिप्रसाद भुसालको भनाइ छ ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा पाँच सय पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक हप्तामा करिब एक दर्जन पोखरी निर्माण गरिसकेको छ ।
अभियानलाइ निश्चित घेराभित्र मात्र सिमित नगरी देशैभर संचालन गर्नुपर्नेमा जोड दिइएको छ ।