हरिण शिकार गरेको मुद्दामा बलिउडका सूपरस्टार सलमान खान दोषी ठहर
एजेन्सी : बलिउडका सूपरस्टार सलमान खान २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर भएका छन् । भारतीय अदालतले सूपरस्टार सलमानलाई हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर गरेको हो ।
सन १९९८ मा भारतको जोधपुरको ग्रामिण क्षेत्रमा कालो हरिणको शिकार गरेको अभियोगमा सलमानसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको थियो । सोही मुद्दाका अन्य आरोपी फिल्म अभिनेता सैफ अलि खाँन, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीमललाई भने अदालतले सफाई दिएको छ ।
सूपरस्टार सलमानसहित पाँचै जना ‘हम साथ साथ है’ भन्ने हिन्दी फिल्मको सूटिङको लागि जोधपुर गएका थिए । प्रहरीले त्यस बेला सलमानलाई राइफल र रिभल्भरसहित समातेर पाँच दिन थुनामा राखेको थियो ।
दोषी ठहर भएका सलमान खानलाई भारतको वन्यजीव कानुन अनुसार ६ वर्षसम्मको सजाय हुन सक्नेछ । सलमानका वकिल हस्तीमल सारस्वतले सलमानलाई झुटो मुद्दामा फसाएको दाबी गरेका छन् । वकिल हस्तीमलले सलमान निर्दोष रहेको भन्दै तीन वर्ष भन्दा कम सजायको माग गरिरहेका छन् ।