बसन्त रेग्मी भन्छन्ः १० वर्षमा टेस्ट मान्यता पाउँछौँ
काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टिमका सिनियर खेलाडी बसन्त रेग्मीले सरकारले राम्रो पूर्वाधार र खेलाडीमा लगानी गरे अबको ८ देखि १० वर्षमा नेपालले टेस्ट मान्यता पाउने बताएका छन् ।
जिम्बाब्वेमा विश्वकप छनोट खेलेर फर्किएपछि त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै रेग्मीले अब क्रिकेटसहितका खेल पूर्वाधारमा लगानी गर्नुको विकल्प नरहेको बताए ।
‘खेलाडीले पूर्वाधार अभावमा पनि खेलिरहेका छौँ, हाम्रो निरन्तरको मेहनतले वान डे इन्टरनेशनल मान्यता पनि पाएका छौँ’, रेग्मीले भने, ‘तर अघि बढ्न अहिलेको पूर्वाधारले पुग्दैन, धेरै लगानी गर्नु जरुरी छ ।’
त्यसैगरी नेपाली टिमका युवा खेलाडी ललित राजवंशी वान डे इन्टरनेशनल मान्यताबाट खुसी मिलेको बताउँदै अब यसलाई टिकाएर अझै अघि बढ्न खेलाडी र खेल क्षेत्रमा विशेष लगानी चाहिनेमा जोड दिए ।