राष्ट्रपतिमाथि पनि नैतिकताको प्रश्न उठ्छ

राष्ट्रपतिमाथि पनि नैतिकताको प्रश्न उठ्छ

पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा स्वच्छ छवि र प्रष्ट वक्ताका रूपमा चिनिन्छन् । निष्ठामा रहेर झन्डै ३० वर्ष कानुनव्यवसायको अनुभवसमेत सँगालेका शर्मासँग न्यायपालिकाको पछिल्लो घटनाक्रमलगायत समसामयिक विषयमा अन्नपूर्णकर्मी यम विरहीले गरेको कुराकानी ।

न्यायपालिकामा उत्पन्न विवाद र भाँडभैलोलाई कसरी हेर्नुभएको छ ?

म भाँडभैलो भन्ने शब्द प्रयोग गर्दिनँ । तर जुन किसिमको विवाद सर्वोच्च अदालतमा आयो, यो दुःखद् हो । अदालत विशृंखलित हुनु कसैका लागि पनि राम्रो होइन । किन भयो यस्तो ? सबैले गम्भीर भएर सोच्नुपर्छ ।

अहिले अदालतप्रति चौतर्फी आक्रमण भइरहेको छ । अदालत कमजोर बनाउनुको पछाडि कसको स्वार्थ हो, त्यो पनि हेरिनुपर्छ । अदालत कमजोर बनाउने तत्वले यो बुझ्नुपर्छ, अदालत कमजोर भएमा नागरिकका हक अधिकार पनि कमजोर हुन्छन् । अदालतमा यस्तो बेथिति किन आयो ? न्यायाधीश छनौट र नियुक्ति प्रक्रिया ठीक भएन कि, अदालतमा हामीले अनुशासन राख्न सकेनौं कि, न्यायाधीशले आचारसंहिता पालन नगरेर यो स्थिति आयो कि, यसको गम्भीर समीक्षा हुनैपर्छ ।

एकजना प्रधानन्यायाधीशमाथि महाभियोग लगाइयो । अर्का प्रधानन्यायाधीशको असहज बहिर्गमन भयो । सर्वोच्चका न्यायाधीश नै गुटग्रस्त देखिए त ?

सबैतिर राजनीति हावी भयो । राजनीति चाहिन्छ, राष्ट्रको विकासका लागि । राजनीतिक दल नै विकासका संवाहक हुन् । विचारको सम्प्रेषण गर्ने पनि उनीहरू नै हुन् । तर त्यसका पनि केही सीमा हुन्छन् । स्वतन्त्र न्यायपालिका भन्नेबित्तिकै राजनीतिबाट अलग हुनुपर्छ । तर हामीकहाँ नियुक्तिप्रक्रियादेखि नै राजनीति हावी भएकाले असर पार्‍यो । न्यायाधीश छनौट प्रक्रियामै पुनर्विचार गर्नुपर्छ ।

प्रधानन्यायाधीशबाट गोपाल पराजुलीको बहिर्गमन विधिलाई के भन्नुहुन्छ ?

त्यसको विस्तृत जानकारी मसँग छैन । सञ्चारमाध्यमबाट थाहा भयो, जन्ममितिमा विवाद आयो । त्यो विवाद त नियुक्तिको बेलैमा टुंगिनुपर्ने हो । सिफारिस गर्दा नै छानबिन गरिनुपथ्र्यो । संसदीय सुनुवाइमा यो विषय उठ्नुपथ्र्यो । तर किन उठेन ? त्यतिबेला सबैले आँखा चिम्लिए । काम पनि अघि बढ्यो । उहाँ (पराजुली) ले गरेका आदेश र फैसला पनि स्वीकार्य हुँदै गयो । तर अन्त्यमा नमिठो तरिकाबाट उहाँको बहिर्गमन भएको देखिन्छ । यसो हुनुमा हामी सबैको दोष छ । गलत भएकै हो भने सबैभन्दा बढी दोष त जसले सिफारिस र नियुक्ति गरे तिनैको छ ।

तत्कालिन प्रधानन्यायाधीश एवं न्यायपरिषद् अध्यक्ष सुशीला कार्कीले गोपाल पराजुलीको उमेर साउन २१ गते तोकेर अवकाशमा एकल रूपमा निर्णय गर्नुुभयो । त्यो निर्णय निवर्तमान कामु प्रधानन्यायाधीश दीपकराज जोशीसमेत संलग्न न्यायपरिषद्को पूर्ण बैठकले उल्ट्यायो । यो निर्णय सचिवको चिठीले बदर गर्न सक्छ ?

