'प्राथमिकताका आधारमा विकास गर्छौ'
ललितपुर महानगरपालिका प्राचीन नगरी भए पनि विकासका दृष्टिकोणले अझै पछाडि छ । १९७२ सालमा स्थापना भएको यस नगरले वैशाख १ गते एक सय वर्ष पूरा गरेको उपलक्ष्यमा शतक महोत्सव मनाउँदै छ । यसै क्रममा महानगरपालिकालाई ‘पेपरलेस’ भएको घोषणा गर्दै छ । चालू आर्थिक वर्षको कुल बजेट तीन अर्ब २२ करोड भएको यसले चालू आर्थिक वर्ष नै आन्तरिक आय एक अर्ब १६ करोड पु¥याउने योजना अघि सारेको छ । फ्लाई ओभरदेखि मोनोरेलसम्मका योजना अघि सारेका मेयर चिरिबाबु महर्जनसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले समग्र विकास निर्माणबारे गरेको कुराकानी :
ललितपुर महानगरपालिका भएको छ, प्रमुखका हैसियतले यसको अनुभूति महानगरबासीलाई कसरी दिनुहुन्छ ?
पहिलो नम्बरमा सुशासन दिनेछु । दोस्रो विकास निर्माणका कामहरू गर्नेछु । त्यसपछि सरसफाइमा जोड दिनेछु । चाँडै नै यी तीन कुरामा महानगरबासीले यो महानगर हो, भयो भन्नेछन् ।
उपत्यकाभित्रै सिमाना जोडिएका दुईवटा महानगरपालिका भए, ललितपुर कसरी पृथक् हुन सक्ला ?
ललितपुरको पृथक् पहिचान छ, सम्पदाले । निकट भविष्यमै ललितपुरलाई ‘कलाको सहर’ बनाउँदै छौं, घोषणा गर्न गइरहेका छौं । काठमाडौं उपत्यका खासै ठूलो नभएको र दुई महानगरसहित थुप्रै नगरपालिका भएकाले कुनै पनि मेगा प्रोजेक्ट सञ्चालन गर्नुपरे एकआपसमा मिलेर काम नगरे सुखै छैन । मोनोरेल सञ्चालन गर्न गोदावरी र बूढानीलकण्ठ नगरपालिकासँग सहकार्य हुनुपर्छ भनेर जोडिँदै छौं । यसबाहेक पनि सरसफाइ आदिमा सहकार्य जरुरी छ । काठमाडौं महानगरपालिकाको जति फोहोर व्यवस्थापनमा हामीसँग स्रोत र साधन छैन । अहिले पनि हामी काठमाडौंको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमै यहाँको फोहोर लगिरहेका छौं ।
ललितपुर र भक्तपुरका स्थानीय तहसँग नि ?
महालक्ष्मी र गोदावरी दुई नगरपालिका छन्, यीसँग पनि सहकार्य गर्नुपर्छ । गोदावरी नगरपालिकामा पानीको स्रोत भएकाले सोका लागि काम हुनेछ । उपत्यकाभित्रका नगरपालिका र सांस्कृतिक नगरी पनि भएकाले भक्तपुरसँग सहकार्य गर्नेछौं । दुवैमा सम्पदा भएकाले आवश्यक छ । दुवैमा नेवारको बस्ती धेरै भएकाले कुरा आएको छ ।
निर्वाचनका बेला मेयर हुन के–के आश्वासन दिनुभएको थियो ?
पहिलो नारा नै फ्लाइओभर बनाउने आश्वासन दिएको थिएँ । अहिले त्यसका लागि डिजाइन तयार पार्न कन्सल्ट्यान्ट नियुक्त गर्दै छौं । चक्रपथमा धेरै ट्राफिक जाम भइरहेकाले त्यसका लागि इन्टरसेक्सन राख्नुपर्नेछ । चक्रपथमा ललितपुर महानगर पर्ने चार ठाउँमा यी काम गर्न प्रक्रिया अघि बढाएको छु । महानगरभित्रका कालोपत्रे सडकलाई पानीले सफा गर्छु भनेको थिएँ । यसका लागि इक्विपमेन्ट खरिद गर्दै छौं । सायद यस अवधिमा मेलम्ची आइपुग्छ र हामी सफा गर्नेछौं । सडक बढार्न नियमित नसके पनि समय समयमा गर्दैछौं । यस्ता थुप्रै आश्वासन दिएको थिएँ ।
जितेर आएपछि जनताका अपेक्षा के रहेछन् ?
