एकलौटी रूपमा गण्डक बाँध मर्मत गर्दै भारत
परासी : नेपाललाई बिना कुनै जानकारी भारतले एकलौटी रूपमा गण्डक बाँधको मर्मत सुरु गरेको छ। नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत पर्ने नारायणी नदीमा बनेका बाँधहरूको भारत पक्षले मर्मत गरिरहेको छ। मर्मत कार्यबारे नेपाल पक्षले जानकारी दिन भारतसँग माग गरेको छ। गण्डक सम्झौतामा संरचना निर्माण र मर्मत गर्दा नेपाल र भारत पक्षका इन्जिनियर र प्रशासनको संयुक्त अनुगमन हुनुपर्ने उल्लेख छ।
मर्मत र निर्माण कार्य थालनी गर्नुपूर्व भारतले नेपाली पक्षलाई लागत स्टिमेटसहित प्राविधिक विषय जानकारी दिनुपर्ने प्रावधान भए पनि त्यसबारे कुनै जानकारी नदिइएको नेपाली अधिकारीहरूले जनाएका छन्। आफूखुसी गरेको मर्मत कार्य गुणस्तरहीन भएको नेपाली अधिकारी र इन्जिनियरहरूले बताएका छन्। भारत सरकारको यूपी प्रदेशअन्तर्गत सिँचाइ तथा गण्डक विभागले सुस्ता गाउँपालिकाअन्तर्गत पर्ने पक्लिहवादेखि नर्सहीसम्मको बाँध मर्मत कार्य गरिरहेको छ।
नेपाली पक्षका प्राविधिक र प्रशासनको संयुक्त अनुगमनमा काम गर्नुपर्ने भए पनि त्यसबारे आफूलाई कुनै जानकारी नदिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए। गण्डकमा कामको प्राविधिक स्टिमेटसहितको कागजपत्र उपलब्ध गराउन नवलपरासीस्थित सिँचाइ डिभिजन कार्यालयमार्फत भारतीय सिँचाइ विभागसँग माग गरिरहेको प्रजिअ राना मगरले बताए।
‘भारतले गरेको कामबारे हामीले गण्डकमा पुगेर अनुगमन ग¥यौं, तर प्रभावकारी देखिएन। मर्मतमा भइरहेको निर्माण सामग्रीसमेत गुणस्तरहीन देखिएको छ। संयुक्त रूपमा अनुगमन गर्न भारतीय सिँचाइ विभागसँग कागज मगाएका छौं। कागज उपलब्ध भएपछि कुल लागतसहित प्राविधिक विषय स्ष्ट हुन्छ,’ प्रजिअ राना मगरले भने, ‘जहिले पनि स्टिमेट माग्दा भारतीय पक्षले आलटाल गर्ने गर्छ।’
भारतले गण्डक बाँध मर्मतका नाउँमा करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ। तर गुणस्तरहीन कामले वर्षायाममा कटानको समस्या रोक्न नसकिएको स्थानीय बताउँछन्। यसवर्ष ठोकर नं १० देखि १५ सम्म मर्मत कार्य भइरहेको छ। करिब १० करोड बढीको लागतमा मर्मत कार्य भएको हुन सक्ने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।
आफूखुसी गरेको मर्मत कार्य गुणस्तरहीन भएको नेपाली अधिकारी र इन्जिनियरहरूले बताएका छन्।
हरेक वर्ष १० करोड बढीको काम हुँदै आएको छ। त्यसैले यसवर्ष पनि सोहीबराबरको अनुमान छ। नेपाली पक्षको दबाबपछि मात्र भारत सरकारले स्टिमेट देखाए पनि उक्त स्टिमेट पूर्ण हुँदैन।
बाँध मर्मतका लागि प्रयोग हुने नदीजन्य पदार्थसमेत भारतीय पक्षले नारायणी नदीबाटै निकाल्ने गरेका छन्। नदीको बीचबाटै नदीजन्य पदार्थ निकालिएकाले नदीले धार परिवर्तन गरी गण्डक बाँधलाई थप क्षति पु¥याउने र नेपाली भूभाग डुबाउने अध्यक्ष पाण्डेले बताए। ‘जथाभावी रूपमा नदीबाट बालुवा निकाल्न पाइँदैन,’ उनले भने।
मर्मतका नाउँमा बोरामा बालुवा मात्र राखेर काम भइरहेको नवलपरासीस्थित सिँचाइ डिभिजन कार्यालय सेमरीका प्रमुख इन्जिनियर टीकाराम बरालले बताए। स्परहरूको तलबाटै मर्मत गर्नुपर्ने देखिन्छ। जीर्ण अवस्थामा रहेका बाँध मजबुत बनाउन बालुवा भरेर राखेको बोराले मात्र थेग्न नसक्ने बरालले बताए। बाँधमा नयाँ जाली र ब्लक राखेर मर्मत गर्दा केही बलियो हुने भए पनि त्यसो नगरी सामान्य मर्मत गरिएको उनले बताए। बाँध मर्मतबारे प्राविधिक स्टिमेट नहुँदा त्यसबारे थाप जानकारी पाउन नसकिएको उनले बताए।
जिल्ला प्रशासनको निर्देशनअनुसार भारतको सिँचाइ विभागसँग लागत स्टिमेटसहित कागजपत्र माग गरिएको उनले बताए। ‘साइटमा जाँदा प्रमुख इन्जिनियरहरू भेटिँदैनन्, सबै काम मजदुर र उनले राखेका सुपरभाइजरले मात्र गरेको देखिन्छ। प्राविधिकहरूको उपस्थितिबिनै गरिएको काम गुणस्तरहीन र प्रभावकारी हुन नसक्ने त्यसै प्रस्ट हुन्छ,’ प्रमुख इन्जिनियर बरालले भने।
उनले भारतीय भूमिमा अहिले निर्माण भइरहेको बाँधले पनि नेपालतर्फको बाँधलाई थप समस्यामा पार्ने बताए। नेपालतर्फको बाँध कमजोर भएको र भारतले पूर्वतर्फ आफ्नो भूमिमा बनाएको बाँध भने मजबुत रहेका कारण पनि नेपाली भूभाग वर्षायाममा सुरक्षित हुन नसक्ने देखिएको बरालले बताए।
भारतले नर्सहीको ठोकर नं १२ को पूर्वी क्षेत्रमा पर्ने भारतीय भूमिमा ६ मिटर चौडाइ लामो बाँध निर्माण गरिरहेको छ। गण्डक बाँधका कारण हरेक वर्ष दक्षिण भेगका १० बढी गाउँ डुबानमा पर्दै आएका छन्।