यसअघि सचिवालयले न्यायाधीशको अवकाशको जानकारी दिने गर्दथ्यो । तर अवकाश हुने दिन नै कुन हो भनेर विवाद भएपछि त्यसको निक्र्योल समयमै गर्नुपर्दथ्यो । प्रश्न सिफारिस र नियुक्तिका बेला किन देखिएन भन्ने हो ।

परिषद्को त्यो निर्णयलाई सचिवले काट्न सक्छ कि सक्दैन त ?

काट्न सक्दैन । सचिवले निर्णयको जानकारी मात्र दिने हो । निर्णय नै काट्ने ‘अथोरिटी’ सचिवलाई छैन । परिषद्ले गरेको निर्णय त कानुनतः सर्वोच्चले मात्रै काट्न सक्छ ।

 पराजुलीको उमेर विवादलाई लिएर विकास गिरीले हालेको मुद्दामा सर्वोच्चको एकल इजलासबाट रिटै खारेज गर्ने गरी फैसला पनि भएको छ त ?

त्यो फैसला ‘डिटेल’ मा हेर्न पाएको छैन । डिटेल नहेरी कस्तो हो भनेर भन्न सक्दिनँ । तर सर्वोच्चबाट भएको फैसला नउल्टिन्जेलसम्म अन्तिम हुन्छ । त्यसलाई मान्नुपर्छ । नउल्टिँदासम्म त एकल इजलासको फैसला पनि अन्तिम नै हो ।

पराजुलीको बहिर्गमनपछि एउटा कोणबाट छानबिन हुनुुपर्छ भन्ने पनि आइरहेको छ । छानबिन हुने हो भने उहाँसँग राष्ट्रपतिले लिएको सपथ नि ?

राष्ट्रपतिको सपथ खुवाउँदा अवकाशको पत्र पाएको थियो कि थिएन । राष्ट्रपति कार्यालय पुगेको हो कि होइन । पराजुलीले नै पत्र पाउनुभएको हो कि होइन । यस विषयमा म छापाको मात्र भर पर्न सक्दिनँ । चारवटा छापामाध्यममा चारैथरी खबर देखिन्छ । सुने÷सुनाएको भरमा बोल्न पनि भएन । सपथ खुवाउँदा पदबाट हटेको हो कि होइन भन्ने जानकारी नै छैन । सपथ खुवाउँदा त्यहाँ म पनि उपस्थित थिएँ । हामीलाई प्रधानन्यायाधीशबाटै सपथ हुने भनिएको थियो । पत्र कतिबेला गयो, कतिबेला दर्ता भयो भन्ने विषयमा कुनै जानकारी छैन । तर पराजुलीको उमेरअनुरूपको पदावधि अवैध हुने हो भने राष्ट्रपतिमाथि पनि नैतिकताको प्रश्न उठ्छ । यो कानुनीभन्दा पनि नैतिकताको विषय हुन्छ ।

अवहेलसम्बन्धी मुद्दामा सुनुवाइ हुँदा बेञ्चबाहिरबाटै आदेश लेखेर दिने काम भयो रे । यसो गर्न न्यायाधीशको आचारसंहिता र न्यायिक मर्यादाले दिन्छ ?

मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश इजलासमा बसिसकेपछि इजलासबाटै बोल्नुपर्छ । इजलासमा मुद्दा सुन्न बसेको न्यायाधीश इजलासभन्दा बाहिर बोल्ने प्रथा पहिले पनि थिएन, गर्नु पनि हुँदैन । कुनै न्यायाधीशलाई कुनै चिज मन पर्दैन, चित्त बुझ्दैन भने इजलासबाटै व्यक्त गर्नुपर्छ ।

आचारसंहिताले यसो गर्न दिन्छ कि दिँदैन ?

कतिपय चिज आचारसंहितामा उल्लेख हुँदैन । त्यसभन्दामाथि न्यायिक परम्परा हुन्छ । यस्ता विषय आचारसंहितामा आउँदैनन् । फैसला कसरी गर्ने, प्रक्रिया कसरी मिलाउने भन्ने विषयमा आचारसंहिताले बोल्दैन । परम्परा कि इजलासमै बस्नु हुँदैन, कि सुुरुमै म बस्दिन भनेर ‘अब्जेक्सन’ गर्न सक्नुपर्छ । इजलासमा बसेर मुद्दा सुुनुवाइ भइसकेपछि इजलासमै बसेर न्यायाधीशले आफ्ना प्रतिक्रिया दिनुपर्छ । फुत्त बाहिर निस्केर दिनु उचित होइन।

 चोलेन्द्रशमशेर श्रीमानले एउटा सन्दर्भको मुद्दामा फरक प्रसंगमा प्रवेश गरी पराजुलीको उमेरै तोकेर हिँड्नुभएको छ । न्यायिक मान्यता के हो ?