भोट दिएपछि विकास माग्ने अधिकार जनतामा हुन्छ नै । धेरै माग आएका छन् । मेयर साब यसोउसो गर्छु भन्नुभएको थियो खै भन्न थालिसक्नुभएको छ । नेपालको पुरानो नगरपालिका भएकाले कर्मचारीतन्त्रको मानसिकता अझै पुरानै छ । निर्वाचित भएको केही समयपछि मात्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ आइपुग्यो । त्यसअघि नेपाल सरकारले आदेश दिएको थियो । आदेशमा ज्यालादारी कर्मचारी राख्न र खर्च गर्न पाइँदैन भनेर नाकाबन्दी गरिएको थियो । ऐनपछि कर्मचारी लिन पाउने सुविधा छ । चैत २८ मा ६ महिना सकिएपछि कर्मचारी राखेर काम गर्छौं । जनताले सरसफाइ, ट्राफिक जाम, खानेपानी, सामाजिक सुरक्षा र सुशासन खोजिरहेका छन् ।
विकासका लागि तपाईंका प्राथमिकता केके हुन् ?
सफाइ मेरो प्राथमिकता हो । साधन कम छन्, तुरुन्तै गर्दै छु । सफाइमा अब मान्छेले कुचो लगाउने होइन कि स्वचालित यन्त्रबाट सडक बढार्ने आदि काम हुनेछ । महानगरपालिकाले दिने सेवा र जनताले पाउने सुविधाबीचको खाडल हटाउनेछु । कर्मचारी र जनताबीच भेट नहुने गरी वैशाख १ गतेदेखि इलेक्ट्रोनिक सिस्टम सुरु गर्छौं । अब इन्जिनियरले अनलाइन नक्सा पेस गर्छ, कर्मचारीले स्वीकृत दिन्छ । सांस्कृतिक नगरी भएकाले सम्पदा क्षेत्रमा तीन वर्षभित्र पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा बनिसक्छन् । पाँचौं सुशासन हुनेछ । डिजिटल सेवा र ई–गभर्नेन्समा पनि जाँदै छौं । वैशाख १ गते शतक महोत्सव मनाउँदा महानगरपालिका पेपरलेस भएको घोषणा गर्दै छौं ।
सम्पदायुक्त नगरी भए पनि पर्यटक किन कम ?
ललितपुरमा पर्यटक नआएका होइनन् । तर आधा दिन मात्र बिताउँछन् । भन्नैपर्दा पर्यटकमैत्री छैन । उनीहरूका लागि खासै सहज व्यवस्था पनि छैन । न शौचालय छ, घुम्न जाँदा सम्पदा क्षेत्र ट्राफिक जामका कारण अस्तव्यस्त छ । पर्यटकले जुन शुल्क तिर्छन्, त्यो एकदिने पास हुन्छ । बिनासुविधा एक दिनको सुविधा भएकाले एउटै पासले ७२ घन्टा घुम्न पाउने व्यवस्था गर्दै छौं । शौचालयहरू बन्दै छन् । नगर यातायात सञ्जालका लागि काम धमाधम भइरहेको छ । मुलुकमै अहिले करिब १० लाख आएका छन्, ललितपुरमा उठेको रकमलाई आधार मान्दा त्यसको ४० प्रतिशत आएको देखिन्छ । अमूर्त सम्पदा यथेष्ट छन्, विश्व बैंकसँग मिलेर योजना सञ्चालन गर्दै छौं । मूर्त सम्पदालाई पनि तीन वर्षभित्र पुनर्निर्माण गर्नेछौं । काठमाडौंमा घोडेजात्रा हुन्छ, यहाँ एकल घोडा दौडाउने जात्रा छ जसमा उता जति नै हेर्न आउँछन् ।
फोहोर व्यवस्थापन व्यवस्थित पार्न के गर्दै हुनुहुन्छ ?
