विद्युत चोर्ने वडाध्यक्षलाई नौ हजार जरिवाना
गौर : विद्युत चोरी गर्दागर्दै वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ परेका गरुडा नगरपालिका –७ का वडाध्यक्ष रामइश्वर राय यादवलाई विद्युत प्राधिकरणले नौ हजार जरिवाना गरेर छाडेको छ ।
वडाध्यक्ष यादवलाई रातभर प्रहरीले नियन्त्रणमा राखेर आगामी दिनमा विद्युत चोरी नगर्ने शर्तमा जरिवाना गरेर छाडिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुबाट पाँच हजारदेखि १० हजार सम्म जरिवाना गर्ने गरिएको प्रहरीको भनाइ छ ।
विद्युत चुहावट व्यापक भएको गुनासो बढेपछि विद्युत प्राधिकरण रौतहटले एकसातादेखि विभिन्न ठाउँमा सुरक्षाकर्मीसँग समन्वय गरेर चेकजाँच सुरु गरेको छ ।
चुहावट नियन्त्रणको लागी खटिएका विद्युत प्राधिकरणका कर्मचारी र सुरक्षाकर्मीको टोलीले बिहीबार राति वडाध्यक्ष यादव सहित १९ जनालाई भिमडावर, पथरा, डुमरीया, मह्मदपुर, भसेडवा, पिपरीया, विर्ती गाउँबाट पक्राउ गरेको थियो ।
रौतहटमा अहिले ४७ प्रतिशत विद्युत चुहावट भइरहेको छ ।