कहिलेकाहीं सन्दर्भ ‘रिलेटेड’ हो भने बोलिन्छ । त्यस्तो अवस्था होइन भने बोलिँदैन । तर इजलासको बीचैबाट उठेर आदेश गर्न मिल्दैन । आफ्नो विचार निर्णय सुनाउने बेलामा भन्ने हो । बीचबाट उठेर भन्न मिल्दैन । कि त इजलासमा बस्नुअघि नै यो इजलासमा बस्दिनँ भन्न सक्नुपर्छ । इजलासमा बसेर सुनुवाइ गरिसकेपछि निर्णयको निराकरण गर्ने बेलामा मेरो निर्णय यो हो भनेर भन्ने परम्परा हो ।

 न्याय परिषद अध्यक्ष रहने प्रधानन्यायाधीशबाटै यसअघि एकल निर्णयका आधारमा न्यायाधीशको उमेर तोक्ने काम भयो भनेर एकथरीबाट आलोचना पनि भइरहेको छ । यो विषयमा के भन्नुहुन्छ ?

ऐनअनुसार परिषद् अध्यक्षलाई त्यस्तो छुट्टै अधिकार छैन । म पनि परिषद्मा सदस्य र प्रधानन्यायाधीशको हैसियतमा अध्यक्ष पनि भएँ । झन्डै ११ महिना म त्यहाँ रहें । तर त्यो बेला प्रधानन्यायाधीशको नेतृत्वमा परिषद्को निर्णय हुँदा सामूहिक रूपमा हुन्थ्यो । कसैले निर्णयप्रक्रियामा चित्त बुझेन भने फरक मत राख्थ्यो । तर एकलरूपमा निर्णय भएको मेरो अनभुवमा छैन ।

 प्रधानन्यायाधीशलाई भोलिपल्टको मुद्दामा पेशी तोक्नसमेत दिइएन, अफिस जानुअघि ‘नेम प्लेट’ समेत झिकियो । अर्का वरिष्ठतम् न्यायाधीशको घरैबाट पेशी तय भयो । प्रधानन्यायाधीशलाई सम्मानपूर्वक बिदाइ गरेर पठाएको भए राम्रै सन्देश जान्थ्यो होला नि ?

प्रधानन्यायाधीशले सोच्नुभयो होला विवादमा बसिरहनु भन्दा बरु राजीनामा दिनु उत्तम । त्यो उहाँको व्यक्तिगत निर्णय होला । तर प्रधानन्यायाधीश भनेर मानिसकेपछि बहिर्गमनप्रक्रिया सन्तोषजनक भएन । यसले न्यायपालिकालाई भविष्यमा धेरै धक्का पुर्‍याउने छ । भविष्यमा ‘जुडिसियरी’ प्रति यही उदाहरण दिएर औंला ठड्याउने अवस्था रह्यो ।

 एकथरी मान्छेले यो अवस्थालाई प्रधानन्यायाधीशमाथिको ‘कू’ पनि भनेका छन् नि ?

म त्यो भाषा प्रयोग गर्दिनँ । राजनीतिक भाषा हुन जान्छ । कानुनकर्मीको नाताले यस्ता विवाद न्यायालयमा नआएको भए राम्रो हुन्थ्यो भन्ने मेरो जिकिर हो । मानिस सबैतिरबाट हतोत्साही भएपछि न्याय खोज्न आउने ठाउँ नै अदालत हो । न्यायालयप्रतिको आस्थाले भएको हो त्यो । अहिलेको जस्तो अवस्था आयो भने मानिसले आफ्ना लागि न्याय कहाँबाट पाउने÷खोज्ने ? मिडिया ट्रायल पनि यसो हुनुको कारक हो कि । तुलना गर्ने हो भने सायद एसियामा वा संसारमै कानुनीरूपले नेपालमा जति सुरक्षित मिडिया कहीं पनि छैन ।

तर मिडिया पनि जवाफदेही चाहिन्छ । जवाफदेही नहुने कोही पनि हुँदैन । सञ्चारकर्मीले के हेक्का राख्नुपर्छ भने अदालत कमजोर भयो भने अन्तत्वोगत्वा मिडिया पनि कमजोर हुन्छ । राजनीतिले मिडियालाई गाँज्न थाल्यो भने त्यो बेला त्राण पाउने थलो नै अदालत हो । पञ्चायतकालदेखि मिडियाको संरक्षण गर्ने भनेको अदालत नै हो । ज्ञानेन्द्रको शासनकालमा पनि मिडियालाई बचाउने अदालत नै हो । खबर सम्प्रेषण गर्दा अलिकति संवेदनशीलता राख्नैपर्छ । यसपटक मिडियामा अनावश्यकरूपमा धेरै उछालिएको अनुभव भएको छ ।

प्रेस स्वतन्त्रता उपभोग गर्न मिडियाको सीमा कति हो ?

