पहिलो सुटिङ : एक टेकमै ओके
त्यतिबेला सरकारले नै सिनेमा बनाउँथ्यो। प्रचार प्रसार मन्त्रालयअन्तर्गतको प्रसार विभागले सिनेमाको निर्माणको काम गथ्र्यो। विभागले निर्माण गरेको सिनेमा ‘परिवर्तन’ मेरो पहिलो सिनेमा हो।
२०२४ सालतिर मैले नाटकमा अभिनय गर्न थालिसकेको थिएँ। त्यसैले अभिनय मेरा लागि नौलो विषय नभए पनि ‘परिवर्तन’मा क्यामराको अगाडि अभिनय गर्नु भनेको पहिलो पटक नै थियो। वरिष्ठ पत्रकार नेपालभूषण न्यौपानेले मलाई सिनेमाका निर्देशक हीरा सिंहकहाँ लगेर परिचय गराइदिनुभएको थियो। म अडिसनबाट छानिएर सानो भूमिका पाएँ। यसको सुटिङ सोल्टी होटेलमा हुनेवाला थियो। त्यसमा अमेरिकाबाट पढेर फर्केको एक व्यक्तिको भूमिका मैले निभाउनुपर्ने थियो। सिनेमामा प्रचण्डशमशेर नाम गरेका पात्रको भूमिकामा मैले अभिनय गरेको थिएँ।
पहिलो पटक क्यामरा फेस गरेकाले वास्तवमा म त्यतिबेला एकदमै नर्भस भएको थिएँ। तर मेरो अभिनय एकै टेकमा ओके भएको थियो।
पहिलो पटक क्यामरा फेस गरेकाले वास्तवमा म त्यतिबेला एकदमै नर्भस भएको थिएँ। तर अभिनयको पालो आएपछि ती सबै कुरा बिर्सेर आफ्नो भूमिकालाई सक्दो न्याय गर्ने कोसिस गरेँ। मेरो अभिनय एकै टेकमा ओके भएको थियो। सिनेमामा मेरो पहिलो प्रयास भए पनि मेरो अभिनय देखेर निर्देशक पनि एकदमै खुसी हुनुभयो। उहाँले मलाई तिमीले सिनेमा क्षेत्र नछाड्नु भन्नुभयो। यसैको निरन्तरता स्वरूप म आजसम्म पनि सिनेमा क्षेत्रमा सक्रिय छु।
त्यतिबेला मैले सिनेमा खेल्ने भन्ने प्रस्ताव मेरो परिवारलाई त्यति स्विकार्य थिएन। उहाँहरूले यस विषयलाई त्यति सकारात्मक रूपमा पनि लिनुभएको थिएन। तर म आफ्नो निर्णयमा अडिक रहेँ।
‘परिवर्तन’ पछि मैले दार्जिलिङमा प्रकाश सुब्बाको निर्देशनमा ‘पोनी ब्वाई’मा अभिनय गरेँ। त्यसपछि नेपालमा पनि शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो। यसैले निर्माण गरेको ‘मनको बाँधमा’ पनि मैले अडिसन दिएर नै अभिनयको मौका पाएँ। यसपछि मेरो यात्रा रोकिएन। ‘कुमारी’, ‘सिन्दूर’ हुँदै आजसम्म पनि सिनेमामा पाइला बढाइरहेको छु।
कुराकानी : रामकला खड्का
प्रतिक्रिया दिनुहोस !