पशुपन्छीलाई दिइने आैषधिले मानव स्वास्थ्यमा गम्भीर असर
तुलसीपुर : पशुजन्य उत्पादन बढाउन पशुमा प्रयोग गरिने विभिन्न औषधिको असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ। पशुजन्य उत्पादन बढाउन प्रयोग गरिने विभिन्न एन्टिबायोटिक औषधिले मानव स्वास्थ्य समस्यामा परेको पशु चिकित्सकको भनाइ छ। पशुमा दिइएको औषधिको ५२ प्रतिशतसम्म अवशेष मानिसमा देखिएको एक तथ्यांकले देखाएको छ।
पशुसेवा विभागले गरेको परीक्षणमा सबैभन्दा बढी कुखुरामा प्रयोग हुने औषधिको अवशेष मानिसमा देखिएको छ। दूधजन्य वस्तुमा प्रयोग हुने औषधिको प्रभाव केही कम देखिएको पशु चिकित्सक सुदामा भट्टले जानकारी दिइन्। पशुजन्य उत्पादन दूध र मासुलगायतको उत्पादन वृद्धि गर्न किसानले एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने गरेको र त्यसको असर मानव शरीरमा सहजै पर्ने गरेकाको दाङका पशु चिकित्सकको भनाइ छ। किसानका सचेतताको कमी र आम्दानी बढाउने सोचले जथाभावी औषधि प्रयोग भइरहेको चिकित्सकको भनाइ छ।
पशुमा प्रयोग हुने औषधिको असर मानिसले प्रयोग गर्दासम्म रहिरहने भएकाले त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको भट्टले बताइन्। यो समस्या जिल्लामा बढदै गएकाले किसान यसबारे सजक हुनु आवश्यक भएको उनको भनाइ छ। भट्टले विभिन्न देशबाट औषधि आउने र औषधिमा उल्लेख भएका भाषा नबुझिने हुनाले कतिपय क्षेत्रमा जथाभावी प्रयोग भइरहेको र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। हिमाल पहाडभन्दा तराई क्षेत्रमा यस्ता औषधि बढी प्रयोग हुने गरेको पाइएको छ। समय समयमा सरोकारवालाले यसबारे सर्वेक्षण तथा अनुगमन गरेमा समस्या न्यूनीकरण हुने भट्टले बताइन्।
हिमाल पहाडभन्दा तराई क्षेत्रमा यस्ता औषधि बढी प्रयोग हुने गरेको पाइएको छ।
पशुपन्क्षीबाट मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिन पाइने हुनाले माछा, मासु, दूध आदि स्वस्थ हुनुपर्ने पशु स्वास्थ्यकर्मी सुवास आचार्यले बताए। पशु चिकित्सक आचार्यले जथाभावी औषधि प्रयोग गरी माछा मासु तथा दूध बढी उत्पादन गर्ने उद्देश्य नराख्न किसान तथा व्यावसायीलाई उनको आग्रह पनि छ। ‘अस्वस्थ मासु र दूधले मानव स्वास्थमा नकारात्मक असर पार्छ’, आचार्यले भने, ‘पशुपन्छीमा लाग्ने परजीवी नास गर्न औषधिको प्रयोग गर्नुअघि पशुचिकित्सकसँग परामर्श लिनु आवश्यक छ।’ यसबारे सचेत बनाउन जिल्लाको तुलसीपुर क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
औषधिको मात्रा कति खुवाउने वा लगाउने, कसरी प्रयोग गर्ने र औषधि प्रयोग गरेको समयमा मासु तथा दूध बिक्री वितरण कसरी गर्ने भन्नेबारे धेरैमा जानकारी नभएको मासु व्यावसायी निमबहादुर डाँगीले बताए। मानव स्वास्थमा असर पर्नेबारे किसानलाई जानकारी दिने व्यवस्था मिलाइए व्यावसायी र कृषकलाई सहज हुने उनको भनाइ छ। दूध दिने गाई तथा भैंसी बिरामी हुँदा आफूखुसी औषधि प्रयोग गर्ने गरेको दूध उत्पादक किसान वेदप्रसाद बस्यालले बताए। दूध दिने गाई भैंसीलाई खुवाएको औषधिको असर दूध पिउने मानिसको स्वास्थ्यमा पनि पर्ने कुरा पशुपालक किसानलाई जानकारी नहुँदा यो समस्या आएको बस्यालले बताए।