मिडियाले दुइटा चिज आकलन गर्छ । विचाराधीन मुद्दामा अदालतलाई फैसला गर्न दिनुपर्छ । मिडियाले फैसला गर्ने होइन । हामीकहाँ दुर्भाग्यवश के भयो भने पहिले नै अदालतको विषयमा बोलिदिन्छ । यो मान्छे बदमास हो, भ्रष्टाचारी हो, यसलाई उन्मुक्ति दिनुपर्छ, थुनामा हाल्नुपर्छ भनेर ‘सेन्सेटाइज’ गर्ने किसिमका समाचार आउन थाले ।

यसर्थ, मिडिया आफैंले आचारसंहिता पालना गरेको छैन । प्रेस काउन्सिलको आचारसंहिता हेर्‍यौं भने त्यहाँ के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुरो त छ नि । त्यसलाई पालना गर्नुपर्छ । अर्को कुरा मिडियाले खबर दिने हो, निर्णय नै दिने होइन । तथ्य पस्कनुस्, त्यसको विश्लेषण पाठकले नै गर्छ ।

यहाँकै पालामा न्यायालयका विकृति र भ्रष्टाचार अन्त्यका लागि रामप्रसाद श्रेष्ठ (तत्कालिन न्यायाधीश) को अध्यक्षतामा अध्ययन समिति पनि बनाइयो । प्रतिवेदन आए पनि छानबिन संयन्त्र बनाइएन, किन ?

संयन्त्रमाथि संयन्त्र बनाउनुभन्दा भइरहेकै संयन्त्रलाई प्रभावकारी बनाउनु उपयुक्त हो । अहिलेकै संयन्त्रलाई कारबाहीका गर्ने अधिकार नभएको होइन । सर्वोच्चका न्यायाधीशको हकमा संसद्बाट महाभियोगको व्यवस्था छ । अन्य तहका न्यायाधीशलाई भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइएको पनि हो । न्याय परिषद्का तत्कालिन सचिव काशीराज दाहालले न्यायाधीशविरुद्ध मुद्दा दायर गर्नुभएको छ । मुद्दा त चल्दो रहेछ नि । त्यसलाई (परिषद्) बलियो किन नपारेको ? परिषद्कै छानबिनबाट सर्वोच्चकै न्यायाधीश पनि पदमुक्त भएका छन् । कतिपय अस्थायी न्यायाधीश तल्लो अदालतमा फर्काइएका उदाहरण पनि छन् ।

सर्वोच्चको न्यायाधीशका हकमा महाभियोग लागेपछि हट्ने भनेर संविधानमै व्यवस्था गरेको छ । अन्य अदालतका न्यायाधीशलाई त परिषद्ले कारबाही गर्नसक्ने यथेष्ट अधिकार छ । यतिले पनि पुग्दैन भने ऐनमा संशोधन गरेर परिषद्भित्रै बलशाली संयन्त्र बनाउनुपर्ने हुन्छ ।

प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीश कानुनभन्दा माथि रहेको दम्भ देखाउँछन् भन्ने छ । उनीहरूमाथि पनि छानबिन र कारबाहीका लागि अर्को शक्तिसम्पन्न संयन्त्र बनाउनुपर्ने पो हो कि ?

न्यायपरिषद्ले सर्वोच्चका न्यायाधीशलाई मुक्त गर्न सक्दैन । संविधानकै संरचनाले महाभियोगबाट मात्रै मुक्त हुन्छ भन्छ । हामीकहाँ मात्र होइन, भारतमै पनि यही व्यवस्था हो । संसदीय परम्परा रहेका मुलुकमा पनि यही व्यवस्था हो । अमेरिकामा पनि यही छ । तर छानबिनका आधारमा परिषद्ले संसद्लाई महाभियोगका लागि पठाउन सक्छ । सर्वोच्चकै न्यायाधीशविरुद्ध लागू औषध मुद्दामा विगतमा परिषद्ले छानबिन गरेर बुझाएको प्रतिवेदनका आधारमा पदमुक्त भएको उदाहरण छ । सर्वोच्चका दुईजना न्यायाधीश राजीनामा दिन बाध्य भएका थिए । सर्वोच्चका विवादित न्यायाधीशलाई इजलास नतोकेर, मुद्दा नदिएर विगतमा पदमुक्त गरिएका उदाहरण छन् । भिन्नै संयन्त्रभन्दा परिषद्कै संयन्त्रलाई थप बलियो कसरी बनाउने भन्ने विषयमा छलफल हुनुपर्छ ।

 इमान्दार न्यायाधीशलाई ‘कभर’ मा राखेर प्रधानन्यायाधीशबाट भ्रष्टाचार भयो । अनि ‘बेञ्च सपिङ’ गरे भन्ने सुनिन्छ नि ?

