कर्णालीमा बढे मुटुरोगी
जुम्ला : कर्णालीमा मुटु रोगीहरूको संख्या बढ्दै गएको पाइएको छ। अस्वस्थ खानपान धूमपान तथा मद्यपानको बढी प्रयोग, धूवाँधूलो र श्वासप्रश्वास मुटु रोगका प्रमुख कारण भए पनि कर्णालीमा मुटु रोगको मुख्य कारण धूमपान सेवन रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो पटक जिल्लामै सञ्चालन गरेको निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा सेवा दिन जुम्ला आएका डा. कोइरालाले यस्तो बताएका हुन्। ‘दुई दिन मात्र सञ्चालित शिविरमा कर्णालीका एक हजार पाँच सयभन्दा बढी मुटुरोगका बिरामीले निःशुल्क उपचार सेवा लिएका छन्। त्यसमध्ये अधिकांशलाई अत्यधिक धूमपानले मुटुरोगको समस्या देखिएको उनको भनाइ छ। ‘कर्णालीवासीमा फोक्सोसम्बन्धी समस्या छ’, कोइरालाले भने, ‘यही तथ्यांकलाई आधार मान्दा धूमपान सेवनकै कारण कर्णालीमा मुटु रोगी बढ्दै गएको स्पष्ट हुन्छ।’
डा. कोइराला नेतृत्वको १७ जना विशषेज्ञ डाक्टरको टोलीले शिविरमा सहभागी एक हजार पाँच सयभन्दा बढी बिरामीको जाँच गरेको हो। शिविरमा जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जसम्मका बिरामीले निःशुल्क सेवा लिएका थिए। शिविरमा बिरामीले मुटु जाँचका साथै आवश्यक औषधि पनि निःशुल्क पाएका छन्। उनीहरूलाई मुटुरोगबाट बच्न डाक्टरले उचित परामर्शसमेत दिएका छन्।
डा. भगवान कोइराला नेतृत्वको १७ जना विशषेज्ञ डाक्टरको टोलीले शिविरमा स्वास्थ्य सेवा दिएका हुन्।
यसअघि मुटुका रोगीहरू उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो। तर जुम्लामा प्रतिष्ठानले विशेषज्ञ टोली ल्याएर सेवा प्रवाह गरेपछि केही समस्या कम हुने अनुमान छ। शिविरमा उपचारका क्रममा सामान्य बिरामीलाई परामर्शसहित औषधि दिइएको थियो। मुटुमा प्वाल भएका तथा अपरेसन गर्नुपर्ने बिरामीलाई काठमाडौँस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको छ। त्यहाँ एक लाख रुपैयाँबराबरको उपचार निःशुल्क गरिने जानकारी दिइएको छ।
कर्णालीमा अहिलेसम्म मुटु रोग विशषज्ञ सेवा सञ्चालन नभएका कारण शिविर आयोजना गरिएको प्रतिष्ठानका डिन प्राडा. मोदनाथ मरहठ्ठाले बताए। प्रतिष्ठानले मानिसलाई धूवाँधूलोबाट सुरक्षित रहन, धूमपान तथा मद्यपानलगायत विषयमा चेतना फैलाउने उनको भनाइ छ।