सभामुख महरा र उत्तर कोरियाका राजदूतबीच भेटवार्ता : के कुरा भयो ?
काठमाडौं : सभामुख कृष्णबहादुर महरासँग उत्तर कोरियाका राजदूत चोय तेइ पोकले भेटवार्ता गरेका छन्। आइतबार दिउँसो राजदूत तेइ पोकले सभामुख महरासँग भेट गरेका हुन्। भेटमा महरालाई पोकले बधाई दिएको महराको निजी सचिवालयले जानकारी दिएको छ।
राजदूतसँगको भेटमा महराले प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताएका छन्। पछिल्लो समय वार्ताका माध्यामबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिदै गएकोमा खुसी व्यक्त गर्दै महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गरे।
भेटमा उत्तर कोरियाका राजदूत पोकले सभामुखमा महरालाई उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको बधाई सन्देश सुनाएका छन्।
महरासँगको भेटमा पोकले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताए। सँगै उनले महरालाई उत्तर कोरियाको भ्रमणको निम्तो समेत दिएका छन्।
जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताएका छन्।
‘म उत्तरकोरियाको भ्रमण गर्न इच्छुक छु, अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु, महराले भने, ‘त्यहाँ पुगेर किम इल सुङको घर, जंगलभित्रको म्यूजियम र उत्तरकोरियाको विकास अवलोकन गर्ने चाहना छ।’
त्यसैगरी आइतबार नै सभामुख महरासँग कतारका राजदूत युसूफ बिन मोहम्मद अलले भेटवार्ता गरेका छन्। राजदूत मोहम्मद अल महरालाई भेट्न सभामुखको कार्यालय सिंहदरबार पुगेका थिए।
सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध विस्तार गरेर लैजाने बताएका छन्। भेटमा सभामुख महराले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्नेतर्फ पहल बढाउनुपर्नेमा जोड दिएका छन्।
महराले कतारमा अहिले चार लाख बढी नेपाली कामदार रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गरेका छन्।