बेञ्च सपिङ अहिलेको नभई पुरानो कुरो हो । न्यायाधीशको प्रकृतिअनुसार, स्वभावअनुसार हुन्छ । सबै न्यायाधीश त्यत्तिकै चोखा हुन्छन् भन्न सकिन्न । ‘बेञ्च सपिङ ’ को परम्परा पहिले पनि थियो । अहिले बृहत् भएको छ भन्ने सुनिन्छ । म यो भन्दिन कि मेरो पालामा भएकै थिएन । तर त्यसलाई नियन्त्रण गर्न पेशी प्रक्रियाको ‘डिजाइन’ गर्न सकिन्छ । एउटा मुद्दा हट्यो भने तीनमहिना, चारमहिना नभई पालो नआउने अवस्था हुन्छ । तर तुरुन्त १५–१५ दिनमा पेशी तोक्यो भन्यो कति हटाउने ? कति सपिङ् गर्ने ? र, हटाउने प्रक्रिया रोक्न पनि बेञ्च अलिकति कडा त हुनैपर्छ । नियममा दुई चोटी हटाउने भन्ने छ । मैले एकपल्ट अनुसन्धान गर्दा २० पल्टसम्म मुद्दा हटाएको पनि भेट्टाएँ । त्यसकारण यसलाई रोक्न नेतृत्वले कडाइका साथ नियन्त्रण गर्न उद्दत हुनैपर्छ ।

 भ्रष्टाचारका सन्दर्भमा ‘व्याङ्कलोर प्रिन्सिपल–२००२’ को सिद्धान्तअनुरूप फौजदारी अभियोगमा न्यायाधीशमाथि छानबिन र कारबाही गर्न सकिने भनिएको छ नि । सर्वोच्चका न्यायाधीशलाई अख्तियारले सक्छ कि सक्दैन ?

सर्वोच्चका बहालवाला न्यायाधीशलाई अख्तियारले छानबिन गर्न सक्दैन । संविधानमा छुट्टै कानुनले छुट्टै व्यवस्था गरेको र महाभियोग लाग्ने पदाधिकारीको सम्बन्धमा अख्तियारले हेर्न नसक्ने भनेर स्पष्ट व्यवस्था छ । न्यायपरिषद् ऐनमा सर्वोच्चका न्यायाधीशबाहेकका अरू न्यायाधीशलाई परिषद्ले नै कारबाही गर्ने व्यवस्था छ । मुद्दा पनि दायर भएका छन् । सर्वोच्चको हकमा महाभियोग लागेर पदमुक्त भएपछि भने अख्तियारले छानबिन गर्न सक्छ । संविधानको एउटा धारा मात्र हेरेर सार्वजनिक पद भएका कारण अख्तियारले सक्छ भनेर भन्न मिल्दैन ।

न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउने विषयमा एउटा प्रधानन्यायाधीशको भूमिका कति रहन्छ ?

ठूलो भूमिका रहन्छ । किनभने न्यायपरिषद्को नेता पनि उही हो र सर्वोच्च अदालतको नेता पनि । न्यायाधीशलाई नियन्त्रण गर्न, तह लगाउन उसमाथि धेरै जिम्मेबारी छ । उ सक्रिए भयो भने मात्र नियन्त्रणका बिन्दु पत्ता लगाउन सकिन्छ ।

विगतमा प्रधानन्यायाधीशहरूकै कारण न्यायिक मूल्य, मान्यता, मर्यादामाथि नै गम्भीर आँच आयो भन्ने छ नि ?

त्यो त दुखद् स्थिति हो । तर नेता भएपछि पत्याउनैपर्ने हुन्छ । प्रधानन्यायाधीशलाई ‘बेस्ट अमोङ द बेस्ट’ भनेरै ल्याइएको हुन्छ । त्यसैले कसैमाथि पत्यारै नगर्ने हो भने त सिस्टम नै चल्दैन नि । तर न्यायाधीशै भ्रष्ट हुन्छ, प्रधानन्यायाधीशै भ्रष्ट हुन्छ भने त्यसको उपाय के हुनसक्छ भनेर पो छलफल हुनुपर्छ । प्रधानन्यायाधीश भ्रष्ट भयो भने महाभियोग लगाउन सकिन्छ ।

तर महाभियोग लगाउँदा भने प्रमाणसहित आउनुपर्छ । यो होइन कि संसद्मा कुनै दलको एक चौथाइ संसद् छन् भनेर महाभियोगको प्रस्ताव टेबुल गर्छु भन्यो भने प्रधानन्यायाधीश विवादमा आउँछ । निलम्बन हुन्छ । अनि प्रधानन्यायाधीशमाथि महाभियोगको मुद्दा चल्न नसक्ने भएमा ‘ब्याक टू’ अदालतमा आउँदा न्यायपालिकालाई नै कमजोर बनाउँछ ।

त्यसपछि के हुन्छ ?

