उपराष्ट्रपतिद्वारा पदभार ग्रहण
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहणपछि उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर पदभार ग्रहण गरेका हुन् । उपराष्ट्रपति पासाङलाई कार्यालयका सचिव लालशंकर घिमिरेले स्वागत गरेका थिए ।
पदभार ग्रहणपछि उपराष्ट्रपति पासाङले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको बताए । उनले आगामी दशक आर्थिक समृद्धिको हुने बताउँदै आर्थिक समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
‘सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ । राजनीतिक स्थायित्व सुरु भएको छ । अबको बाटो समृद्धिको हो’, उनले भने ‘देशको विकास, आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघ संस्था एकताबद्ध हुनुपर्छ । आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।’
उनले आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै राजनीतिक पार्टी र सबै तहका सांसदलाई धन्यवाद दिए । ‘विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, एवं सांसदलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु’, उनले भने ।
उपराष्ट्रपतिले आफ्नो आगामी कार्यकाल र जीवन देश र जनताका लागि हुने बताए । ‘मेरो आगामी कार्यकाल मात्रै होइन, मेरो आगामी जीवन देश र जनताकै लागि हुनेछ’, उनले भने ‘संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढीकरणका लागि हुनेछ ।’
उनले विगतको कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनी संविधान जारी भएपछि २०७२ कात्तिक १५ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।