हुण्डीको रकम नदिन व्यवसायीमाथि गोली

हुण्डीको रकम नदिन व्यवसायीमाथि गोली

 

भैरहवा : भैरहवाका व्यवसायी हरिस सेठियामाथि भएको गोली प्रहारको घटना अवैध कारोबार हुण्डीसँग जोडिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले एक भारतीय नागरिकले हुण्डी कारोबारबापत ३५ लाख भारतीय रुपैयाँ व्यवसायी सेठियालाई दिनुपर्ने हुँदा उक्त रकम दिन नपरोस् भन्ने उद्देश्यले ती भारतीयले सेठियाउपर गोली प्रहार गर्न लगाएको अनुसन्धानमा पाइएको बताए।

सेठियामाथि फागुन १ गते र २८ गते गरी २ पटक गोली प्रहार भएको थियो। फागुन १ गतेको घटनामा सेठियाका ‘व्यवसायी पार्टनर’ भैरहवाका आलु व्यापारी मोहन बनियाँले चलाएको मोटरसाइकलमा पछाडि बसेका सेठियामाथि सुटरले गोली प्रहार गरी फरार भएका थिए। उनको शरीरमा गोलीको छर्रा भेटिएको थियो। ५ दिनपछि घटनाको जानकारी पाएपछि सेठियासँग घटनाबारे बुझ्न खोज्दा घटनाबारे जानकारी दिन आनाकानी गरेको रुपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेले बताए।

फागुन २८ गते राति करिब ९ बजे आफ्नो घरतर्फ जाँदै गर्दा सेठियामाथि पुनः दोस्रो पटक गोली प्रहार भएको थियो। तर, गोली उनलाई लागेन। घटनालगत्तै भाग्ने क्रममा मोटरसाइकलबाट लडेपछि स्थानीयले सुटर भारत महाराजगन्ज थाना कोतवाली मोनजोत ग्राम पञ्चायत नौतनवाका ४६ वर्षीय रोजन उर्फ रमजान मुसलमानलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए र मोटरसाइकल चालक फरार भएका थिए। प्रहरीले फागुन ३० गते मोटरसाइकल चालक भारत जिल्ला महाराजगन्ज नौतनवाका ३० वर्षीय मन्जुर मुसलमानलाई पक्राउ गर्‍यो।

सेठियाको हत्या गर्न उनकै ‘व्यवसायी पार्टनर’ मोहन बनियाँले आफूलाई सुपारी दिएको मन्जुरले प्रारम्भिक बयान दिएपछि प्रहरीले बनियाँलाई पक्राउ गरेको थियो। बनियाँले सुपारी दिएको विषय अस्वीकार गर्दै आएपछि अनुसन्धान अगाडि बढाउने क्रममा मन्जुरले बयान फेर्दैै सेठियाको सुपारी बनियाँले नभई भारत जिल्ला महाराजगन्ज नौतनवा गा्रम ३ का २७ वर्षीय सद्दाम उर्फ मोहम्मद अफजलले बयान दिएको एसपी ज्ञवालीले दाबी गरे। साथै, अफजल योजना बनाउने क्रममै पक्राउ परे बनियाँ नाम पोल्न मन्जुरलाई सिकाएर पठाएको प्रहरीले जनाएको छ।

मन्जुरले अफजलको नाम पोलेपछि प्रहरीले व्यवसायी सेठियालाई अफजलसँग केही प्रश्न सोध्नुपर्ने हँुदा अफजललाई रेस्टुरेन्टमा बोलाउन लगाएर भैरहवाको एसी पब रेस्टुरेन्टबाट फागुन ९ गते शुक्रबार पक्राउ गरेको थियो। प्रहरीका अनुसार सेठिया र अफजल हुण्डी कारोबारी मित्र हुन्। सेठियाको सुपारी अफजल दिएको भए प्रहरीको प्रश्नको सामना गर्न अफजल भैरहवा नआउने विषयले बजारमा चर्चा पाएको छ।

यता, अफजलले सेठियाको हत्या गर्न मन्जुरलाई १० लाख भारुमा सुपारी दिनुका साथै हतियार, गोली, सुटरलगायत सम्पूर्ण जिम्मा दिएको पाइएको एसपी ज्ञवालीले दाबी गरे।