त्यसपछि अदालतलाई पनि ‘थ्रेट’ हुन्छ । खबरदार यदि तिमीले कार्यकारिणीको अधिकारलाई अंकुश लगाउन खोज्यौ भने तिमीहरूलाई म अंकुश लगाउँछु भन्ने ‘थ्रेट’ हुन्छ । त्यसकारण यस्ता प्रकरण सस्तो लोकप्रियतालाई हेरेर ल्याउने होइन कि गम्भीरतापूर्वक विचार गर्नुपर्छ । कहिलेकाहीं त प्रधानन्यायाधीशसँग प्रधानमन्त्रीले कुरा गर्नुपर्ने पनि हुनसक्छ ।

भर्खरै मात्र कानुनमन्त्रीले न्यायाधीशको सम्पत्ति छानबिनका लागि कानुन बनाउँछु भन्नुभएको छ । छानबिन गर्नुपर्ने आवश्यकता छ कि छैन ?

न्यायाधीशको पनि सम्पत्ति छानबिन गर्न आवश्यक छ । सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो । त्यसले आम मानिसलाई समाजमा कसको सम्पत्ति कति छ ? कसरी बसेको रहेछ भन्ने थाहा हुन्छ । न्यायपरिषद्मा न्यायाधीशको सम्पत्ति विवरण पेश गर्नैपर्छ । विवरण पेस गरेको त हुन्छ, तर गोप्य रहन्छ । तर सार्वजनिक गर्न आपत्ति मानिनु हुँदैन ।

अवैध देखियो भने नि ।

सम्पत्ति अवैध देखियो भने छानबिन पनि हुनुपर्छ । सर्वोच्चका तत्कालिन न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित आयोगले सम्पत्ति छानबिन गरेर प्रतिवेदन पनि बुझाएको थियो । तर त्यसको के निश्कर्ष आयो ? कसको कति सम्पत्ति देखियो ? अस्वाभाविक थियो कि थिएन ? त्यो कुरो बाहिर प्रकाशमै आएन । त्यो ल्याउन जरुरी थियो । अहिले आयोग नबने पनि को न्यायाधीशले कति सम्पत्ति घोषणा गरेको हो भनेर आउनु वेश हुन्छ ।

त्यतिबेला केही न्यायाधीशको सम्पत्ति छानबिनका लागि न्यायपरिषद्मा पनि पठाएको सुनिएको हो । तपाईं पनि परिषद् अध्यक्ष हुनुभयो, किन छानबिन प्रक्रिया अघि बढाउनुभएन त ?

त्यो प्रतिवेदन मकहाँ कहिले पनि पेस भएन । मेरो जानकारीमा पनि आएन । प्रतिवेदनबारे मलाई थाहा भएन ।

न्यायिक भ्रष्टाचार र विकृतिको नेपाल बार र वकिलले सधैं आवाज उठाउँछन् । उनीहरूको कुनै भूमिका छैन ?

उनीहरूको अत्याधिक भूमिका छ । किनभने वकिल भनेकै अदालतका अफिसर हुन् । सिद्धान्ततः त्यही हो । अदालतको गरिमा घट्न गयो र अदालत स्वतन्त्र रहेन भने वकालत पेसा पनि धरापमा पर्छ । त्यसैले वकिल न्यायिक स्वतन्त्रताको पक्षमा रक्षाकबज बन्नैपर्छ ।

न्यायिक स्वतन्त्रताको कुरो गर्नु भो । त्यो स्वतन्त्रता कस्तो खालको हो ?

म जहिले पनि भन्छु, न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वच्छन्दता होइन । संस्थाको स्वतन्त्रता हो । ताकि न्यायाधीशले स्वतन्त्र भएर न्याय सम्पादन गर्न सकोस् । न्यायाधीशलाई दबाब नहोस् कि यो मुद्दा छिन्दा महाभियोग झेल्नुपर्छ भनेर । सही ढंगले मुद्दा छिन्दा पनि राजनीतिक पार्टीको आसय नबुझेर महाभियोग लाग्छ कि भनेर वा सत्तामा रहेका मन्त्रीको इच्छाअनुसार मुद्दा छिन्दा मलाई बदनाम गर्छ कि भनेर न्यायाधीशमा भय हुनु हुँदैन । महाभियोगबाट मात्रै सर्वोच्चको न्यायाधीश जाने, अख्तियारले हेर्न नपाउने भनेर ‘सिस्टम’ राखेको कारण नै त्यही हो । ताकि भयरहित वातावरणमा न्यायाधीशले न्यायसम्पादन गर्न सकोस् ।

न्यायाधीश इजलासमा बस्दा न्यायाधीशले स्वतन्त्रतापूर्वक मुद्दा छिन्ने वातावरण हुनुपर्छ ।

वकिलहरूले सधैं न्यायपालिकातिर फर्केर मात्रै भ्रष्टाचारको कुरा निकाल्छन् नि किन होला ?