ललितपुर महानगरभित्रको फोहोर संकलन काठमाडौंस्थित सिसडोल ल्यान्डफिल साइटमै विसर्जन गर्ने हो । सधैं परनिर्भर हुनु भएन भनेर खोकना÷बुङमतितिर ठाउँ खोजेका छौं, त्यसका लागि प्रक्रिया अघि बढाएका छौं । यसबाहेक जापानको वातावरण राज्यमन्त्रीको निमन्त्रणामा त्यहाँ पुग्दा उसले इन्सिनेटर मेसिन दिने भएको छ । त्यो सिस्टम देखाउँदा एकदमै व्यवस्थित थियो, त्यहीँ हामी गर्दै छौं । उसले दुई सय रोपनीमा त्यो परियोजना सञ्चालित भएको बताएको थियो, नेपाललाई त्योभन्दा केही सानो हुन्छ । फोहोरमैलाका लागि अहिले ३६ करोड रुपैयाँ खर्चिरहेका छौं । काठमाडौंमा फोहोर फालेबापत ओखरपौवाको विकास निर्माणमा सहयोग गरिरहेका छौं, एम्बुलेन्स, स्कुल, सडक आदिमा ।
आत्मनिर्भर बन्नका लागि ब्रुमर, लोडर, ट्रिपर (साना, ठूला) आदि साधन खरिद गर्दैछौं । विश्व बैंकसँग परियोजना सञ्चालन गरिरहेका छौं भने अब जापान र कोरियन सरकारसँग पनि सहकार्य गर्न प्रक्रिया अघि बढाएका छौं । अबका दिनमा फोहोरलाई स्रोतमै वा कुनै ठाउँ विशेषमा लगेर छुट्याएर व्यवस्थापन गर्छौं । काम नलाग्ने इन्सिनेटरमा हालेर जलाउँछौं । जलाएर पनि प्रांगारिक मल बन्छ । ‘कवाडी’ नामको एप्स प्रयोगमा ल्याउँदै छौं । यसले आसपासबाट खबर आउँछ, हामी कवाडीवालालाई संकलन गर्न पठाउँछौं । कवाडी सामान बाहिर जाँदा कर लिन मिल्ने भएकाले कवाडीवालासँग कर लिनु भनेर महाशाखा प्रमुखलाई भनेको छु ।
आन्तरिक आयलाई कसरी बढाउँदै हुनुहुन्छ ?
यसको एउटै विकल्प कर उठाउने हो । वार्षिक ४० करोडको राजस्व उठिरहेको छ । तर हाम्रो लक्ष्य भनेको एक अर्ब १६ करोडको प्रक्षेपण छ । यो सम्भव छ किनकी अहिले स्थानीय सरकार सञ्चालन ऐन आइसकेको छ । मुलुकको संविधान हेरेर व्यवस्थापन ग¥यौं । यसको अनुसूची आठ र नौमा स्थानीय तहलाई दिएको अधिकारअनुसार नै प्रक्षेपण गरेका हौं घरबहाल कर १२ प्रतिशत र मालपोत दस्तुर ५० प्रतिशत उठाउन पाउँछौं । योसँगै यातायातको कर पनि छ । त्यसैले यो रकम सजिलै उठाउँछौं । प्रदेशको ऐन नआइसकेकाले अनुसूचीको व्यवस्थाको रकम÷कर एक पैसा पनि आएको छैन ।
महानगरभित्र करिडोर निर्माणको सम्भावना कति छ ?
नख्खु करिडोर बनिरहेको छ । जे जति खोलिसक्नुपर्ने हो स्थानीयको विवादले खुलिसकेको छैन । यो करिब चार किलोमिटर लामो छ । वाग्मती करिडोरको ललितपुर क्षेत्रमा काम धेरै वर्षदेखि भइरहेको छ, राम्रो आकार लिइसकेको छ । यो तीनकुनेबाट झन्डै दुई किलोमिटर वरदेखि चोभारको गल्छीसम्म झन्डै १०/११ किलोमिटर छ ।
चुनौतीहरू पनि उत्तिकै होलान् नि ?
चुनौती थुप्रै छन् । जनताका अपेक्षा र माग एकदमै बढी छन् । कर्मचारीको ह्याङओभर बाँकी छ । विकास निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति पनि कम छ । बजेटको पनि समस्या छ । राजनीतिक रूपमा कठिन किन छ भने विपक्षी एमाले र माओवादीको बोलवाला छ । कार्यपालिकामा ३९ जना छन् तर हामी नेपाली कांग्रेसका १२ जना मात्र छौं । अरू मुलुकमा सहरको प्लानिङ गरेपछि बस्ती बस्छ । तर यहाँ बस्ती बसेपछि प्लान गर्नुपर्ने अवस्था छ । यसले धेरै गाह्रो छ । यातायात सपार्न अब घर भत्काएर हुँदैन । ससानो सवारी साधनलाई निरुत्साहित गर्दै ठूलालाई प्रोत्साहित गर्नुपर्नेछ । यातायातको समस्या विकराल छ । धूवाँ र धूलो व्यवस्थापन अर्को चुनौती हो ।