अब विद्यालयमा १३ रङ

अब विद्यालयमा १३ रङ

काठमाडौं : अबदेखि मुलुकका सबै विद्यालय भवनमा एकै प्रकारको रङ प्रयोग गर्नुपर्ने भएको छ। शिक्षा विभागले हालै मुलुकभरका सबै शैक्षिक संस्थालाई पत्राचार गरेर एकै प्रकारको रङ प्रयोग गर्न निर्देशन दिएको हो। भवनको संरचनाअनुसार बाहिरपट्टि नौ र भित्रपट्टि चार प्रकारको गरेर १३ प्रकारको रङ प्रयोग गर्नुपर्ने विभागले बताएको छ।

यस्तो रङ विद्यालय भवन, विद्यालय परिसरमा बनेका अन्य भवन तथा शौचालयमा समेत प्रयोग गर्नु पर्नेछ। सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका-२०६९ को व्यवस्थाअनुसार रङ प्रयोगलाई अनिवार्य गराउन लागिएको विभागले स्पष्ट पारेको छ। त्यसअनुसार विद्यालय भवन बाहिरपट्टिको मूख्य भागमा प्लास्टर गरिएको छ भने फिक्का पहेंलो रङको प्रयोग गर्नु पर्नेछ। यो रङलाई उज्यालो र बुद्धिजीवी वर्गको प्रतीकका रूपमा अथ्र्याइएको छ।

कुन रङ किन ?

उज्यालो र बुद्धिजीवी वर्गको प्रतीक -पहेंलो

सबैसँग मेल खाने र स्वच्छन्दताको प्रतीक -सेतो

घामपानीसँग प्रत्यक्ष सम्पर्कमा आउने र मैलो नदेखिने-खरानी

त्यस्तै, बाहिरपट्टिको मुख्य भागमा प्लास्टर गरिएको छ र ढुंगा वा इँटाको गारो मात्र लगाइएको छ भने पारदर्शी रसायनको प्रयोग गर्नु पर्नेछ। गारोमा प्रयोग भएको सामग्रीलाई नछोपी घामपानीबाट मात्र बचाउन यस्तो रङको प्रयोग गर्न उपयुक्त हुने विभागको भनाइ छ। भवनको बाहिरी भागकै ठाडो वा तेर्सो ब्यान्डमा सेतो रङको प्रयोग गर्नुपर्नेछ। यो रङ सबै रङसँग मेल खाने तथा यसलाई स्वच्छन्दताको प्रतीकका रूपमा पनि अर्थ लगाइन्छ। भवनको फेसिया वा अग्रभागमा खरानी रङ प्रयोग गर्नु पर्नेछ। यसलाई घामपानीको प्रत्यक्ष सम्पर्कमा आउने तथा छिटो मैलो नदेखिने रङको रूपमा लिइन्छ।

अरू भागको रङसँग संयोजनका लागि झ्यालढोकाको चौकोस र खापामा सेतो वा खैरो गाढा र ग्रिलमा पनि खैरो गाढा रङ प्रयोग गर्नु पर्नेछ। त्यस्तै, भित्री भागअन्तर्गत भर्‍याङको भित्ताको माथिल्लो करिडोरमा सेतो तथा तल्लो करिडोरमा खैरो रङ, कक्षाकोठाको भित्तामा क्रिम वा आइभोरी रङ, सभाकक्ष र सिलिङमा सेतो रङ लगाउनु पर्नेछ। विभागका निर्देशक केशव दाहालका अनुसार सार्वजनिक विद्यालयमा मात्र यस्तो रङलाई अनिवार्य गरिएको हो।

उनले भने, ‘निजी विद्यालयमध्ये सबैको आफ्नै भवन छैन। अर्काको घरमा बसेकालाई यो रङ लगाऊ र त्यो रङ नलगाऊ भन्न मिल्दैन।’ सार्वजनिक विद्यालयमध्ये पनि भर्खरै बनेका र रङ लगाउन बाँकी रहेकालाई मात्र यो नियम बाध्यकारी छ। ‘पहिले नै रङ लगाइसकेका विद्यालयलाई फेरि अर्को रङ लगाऊ भनेको होइन। यदि, नयाँ रङ लगाउनुपर्ने अवस्था छ भने मात्र हामीले तोकेअनुसार रङ लगाऊ भनेका हौं, ’ दाहालले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.