त्यही त दुर्भाग्य । तपाईंले नै एउटा अनुसन्धान गर्नुस् न । कति वकिल आय करको दायरामा छन्, कति वकिलले प्यान नम्बर ल्याएको छ, कति वकिलले ‘रिटन फाइल’ गर्छ, कति वकिलले कर तिरेको छ र वकिलको कमाइको हैसियतले त्यो कर स्वाभाविक देखिन्छ कि देखिँदैन ? कर कार्यालय पनि यसमा जागरुक हुनुपर्छ । आन्तरिक राजस्व विभाग पनि । वकिल भन्दैमा त कहाँ छुट हुन्छ र ? कर त वकिलले पनि तिर्नुपर्छ ।

कर तिर्दैनन् भने आय करको कानुनले कारबाही गर्नुपर्छ । वकिलहरू कर नतिर्ने अनि न्यायाधीश मात्र भ्रष्टाचार भयो भन्न त कहाँ पाइन्छ ? मैले तपाईंलाई भ्रष्टाचारी भन्छु भने म त कमसेकम ‘क्लिन’ हुनुपर्‍यो नि । कम्तिमा त्यो हैसियत त मसँग हुनुपर्‍यो । त्यसकारण वकिल बन्धुहरूले पनि एउटा इमान्दारिता त देखाउनुपर्ने हुन्छ ।

न्यायपालिकाका विकृति हटाउने सन्दर्भमा होस् या सेवाग्राहीको पीरमर्का बुझेर हितमा जान बारको भूमिका पनि कमजोर भएको हो कि ?

हो । बार ‘डिभाइडेड’ भयो । पहिले पहिले जुनसुकै आस्थाको भए पनि बारको मुद्दामा एक ढिक्का भएको अवस्था थियो । स्वतन्त्र न्यायपालिका, कानुनको शासनमा एकगठ थियो । अहिले आस्थैपिच्छे अवधारणा पनि फरक आए, अनि आस्थापिच्छे समर्थन र विरोध पनि आए । यो हुनु प्रितिकर होइन । बार सबल हुनैपर्छ । स्वतन्त्र न्यायपालिका कायम गर्न बार र बेञ्चको सहकार्य जरुरी छ ।

 न्याय महँगो भयो । गरिबको पहुँचबाहिर गयो भन्ने गुनासो छ नि ?

न्याय निश्चय पनि महँगो छ । हाम्रो ‘सिस्टम’ ले गर्दा पनि वकिलको ‘फि’ को कारण पनि । वकिलको फि तोक्न सकिँदैन । यसको उपाय के हुन्छ भने राज्यले ‘फ्रि लिगल एड’ को सिस्टमलाई झारा टार्ने हिसाबले नभई आर्थिक कारणले न्यायमा पहुँच नभएर वञ्चित हुनुपर्ने अवस्थाका सेवाग्राहीलाई गतिलो वकिल दिने किसिमको हुनुपर्‍यो । भर्खरै पेसामा आएको होइन कि महँगै वकिल राखिदिने, तर राज्यले पैसा बेहोर्ने हुनुपर्छ । गरिबलाई न्यायमा पहुँचका लागि ‘फ्रि लिगल एड’ अवधारणालाई एकदमै अघि बढाउन जरुरी छ ।

प्रसंग बदलौं । यहाँ मानवअधिकार आयोगको पनि अध्यक्ष हुनुहुन्छ, आयोग के गर्दैछ ?

