उत्तर प्रदेशमा अपराधविरुद्ध कठोर कानुन
लखनउ : भारतको उत्तर प्रदेश विधानसभाले संगठित अपराधलाई नियन्त्रण गर्न कडा कानुन ‘यूपीकोका विधेयक; मंगलबार पारित गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले पेश गरेको उक्त विधेयक बहुमतले पारित भएको छ ।
यसअघि योगीले पेश गरेको उक्त विधेयक विधान परिषद्ले रोकिदिएको थियो । ‘यूपीकोका’ कालो कानुन भएको बताउँदै विपक्षी दलले भने संसद् बहिष्कार गरेको थियो ।
योगीले विधेयक पेश गर्दै भने, ‘संगठित अपराध एउटा जिल्ला वा राज्यको नभएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषय बनेको छ ।’ अपराध नियन्त्रणका लागि आफ्नो सरकारले गरेको प्रयासको सकारात्मक परिणाम देखिन थालेको पनि उनले चर्चा गरे ।
उत्तर प्रदेश जस्ता राज्यमा अपराध नियन्त्रण गर्न कठोर कानुन आवश्यक भएको आफूले महसुस गरेको उनको कथन छ । राज्य सरकारले प्रदेशका जनतालाई सुरक्षा दिन पूर्ण प्रतिबद्ध भएको र त्यसका लागि उक्त विधेयक ल्याएको उनले जानकारी दिए । उत्तर प्रदेश भारतको निकै ठूलो राज्य भएको र विभिन्न राज्य र छिमेकी नेपालसँग पनि सिमाना जोडिएको उनले चर्चा गरे ।
यस्तो अवस्थामा संगठित अपराध हुने सम्भावना हुने भएकाले त्यस्ता अपराधमा संलग्नलाई कठोर दण्ड दिनुपर्ने उनको भनाइ छ ।
उत्तर प्रदेशमा महिलामाथि हुने दुव्र्यवहार रोक्न उनले एन्टी रोमियो स्क्वाड सञ्चालनमा ल्याएका थिए । त्यसको सकारात्मक प्रभाव परेको उनले स्पष्ट पारे । उनले ‘यूपीकोका’ का दुरुपयोग कसैले गर्न नसक्ने पनि बताए । प्रतिपक्षी नेता रामगोविन्द चौधरी (समाजवादी पार्टी), लालजी वर्मा (बहुजन (समाजवादी पार्टी) र अजयकुमार लल्लू (कांग्रेस)ले भने विधेयकको विरोध गरेका छन् ।