हुण्डीको रहस्य गर्भमै

गोली प्रहार भएको घटना अवैध हुण्डी कारोबारसँग जोडिए पनि प्रहरीले हुण्डीको विषयमा केही सार्वजनिक गरेन। प्रहरीका अनुसार दुई वर्षदेखि सेठिया र अफजलबीच हुण्डीमार्फत आर्थिक कारोबार हुँदै आएको थियो। त्यस्तै, बनियाँ पनि हुण्डी कारोबारी रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। यी तीनै जना हुण्डी कारोबारमा ‘पार्टनर’ रहेको र हुण्डी कारोबारकै कारण घटना घटे पनि प्रहरीले भारतीय नागरिक अफजललाई मात्र पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

पक्राउ परेका अफजल र व्यवसायी सेठिया हुण्डी कारोबारी मात्र रहेको सार्वजनिक गरेको प्रहरीले पक्राउ परेका अर्का हुण्डी कारोबारी बनियाँ निर्दोष देखिएका कारण उनलाई तत्काल छाड्ने तयारी थालिएको एसपी ज्ञवालीले बताए।

‘पक्राउ परेका बनियाँ निर्दोष देखिएका छन्,’ एसपी ज्ञवालीले पत्रकार सम्मेलनमा भने, ‘उनलाई छाड्ने तयारी हुँदै छ।’ प्रहरीले उनीउपर ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गर्दै थुनामा राखेको छ।

घटनामा संलग्न रहेको भन्दै हचुवाको भरमा पक्राउ गर्ने र पछि बयान फेरिएको भन्दै छाड्ने खेलमा ठूलो रकमको चलखेल भएको स्रोत बताउँछ। पक्राउ परेका बनियाँ भैरहवाका धनाढ्य व्यक्ति हुन्। उनी पक्राउ परेलगत्तै उनलाई छुटाउन चलेखेल सुरु भएको थियो। जुन अहिले सफल भएको सरोकारवाला बताउँछन्।

हुण्डी कारोबारी अफजलको बयानका आधारमा प्रहरीले अनुसन्धान गरी घटना सार्वजनिक गरेको भए मुद्रा सटही काउन्टर व्यवसायीदेखि भैरहवाका ठूला उद्योगी व्यवसायीसमेत पक्राउ पर्ने प्रहरी स्रोतको दाबी छ। तर, प्रहरीले हुण्डी कारोबारको विषयलाई छाडेर गोली प्रहारको घटना मात्र सार्वजनिक गरेको छ।

पक्राउ परेका अफजलले नेपालको को-कोसँग अवैध हुण्डी कारोबार गरिरहेका थिए ? कारोबारमा को को संलग्न छन्लगायत विषय गर्भमै छ।

नाम ६ जनाको, सार्वजनिक ४ जना

गोली प्रहार घटनामा ६ जना संलग्न रहेको प्रहरीले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएपनि पत्रकार सम्मेलनको चार जना आरोपीलाई मात्र सार्वजनिक गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको भनी दोस्रो गोली घटनाका सुटर भारतीय नागरिक रमजान मुसलमान, पहिलो र दोस्रो घटनाका मोटरसाइकल एवं घटनाको सुपारी लिने मन्जुर मुसलमान, दोस्रो घटनामा प्रयोग भएको हतियार र गोली घरमा राखेको भैरहवाका नजाबुद्दिन मुसलमानलाई सार्वजनिक गरेको छ। त्यस्तै, पहिलो गोली घटनाका सुटर भारतीय नागरिक अजय जयसवाल फरार रहेको प्रहरीले जनाएको छ। घटनमा संलग्न रहेको तर अभियोग नखुलाएको प्रहरीले मोहन बनियाँको नाम र तस्बिर प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरे पनि पत्रकार सम्मेलनमा बनियाँलाई सार्वजनिक गरेन।

सार्वजनिक गरिएका चारै जनाउपर ज्यान मार्ने उद्योग र हातहतियार खरखजानामा मुद्दा दायर भएको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.