मानवअधिकार आयोगले संविधानले सुम्पेको जिम्मेबारीअनुसार अध्ययन गर्ने, अनुसन्धान गर्ने, मानवअधिकारको अनुगमन र प्रबद्र्धनका काम गर्ने, उजुरीमा सिफारिस गर्ने, राज्यलाई नयाँ कानुन बनाउन उद्दत गर्ने, अन्तर्राष्ट्रिय अनुबन्धअनुरूपको कानुन छ कि छैन त्यसलाई हेर्ने, उजुरीको निराकरण गर्ने विषयमा केन्द्रित छ ।

आयोगको आयोजनामा पहिलोपल्ट साउथ एसियन राष्ट्रका मानवअधिकार आयोगको सम्मेलन यही चैत २६, २७ र २८ गते काठमाडौंमा हुँदै छ । यस क्षेत्रमा विद्यमान दण्डहीनता, आप्रवासी कामदारका समस्या, मानव ओसारपसार, स्मग्लिन, शरणार्थीका समस्या जस्ता साझा सरोकारका विषयमा कसरी समाधान गर्ने भनेर बृहत् छलफलपछि निष्कर्ष पनि आउने छ ।

कारबाहीका लागि आयोगले गरेका सिफारिस त सरकारमा पुगेर अलपत्र परेका छन् । आयोगले केही कारबाही गर्न सक्दैन ?

दुःखका साथ भन्नुपर्छ । हामीभन्दा अघिका करिब तीन–चार हजार सिफारिस छन् । तर मुद्दा एउटा पनि चलेको छैन । तर अहिले एउटा सुखद् लक्षण देखा परेको छ । पूर्व कानुनमन्त्रीसमेत रहेका महान्यायाधिवक्ता अग्नि खरेलसँग दुई–दुई पटक औपचारिक रूपमा भेटेर कसरी अघि बढ्ने, सिफारिस कार्यान्वयनमा के के व्यवधान छन् भनेर छलफल अघि बढेको छ । आशा छ अब यस्ता केही मुद्दा अघि बढ्ने छन् ।

३१. यहाँले भनेअनुसार आयोगले सिफारिस गर्दै जाने, कार्यान्वयन भने नहुने । आयोगलाई कारबाहीको अधिकार छैन ?

सिफारिस कार्यान्वयन नगरेको विषयमा कारबाही गर्न आयोगलाई ‘एक्जुकेटिभ’ अधिकार छैन । फेरि सिफारिसै हो । बाहिरको अनुभव हेर्दा पनि त्यही छ । आयोगले फौजदारी मुद्दा दर्ता गर्न सक्दैन । संरचनै महान्यायाधिवक्ताको कार्यालयबाट दर्ता गर्ने भन्ने छ । तर ती सिफारिस कार्यान्वयन गर्न के व्यवधान भयो भनेर अहिलेसम्म सरकारबाट कुनै आधिकारिक जानकारी नै आएको छैन । भारतमा पनि मैले अस्ति हेरें । आयोगका सिफारिस सरकारले अक्षरशः कार्यान्वयन गर्दो रहेछ । यहाँ पनि क्षतिपूर्तिको पाटो कार्यान्वयन भएको छ, तर फौजदारी मुद्दा दायर गर्ने विषयमा भने चुपचाप छ । पिडकलाई फौजदारी मुद्दा चलाउन पन्छिने अवस्था छ ।

मानवअधिकार उल्लंघनकर्तालाई ‘कालोसूची’ मा त राख्न सकिन्छ होला नि ?

त्यो पहल भएको छ । अन्तिम चरणमा छ । त्यस्ता व्यक्ति वा पदाधिकारीको नाम यकिन गर्ने काम भइरहेको छ । २०५८ सालदेखिको तथ्यांक संकलनको क्रममा छ । कालोसूची नै भन्ने त छैन । त्यसमध्येबाट नाम भने सार्वजनिक हुन्छ ।

द्वन्द्वकालीन गम्भीर अपराधलाई उन्मुक्ति दिने कानुन बन्दैछ भन्ने चर्चा छ । त्यस्ता अपराधमा उन्मुक्ति दिन मिल्छ र ?

बलात्कार भन्नुस्, व्यक्ति हत्या भन्नुस्, जबर्जस्ती कब्जा भन्नुस् ती अपराधै हुन् । यस्ता अपराधलाई राजनीतिक जामा पहिर्‍याएर उन्मुक्ति दिन कुनै हालतमा मिल्दैन । यसमा आयोगको प्रस्ट धारणा छ । द्वन्द्वका क्रममा आमनेसामने भएर गोलीहानाहानमा मर्ने त सामान्य भयो । त्यो ‘प्रपस्ली’ हत्या हुँदैन । तर कब्जामा लिइसकेपछि मारिन्छ भने त्यो हत्या नै हो । त्यस्तोमा फौजदारी अभियोगअन्तर्गत मुद्दै चलाउनुपर्छ । मुद्दा फिर्ता पनि अदालतको स्वीकृतीबिना हुँदैन । यहाँ कारबाही भएन भने अन्तर्राष्ट्रिय हस्तक्षेप हुनसक्छ । जस्तो कम्बोडियामा भयो । श्रीलंकामा सुनिँदै छ । श्रीलंकाको त धेरै पुरानो घटना हो । त्यो खतराबाट हामी बच्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.